मदन भण्डारीः जनताको बहुदलीय जनवादका प्रणेता

जन्मः २००९ असार १४
मृत्युः २०५० जेठ ३

जननेता मदन भण्डारी नेपालको कम्युनिस्ट आन्दोलन र राष्ट्रिय राजनीतिमा एक अद्वितीय नेताका रुपमा स्थापित हुनुहुन्छ । सुदूर पूर्व ताप्लेजुङको साधारण परिवारमा जन्मेर गाउँमै शिक्षा हासिल गर्दै आरम्भ भएको उहाँको जीवनका पानाहरु पल्टाउँदा अवरोह कहिल्यै भेटिन्नन्, आरोह नै आरोहको वृत्तान्त पाइन्छ । साथीसंगीहरुबीच घुलमिल हुन मन पराउने एउटा फरक किशोरदेखि अध्ययनमा अब्बल रहने मेधावी विद्यार्थीका रुपमा अघि बढेको मदन भण्डारीको जीवन एक विशिष्ट राजनेताका रुपमा स्थापित छ ।

राष्ट्रिय राजनीति र विशेषगरी कम्युनिस्ट आन्दोलनमा मदन भण्डारी अनवरत रुपमा चर्चा, सम्झना र मार्गदर्शनको एक चुनौतीविहीन पात्रका रुपमा रहिरहनुभएको छ । विश्वमा कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको र स्वयम् नेपालमा पनि शुद्धतावादी देखिने नाममा एउटा कम्युनिस्ट पार्टीले अर्को कम्युनिस्ट पार्टीमाथि अनेक आरोप लगाएर वस्तुतः आफैँ कमजोर बनिरहेको अवस्थामा हिम्मतका साथ प्रतिस्पर्धा र पहलकदमीमा आधारित राजनीति अंगीकार गर्दै जनताको बहुदलीय जनवाद अघि सारेर मदन भण्डारीले गरेको दिशानिर्देशकै कारण आज उहाँ भौतिक रुपमा हाम्रा सामु नभए पनि राजनीतिक र वैचारिक रुपमा झन्–झन् सान्दर्भिक हुँदै जानुभएको छ । सुरु–सुरुमा जनताको बहुदलीय जनवादलाई ‘संशोधनवादी’ वा ‘दक्षिणपन्थी’ देखेर दृष्टिभ्रम राख्नेहरु पनि कालान्तरमा घुमीफिरी जनताको बहुदलीय जनवादकै राजनीतिक र बैचारिक आलोकमा खडा हुन आइपुग्नुले मदन भण्डारीको सान्दर्भिकता हिजोभन्दा आज विल्कुल नघटेको मात्र होइन, बढेको छ ।

मदन भण्डारीले अघि सारेका विचारहरु पुस्तकाकारमा उपलब्ध छन् । फुटकर रुपमा छरिएका, प्रकाशित र अप्रकाशित सामग्रीहरु ‘मदन भण्डारीका संकलित रचना’ का रुपमा सात भागमा प्रकाशित छन् । मदन भण्डारीमाथि शोधहरु भएका छन्, पुस्तकहरु छापिएका छन् ।

नेताको महत्व कति बाँच्यो भनेर उमेरको लम्बाइमा होइन, सान्दर्भिकताको आयतनमा नापिन्छ भन्ने उदाहरण जननेता मदन भण्डारी हुनुहुन्छ । उमेरका हिसावले उहाँले पुगनपुग ४१ बर्ष (२००९ असार १४–२०५० जेठ ३) मात्र बाँच्न पाउनुभयो भने सार्वजनिक जीवन साढे तीन बर्षभन्दा बढी रहेन । मदन भण्डारी ०४६ भदौमा सम्पन्न नेकपा (माले) को चौथो महाधिवेशनबाट महासचिव भएर ०५० जेठ ३ सम्म पौने चार बर्ष मात्रै प्रमुख नेताका रुपमा नेतृत्वमा रहनुभयो भयो । सांसदका रुपमा दुई बर्ष मात्रै (२०४८–०५०) प्रतिनिधिसभामा क्रियाशील रहन पाउनुभयो । यस अत्यन्त छोटो अवधिमा मदन भण्डारीले निर्माण गरेको छवि र उचाइँ नेपालको राजनीतिमा कसैले चुनौती दिन नसक्ने गरी स्थापित छ ।

निरन्तर भूमिगत राजनीति गर्नुभएका मदन भण्डारी बहुदलीय व्यवस्थाको स्थापनापछि तत्कालीन नेकपा (माले) को प्रवक्ताका रुपमा २०४७ कात्तिक महिनामा काठमाडौँको शहिदमञ्चबाट सार्वजनिक हुनुभएको थियो । मदन भण्डारीको पहिलो भाषण नै देशव्यापी चर्चा र प्रशंसाको विषय बन्यो र घरघरमा उहाँको भाषणका क्यासेटहरु बज्न थालेसँगै उहाँको व्यक्तित्व र पार्टी दुबै लोकप्रिय हुन थाले ।

जनआन्दोलनले तय गरेको थान्कोमा नबसेर राजाले राजनीति गर्न थालेपछि मदन भण्डारीले राजनीति गर्ने हो भने श्रीपेच फुकालेर चुनावी प्रतिस्पर्धामा आउन दिएको चुनौती चानचुने थिएन । ०४८ सालको आमनिर्वाचनमा नेपाली काङ्ग्रेसका सभापति तथा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई हराएर चुनाव जितेपछि उहाँको लोकप्रियता असीमित रुपमै बढ्न पुगेको थियो ।

बहुदलीय व्यवस्थाको स्थापनापछि पार्टी खुल्ला भइसकेपछि तत्कालीन नेकपा (माले) का महासचिवको हैसियतमा मदन भण्डारीले कम्युनिस्ट आन्दोलनको एकीकरणलाई महत्वका साथ अगाडि बढाउनु भयो । फलस्वरुप मदन भण्डारीको नेतृत्वमा रहेको नेकपा (माले) र मनमोहन अधिकारी र सहाना प्रधानको नेतृत्वमा रहेको नेकपा (माक्र्सवादी) बीच एकीकरण भई नेकपा (एमाले) गठन भयो । त्यसयता नेकपा (एमाले) नेपाली कम्युनिस्ट आन्दोलनको मूलप्रवाहको रुपमा लोकप्रिय रहँदै आएको छ ।

मदन भण्डारी टनकपुरको राष्ट्रघाती सन्धिका विरुद्ध राष्ट्रियताको लडाइँमा अग्रमोर्चामा उभिनुभएकाले सबैको साझा नेताका रुपमा स्थापित हुनुभएको थियो । अमेरिकाबाट प्रकाशित ‘न्युजविक’ जस्तो कम्युनिस्टविरोधी पत्रिकाले समेत ‘इन नेपाल, कार्ल माक्र्स लिभ्स्’ भनेर मदन भण्डारीको अन्तर्वार्ता प्रकाशित गर्नु चानचुने कुरा थिएन ।

जननेता मदन भण्डारीको प्रभाव र लोकप्रियताका विविध कारणहरु रहे पनि प्रमुख र महत्वपूर्ण कारण चाहिँ विचार नै हो । राजनीतिमा विचारलाई स्थापित गर्ने वा विचारअनुसार राजनीतिलाई डो¥याउने वैचारिक क्षमताकै कारण उहाँ नेपाली राजनीतिमा एक अद्वितीय नेताका रुपमा रहनुभएको छ ।

सैद्धान्तिक क्षमता र राजनीतिक नेतृत्वका दृष्टिले मदन भण्डारी प्रतिस्पर्धाविहीन व्यक्तित्वका रुपमा स्वीकार्य भएको उहाँका जीवनका घटनाक्रमहरुले स्पष्ट पार्दछन् । २०४६ सालमा आयोजित नेकपा (माले) को चौथो राष्ट्रिय महाधिवेशनबाट मदन भण्डारी पार्टीका पुराना र संस्थापक नेताहरुका बीचमा सर्वसम्मत महासचिव बन्नुभएको थियो ।

संयुक्त वाममोर्चाको निर्माण, ऐतिहासिक जनआन्दोलनका लागि वातावरणको निर्माण, जनआन्दोलनको तयारी, जनआन्दोलनको सञ्चालन, अन्तरिम सरकारको गठन, नेपाल अधिराज्यको संविधान–२०४७ को निर्माण, भूमिगत पार्टीलाई खुल्ला गर्ने, नेपालको छिन्नभिन्न कम्युनिस्ट आन्दोलनलाई एकीकृत बनाउने, प्रगतिशील सरकार बनाउने उद्देश्यले निर्वाचनमा जाने, संसदमार्फत पार्टीका नीति तथा विचारहरु प्रवाहित गर्ने, स्थानीय स्वायत्त शासन र विकेन्द्रीकरणजस्ता विषयहरुमा मदन भण्डारीको छोटो नेतृत्व सफल रहेको थियो । हरेक सवालमा आफ्ना विचारहरुलाई स्थापित गर्ने र लागू गर्ने कुरामा उहाँ दृढतापूर्वक लागेकै कारण उहाँका राजनीतिक सोचहरु सफलतामा परिणत हुन प्ुगेका थिए ।

नेपाल अधिराज्यको संविधान–२०४७ जारी भएपछि जननेता भण्डारीले तत्कालीन नेकपा (माले) का तर्फबाट संविधानको आलोचनात्मक समर्थन गर्दै आलोचनाका २७ वटा बुँदाहरु प्रस्तुत गर्दा कतिपयले आलोचना गरेका थिए । तर, समयक्रममा तिनै बुँदाहरु सान्दर्भिक हुनपुगे । २०६२÷६३ को जनआन्दोलनपछि पुनस्थापित संसदले तिनै बुँदामा टेकेर राजालाई एकप्रकारले निलम्बन गर्ने काम ग¥यो र अन्तरिम संबिधान जारी गरियो । संविधानसभाबाट २०७२ सालमा जारी संविधानमा ती बुँदाहरु महसुस गर्न सकिन्छ । जननेता मदन भण्डारीको दूरदर्शिता हाम्रो संविधानमा झल्किन्छ ।

नेपाली कम्युनिस्ट आन्दोलनको दिशा स्पष्ट गर्ने सवालमा मदन भण्डारीको वैचारिक हस्तक्षेपले सार्थक महत्व राख्न पुगेको छ । उहाँको त्यही हस्तक्षेपकै कारण आज जनताको बहुदलीय जनवाद आज माक्र्सवादको नेपाली संस्करण र नेपाली कम्युनिस्ट आन्दोलनको ठोस वैचारिक उपलब्धि बन्न पुगेको छ ।

लोकप्रिय समाचार

नेकपा (एमाले) को मोबाइल एप डाउनलोड गर्नुहोस् ।

cpnuml
सम्पर्क

कुनै प्रश्न वा सुझाव भएमा यहाँबाट पठाउनुहोस् ।

https://github.com/igoshev/laravel-captcha