detail-img

सल्यान जिल्ला कमिटीको अधिवेशन चैत्र १८ गतेदेखि  

सल्यान । नेकपा (एमाले) सल्यानको दशौं जिल्ला अधिवेशन यहि चैत्र १८, १९ र २० गते हुने भएको छ । 
जिल्ला कमिटीको आज बसेको बैठकले अधिवेशनको मिति तय गर्दै प्रतिनिधि छनौटका लागि आवश्यक निर्णय गरेको छ । 
दशौं जिल्ला अधिवेशनमा करिव ३६५ जना प्रतिनिधि सहभागी हुने सल्यान जिल्ला कमिटीका सचिव ओजबहादुर बुढाथोकीले जानकारी दिनुभयो । 
जिल्ला कमिटीका अध्यक्ष गोविन्द कुमार पुनको अध्यक्षतामा बसेको बैठकले जिल्ला अधिवेशन कार्यविधि, २०८० बमोजिम प्रतिनिधि सङ्ख्याको टुङ्गो लगाएको हो । प्रतिनिधि छनौटको निर्वाचन क्षेत्र भुगोलमा वडालाई र समावेशी प्रतिनिधिका लागि पालिकालाई बनाइएको सचिव बुढाथोकीले बताउनुभयो । उहाँका अनुसार खुलातर्फ २० जना संगठित सदस्य बराबर एक जना र दलिततर्फ १५ जना सदस्य बराबर एक जना प्रतिनिधि छनौट भएर आउनेछन् । जसमा कम्तीमा ३३ प्रतिशत महिला अनिवार्य गरिएको छ । 
अधिवेशन सम्पन्न गर्नका लागि बैठकले विभिन्न उपसमितिहरू गठन गरेको छ । अध्यक्ष पुनको संयोजकत्वमा प्रतिवेदन लेखन उपसमिति, उपाध्यक्ष भिमबहादुर सेनको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन उपसमिति गठन गरिएको छ । यस्तै सचिव बुढाथोकीको संयोजकत्वमा प्रचार प्रसार उपसमिति, उप सचिव दान बहादुर केसीको संयोजकत्वमा आर्थिक तथा आवास व्यवस्थापन उपसमिति र अर्का उपसचिव पुष्पा वोहराको संयोजकत्वमा अतिथि सत्कार उपसमिति गठन गरिएको छ । 
बैठकमा पार्टीका पोलिटव्यूरो सदस्य तथा जिल्ला इन्चार्ज भैरव सुन्दर श्रेष्ठले पार्टीलाई बलियोे राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्नका लागि सङ्गठनात्मक जीवनलाई एकताबद्ध, सुव्यवस्थित र गतिशील बनाउनुपर्नेमा जोड दिनुभयो । यस्तै पार्टीका कर्णाली प्रदेश कमिटीका अध्यक्ष गुलावजंग शाहले जिल्ला पार्टी संगठनलाई एकताबद्ध तरिकाले व्यवस्थित रूपमा अघि बढाउन सहमतिको इमान्दार प्रयास गर्नुपर्ने बताउनुभयो । 
बैठकमा पालिका कमिटीका अध्यक्षहरूले हालसम्मको अवस्थाका बारेमा रिपोर्टिङ गरेका थिए ।