detail-img

सरकारलाई प्रभावकारी कामका साथ सफल बनाउन सबै लाग्नुपर्छः महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान सरकारलाई प्रभावकारी कामका साथ सफल बनाउन लाग्नुपर्ने बताउनुभएको छ । 
नेकपा (एमाले) जनसंगठन समन्वय संयन्त्रको बैठकलाई सोमबार पार्टी केन्द्रीय कार्यालय, च्यासलमा सम्बोधन गर्दै महासचिव पोखरेलले देशको विकास र जनतामा देखिएको निराशालाई आशामा बदल्नका लागि नयाँ सत्ता सहकार्यलाई बलियो बनाउनुपर्ने विचार व्यक्त गर्नुभयो । 
नयाँ सत्ता साझेदारीसँगै देशलाई नयाँ गति दिनुपर्छ भन्ने नीतिका साथ सबैलाई विश्वासमा लिएर अगाडि बढ्न चाहेको बताउँदै महासचिव पोखरेलले जनसंगठनहरूले सरकारलाई जनतासँग जोड्ने काममा योजनाबद्ध रुपमा काम गर्नुपर्ने बताउनुभयो । 
उहाँले सरकारलाई राष्ट्रिय हित, विकास, सुशासन र सामाजिक न्यायका पक्षमा प्रभावकारी बनाउने ढङ्गले लाग्नुपर्ने बताउनुभयो ।


महासचिव पोखरेलले वर्तमान सत्ता समीकरण सत्ता गठबन्धन  नभई दलहरूबीचको सहकार्य भएको स्पष्ट गर्नुभयो ।  
देश परिवर्तनका लागि काम गर्न चाहने पाँच राजनीतिक दलका बिच सत्ता साझेदारीको सहयात्रा भएको स्पष्ट गर्दै उहाँले भन्नुभयो– हामीले यसलाई गठबन्धन भन्दा पनि नयाँ सत्ता समीकरण भनेका छौँ । 
देश र जनताको लागि असफल भइसकेको गठबन्धन सरकालाई परिवर्तन गर्नुपर्छ भन्ने मान्यताका साथ नेकपा (एमाले)ले सरकार परिवर्तनको प्रयास गरेको महासचिव पोखरेलले बताउनुभयो । प्रधानमन्त्री स्वयं पनि पुरानै गठबन्धनबाट देशलाई अघि बढाउन सकिँदैन भन्ने निष्कर्षमा पुगेका  कारण नयाँ सत्ता समीकरणको वातावरण बनेको उहाँले स्पष्ट गर्नुभयो । 
कतिपयले यसलाई सत्ता गठबन्धन भने पनि मूलतः देशका पक्षमा, जनतामा बढ्दै गएको निराशालाई आशामा परिणत गर्ने मान्यताको पक्षमा रहेका राजनीतिक दलका बिच सहकार्य मात्र भएको महासचिव पोखरेलले बताउनुभयो । 
नेकपा (एमाले)ले लामो समय चौतर्फी घेराबन्दी र आक्रमण सहनुपरे पनि त्यसलाई सफलतापूर्वक सामना गरेको स्मरण गर्दै महासचिव पोखरेलले यति बेला नेकपा (एमाले) नयाँ परिस्थितिबाट अघि बढेको बताउनुभयो । 
घेराबन्दीलाई तोड्न सक्दा पार्टीको मिसनलाई सफल बनाउन सकिन्छ भन्ने निष्कर्षमा नेकपा (एमाले) पुगेको उहाँले  बताउनुभयो । 
पार्टीका स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालको अध्यक्षतामा भएको बैठकमा जनसंगठनहरूको बार्षिक कार्ययोजना कार्यान्वयन कस्तो रह्यो, त्यसको समीक्षा गर्नुका साथै आगामी बार्षिक कार्ययोजना निर्माणका काम, जनसंगठनहरूलाई प्रदेश, जिल्ला र पालिका तहमा र नयाँ पङ्तीमा पुर्याउने विषयमा के कति प्रगति भइरहेको छ भन्ने विषयमा समीक्षा गरिएको थियो । 
बैठकमा संयन्त्रका संयोजक ढकालले जनसंगठनहरूलाई नयाँ पङ्तीमा विस्तार गर्नुपर्ने कामलाई महत्वका साथ सम्पादन गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो । पार्टीका केन्द्रीय सदस्य रचना खड्काले बैठक सञ्चालन गर्नुभएको थियो । बैठकमा पार्टीका सबै जनसंगठनका इञ्चार्ज तथा अध्यक्षहरूको सहभागिता रहेको थियो ।