जन्मः १९८१ असार १५
मृत्युः २०३५ साउन ७
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलाल दूरदर्शिता, त्याग र इमानका प्रतीकका रुपमा नेपालको राजनीतिक अद्वितीय स्थान बनाउन सफल हुनुहुन्छ । सन् १९४९ अप्रिल २२ का दिन भारतको कलकत्तास्थित श्यामबजारमा आफ्ना सहकर्मीहरु निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलाश जोशी र मोतीदेवी श्रेष्ठलाई साथमा लिएर कमरेड पुष्पलालले स्थापना गर्नुभएको नेपाल कम्युनिस्ट पार्टीकै निरन्तरताका रुपमा आज नेकपा (एमाले) सशक्त र लोकप्रिय पार्टीका रुपमा देशभर स्थापित भएको छ ।
नेपालमा कम्युनिस्ट विचारधारा भित्र्याउने, त्यसलाई संगठनका माध्यमबाट जनतामा लैजाने र परिवर्तन सम्भव छ भन्दै साहसका साथ शून्यबाट काम सुरु गर्ने नेता भएकै कारण पुष्पलाल आजपर्यन्त हामी सबैका लागि आदर्श र प्रेरणाका स्रोतका रुपमा रहिरहनुभएको छ ।
विक्रम सम्बत् १९८१ साल असार १५ गते रामेछापको भँगेरीमा जन्मेर २०३५ साउन ७ गते भारतको नयाँदिल्लीस्थित गोविन्दबल्लभ पन्त अस्पतालमा निधन हुँदासम्मको ५४ बर्ष लामो यात्रामा पुष्पलालले आफ्नो जीवनकालमा गर्नुभएको कठोर संघर्ष, निष्ठापूर्ण राजनीति र इमानदार प्रयास आजको मजबुत कम्युनिस्ट आन्दोलनको आधारशीलाका रुपमा रहेको छ ।
कम्युनिस्ट पार्टीको संस्थापक महासचिवलाई पहिलो महाधिवेशन गर्न नदिएरै बीचैबाट हटाइँदा, महाधिवेशनबाट निर्वाचित भएकाहरु २०१७ पुस १ गतेको शाही ‘कु’लाई समर्थन गर्दै विचलित हुँदा र आफ्ना कैयौँ सहयोद्धाहरुले सैद्धान्तिक र संगठनात्मक मतभेद देखाउँदै आफूलाई छाडेर अलगिँदा समेत कमरेड पुष्पलाल आफ्नो कामबाट विचलित हुनुभएन । तीन ‘स’ अर्थात् सिद्धान्त, संगठन र संघर्षको नीतिलाई अवलम्बन गर्दै कम्युनिस्ट पार्टीको झण्डालाई माथि उठाउन पुष्पलालले आफ्नो जीवन समर्पित गर्नुभयो । त्यसैको जगमा उभिएर आज नेपालमा कम्युनिष्ट आन्दोलन सशक्त पहिलो राष्ट्रिय शक्ति बन्न सफल भएको छ ।
कम्युनिस्ट घोषणापत्रलाई नेपालीमा अनुवाद गरेर कम्युनिस्ट विचारधारासँग नेपालीहरुको परिचय गराउनुका साथै नेपाल कम्युनिस्ट पार्टी स्थापना गरेर त्यसमा गोलबन्द गर्ने अगुवाका रुपमा पुष्पलालको स्थान इतिहासमा सुरक्षित छ । त्यति मात्र होइन, नेपाली समाजको पारलौकिक, धार्मिक वा रुढीवादी होइन, द्वन्द्वात्मक भौतिकवादी अध्ययन–विश्लेषण गर्ने र यसलाई परिवर्तन गर्ने सन्दर्भमा पुष्पलालका योगदानहरु अविस्मरणीय छन् ।
सांस्कृतिक रुपान्तरणबिना कम्युनिस्ट पार्टीले आमूल परिवर्तन गर्न सक्दैन भन्ने मान्यताका आधारमा कमरेड पुष्पलालले राजनीतिक क्षेत्रका साथै सांस्कृतिक कामलाई पनि उत्तिकै जोड दिएको पाइन्छ । कविवर युद्धप्रसाद मिश्रका साथै मदन भण्डारी, मोदनाथ प्रश्रित, जीवराज आश्रित जस्ता नेताहरु पुष्पलालले निर्माण गर्नुभएको सांस्कृतिक मोर्चासँग आवद्ध हुनुबाट पनि यसको महत्व देखिन्छ ।
एकदलीय, निरंकुश र हुकुमी पञ्चायती व्यवस्थालाई फाल्नका लागि कम्युनिस्ट र कांग्रेसबीच संयुक्त मोर्चा बनाउनुपर्छ भन्दा अनेक आरोप खेप्नुपरे पनि कमरेड पुष्पलाल आफ्नो नीतिलाई कहिल्यै छाड्नुभएन । प्रमुख अन्तरविरोधको सही किटान र त्यसका विरुद्धमा सहायक अन्तरविरोधहरुलाई थाँती राखेर मोर्चा बनाउँदा मात्रै पञ्चायतलाई फाल्न सकिन्छ भन्ने दूरदृष्टिकै आलोकमा २०४६ सालको संयुक्त जनआन्दोलन अघि बढेका कारण बहुलीय प्रजातन्त्र स्थापना सम्भव भएको थियो ।
नेताका रुपमा स्थापित हुन उसले कुनै पद–प्रतिष्ठा पायो वा पाएन भन्ने आधारमा होइन, उसले अघि सारेका नीतिहरुले सफलता पाए वा पाएनन् भन्ने आधारमा तय हुन्छ भन्ने उदाहरण पुष्पलाल हुनुहुन्छ । नेपालबाट सामन्ती राजतन्त्रलाई सधैँका लागि विदा गरेर गणतन्त्र स्थापना गर्ने कमरेड पुष्पलालको अविचलित अडान र प्रतिबद्धता कार्यान्वयन भएको आजको युगमा उहाँको सान्दर्भिकता झन् बढेको छ ।
सही राजनीतिलाई अघि बढाउन सही विचारधारा हुनुपर्छ भन्नेमा दुईमत छैन । त्यसका लागि पर्याप्त मात्रामा अध्ययन, चिन्तन र विश्लेषण आवश्यक पदर्छ । कमरेड पुष्पलाल दर्शन, साहित्य, इतिहास, विदेश सम्बन्ध, संस्कृति जस्ता विषयका गहन अध्येता हुनुहुन्थ्यो भन्ने कुरा उहाँका संकलित रचनाहरु अध्ययन गर्दा थाहा हुन्छ । इतिहासको गहिरो अध्ययन गर्दै नेपालको मौलिकता र विशेषता अनुरुप कम्युनिस्ट पार्टी अघि बढ्नुपर्छ भन्ने कुरामा कमरेड पुष्पलालले राजनीतिक दस्तावेजहरुका साथै आफ्ना रचनाहरुमा पनि महत्वका साथ उल्लेख गर्नुभएको छ । यतिसम्म कि, त्यस कठोर संघर्षकालमा समेत क्रान्तिपछि कम्युनिस्ट पार्टी सत्तामा गएपछि केके काम कसरी गर्नुपर्छ भन्नेसम्मका विषयहरु पुष्पलालले सोचविचारका साथ उठाउनुभएको पाइन्छ ।
कठोर राजनीतिक व्यवस्थाका कारण देशभित्रै बसेर राजनीतिक गर्न असम्भव भएर भारत निर्वासित हुनुपरे पनि त्यसका प्रभावहरु पुष्पलालको जीवन र लेखनमा कहीँकतै परेको भेटिँदैन । ‘लाखौँलाख झुपडीहरुको एकता नै नेपालको राष्ट्रियता हो’ भन्दै आफ्नो देशलाई बलियो बनाउन शासक होइन, जनता सचेत हुनुपर्छ भन्ने मान्यतालाई पुष्पलाले अघि बढाउनुभएको थियो । कम्युनिस्टहरु साँचो अर्थमा नेपालको राष्ट्रियताको पहरेदार हुन् भन्ने कुराको मानक पुष्पलालले नै स्थापना गर्नुभएको थियो । दिल्ली सम्झौताको विरोधदेखि नेपालमाथि हुने हरेक थिचोमिचोको अग्रपंक्तिमा रहेर विरोध गर्ने कामको अगुवाइ पुष्पलालले गर्नुभएको थियो ।
नेपालको कम्युनिस्ट आन्दोलन कमरेड पुष्पलाल जस्ता आदर्श नेताहरुको वैचारिक नेतृत्व, इमान र संघर्षको जगमा उभिएको छ ।