detail-img

समाजवादको आधार तयार गर्न जनवादी कार्यक्रम लागू गर्नुपर्नेः उपाध्यक्ष ज्ञवाली

रामेछाप । नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले  मुलुकमा समाजवादको आधार तयार गर्न जनवादी कार्यक्रम लागू गर्नुपर्ने र त्यसका लागि पार्टी सरकारमा हुनुपर्ने बताउनुभएको छ । 
नेकपा (एमाले) रामेछापद्वारा आयोजित वडातहसम्मका अध्यक्ष र सचिवहरूको कार्यशालालाई मंगलबार मन्थलीमा सम्बोधन गर्दै उपाध्यक्ष ज्ञवालीले एमालेलाई रोक्न देशी विदेशी शक्ति लागिरहेको अवस्थामा नयाँ सत्ता समीकरण बनेको  बताउनुभयो ।


उहाँले वर्तमान सत्ता समीकरण नेकपा (एमाले)को अग्रसरतामा भएको र यससँगै पार्टी प्रतिकूलताको लडाइँबाट केही बाहिर निस्किएको धारणा राख्नुभयो । कांग्रेससँग काम गर्न सकिएन भन्ने निष्कर्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँको पार्टी माओवादी केन्द्र पनि पुगेको कारण अहिलेको सत्ता समीकरण सम्भव भएको उहाँले स्पष्ट गर्नुभयो । 
उपाध्यक्ष ज्ञवालीले अहिलेको समीकरण कम्युनिष्ट पार्टी र देशको लागि अनुकूल भएको बताउनुभयो । 
सत्ता समीकरण भए पनि नेकपा (एमाले)को  माओवादी केन्द्र वा एकीकृत समाजवादीसँग तत्काल पार्टी एकता भने नहुने उहाँले स्पष्ट गर्नुभयो । उपाध्यक्ष ज्ञवालीले विगतमा हतारमा पार्टी एकता गर्दा समस्या आएको बताउँदै फेरि पनि हतारमा पार्टी एकता गरेर पछुताउने पक्षामा एमाले नरहेको बताउनुभयो । 
कम्युनिष्टलाई आपसमा लडाएर शासन गर्ने कांग्रेसको योजनालाई तत्कालको लागि असफल गराइएको बताउँदै उपाध्यक्ष ज्ञवालीले लक्ष, उद्देश्य र सिद्धान्त एउटै भएका कम्युनिष्टहरू अलग अलग भएर लड्दा प्रतिक्रियावादीलाई नै लाभ हुने औँल्याउनुभयो । 
नेपालमा जनवादी क्रान्ति शान्तिपूर्ण जनआन्दोलनबाट सफल भएको तर आर्थिक तथा सामाजिक रूपमा क्रान्ति गर्न बाँकी रहेको उहाँले बताउनुभयो । 
उपाध्यक्ष ज्ञवालीले नेकपा (एमाले)लाई आगामी निर्वाचनमा बहुमत ल्याउन सक्ने पार्टी बनाउनुपर्नेमा जोड दिनुभयो । 
कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष आनन्द श्रेष्ठले पार्टीका सबै तहको बुझाइमा एकरूपताका लागि कार्यशाला आयोजना गरिएको बताउनुभयो । पार्टी काममा धेरै समस्या र चुनौती रहेका बताउँदै उहाँले ती सबै अलमल हटाएर अघि बढ्न कार्यशालाले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । 
कार्यक्रममा जिल्ला कमिटी सचिव पुरुषोत्तम कँडरियाले अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो । अवधारणा पत्र माथि समूह छलफल गरी आवश्यक सुझाव समेत दिइएको थियो । 
कार्यक्रममा नेकपा (एमाले) केन्द्रीय कमिटीका सदस्य एवं रामेछाप जिल्ला इञ्चार्ज गणेश पहाडी, केन्द्रीय सदस्य गीता कार्की, वाग्मती प्रदेश लेखा आयोग अध्यक्ष श्यामकृष्ण श्रेष्ठ लगायत प्रदेश कमिटी सदस्यहरू, जिल्ला कमिटीका नेताहरू, पालिका कमिटी तथा वडा कमिटीका अध्यक्ष र सचिवहरू, जनसंगठनका अध्यक्ष एवं सचिवहरूको सहभागिता रहेको थियो ।