सुशासन, विकास, समृद्धि
र समानताका लागि
५ वर्षे नीति तथा प्राथमिकता
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू !
यहाँहरूको अमूल्य मत, साथ, सहयोग र समर्थनबाट नेकपा (एमाले) ले जनताको त्याग, बलिदान र सङ्घर्षबाट प्राप्त राष्ट्रिय उपलब्धिहरूको रक्षा गर्नेछ । विकास निर्माण र सुशासनका लागि सुरु गरिएका कार्यहरू सम्पन्न गर्नेछ । जनअपेक्षा बमोजिमका नयाँ योजना कार्यान्वयन गर्ने, देशलाई समृद्ध बनाउने र नेपालीलाई सुखी बनाउने छ । यसका लागि नेकपा (एमाले) सँग देशभक्त, लोकतान्त्रिक र विकासको भिजन भएको आत्मविश्वासी नेतृत्व छ ।
एमालेसँग ५ वर्षभित्र सम्पन्न गर्ने, १० वर्षभित्र कार्यान्वयनमा ल्याउने र २० वर्षभित्र देशलाई विकसित बनाउन कार्यान्वयन गरिने नीति, योजना र कार्यक्रम तयारी अवस्थामा छन् । सरकारको नेतृत्वका लागि जनादेश पाउनासाथ यसलाई कार्यान्वयनमा लगिने छ । आगामी ५ वर्षभित्रको कार्यदिशा, नीति र सम्पन्न गर्ने प्रमुख कार्यक्रमहरू उल्लेख गरिएको यो घोषणापत्रका साथ नेकपा (एमाले) अमूल्य मतको अपेक्षासहित यहाँहरूको घर आँगनमा आएको छ ।
१ हाम्रो मूल मन्त्रः बलियो राष्ट्रियता र सुदृढ लोकतन्त्र
२ दिगो आर्थिक विकासः उच्च आर्थिक वृद्धिदर
३ भूमिको वैज्ञानिक व्यवस्थापन : प्रकृति संरक्षण, आधुनिक कृषि र सम्पन्न किसान
४ कृषि भूमिमा पानीः सिँचाइमा लगानी
५ सहकारीबाट व्यवसाय प्रवर्द्धनः नागरिकको आर्थिक उन्नयन
६ औद्योगीकरण मार्फत् अर्थतन्त्रको रूपान्तरण
७ पर्यटन र संस्कृतिः राष्ट्रको समुन्नति
८ वन र वातावरणको संरक्षणः जलवायु अनुकूलन र विपद् व्यवस्थापन
१० विद्युत् तथा ऊर्जा विकासबाट समृद्धि
११ राष्ट्र निर्माणको आधारः गुणस्तरीय शिक्षा र शैक्षिक पूर्वाधार
१३ मर्यादित श्रमः सुरक्षित रोजगारी
१४ जीवनचक्रमा आधारित सामाजिक सुरक्षाः मौलिक हकको रक्षा
१५ शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय
१६ राष्ट्रका लागि युवाः युवाका लागि खेलकुद र स्वयंसेवा
१८ सहरी विकास: एकीकृत वस्ती र सुरक्षित आवास
१९ गतिशील अर्थतन्त्र र सेवाको आधारः यातायात पूर्वाधारको विस्तार
२० स्रोत साधनको परिचालन, योजना कार्यान्वयन र दिगो विकास
२२ सूचना प्रविधि र प्रेस स्वतन्त्रता
२३ सुशासनः हाम्रो उच्च प्राथमिकता
२४ उपभोक्ता हितः आम जनताको हित
२५ सक्षम र सुदृढ सङ्घ, अधिकार सम्पन्न प्रदेश र स्थानीय सरकार
२६ स्वच्छ, सुन्दर र आधुनिक राजधानी
२७ सांस्कृतिक रूपान्तरण, सामाजिक सद्भाव र राष्ट्रिय एकता
२८ सक्षम राज्य, स्वतन्त्र न्यायालय
२९ सुदृढ राष्ट्रिय सुरक्षाः राष्ट्रिय हित र स्वाभिमानको रक्षा
३० स्वतन्त्र र सन्तुलित अन्तर्राष्ट्रिय सम्बन्ध
आदरणीय जनसमुदाय !
आज मुलुकको राजनीति स्पष्टरूपमा दुईवटा ध्रुवमा विभाजित भएको छ । एकातिर नेकपा (एमाले) छ, जसले मुलुकको राष्ट्रिय हित, स्वाभिमान र स्वाधीनताको पक्षपोषण गर्छ । जसले राजनीतिक स्थायित्व, लोकतान्त्रिक पद्धति र जनताको सर्वोच्चताको प्रतिनिधित्व गर्छ । विकास निर्माणलाई तीव्र रूपमा अगाडि बढाउनु, ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्नु एवं समाजवादका आधार निर्माण गर्नुबाहेक यसको अरू कुनै स्वार्थ छैन । तर अर्कातिर देउवा नेतृत्वको दक्षिणपन्थी–यथास्थितिवादी गठबन्धन छ, जो राष्ट्रिय हितप्रति होइन, अरू कसैका लागि ‘कम्फर्टेबल’ बन्न बचनबद्ध छ । जो राजनीतिक अस्थिरता, अराजकता र अदालतसँगको सेटिङमा विश्वास गर्छ । राज्यका महत्त्वपूर्ण संस्थाहरूमाथि प्रहार गर्छ र यसका नेतृत्वकर्ताहरूको ध्येय आफ्नो, आफ्नो गुट र आफ्नो परिवारका सदस्यको स्वार्थपूर्तिबाहेक केही पनि छैन ।
आज देशको समग्र राजनीति यिनै दुई विचार, शक्ति र कार्यदिशाका वरिपरि घुमिरहेको छ । आम मतदाताका काँधमा यी दुईमध्ये देशका लागि अपरिहार्य शक्ति पहिचान गरेर आफ्नो मतको सदुपयोग गर्ने अवस्था आएको छ ।
इतिहासमा पहिलो पल्ट प्रधानन्यायाधीशका विरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएर ६ महिनासम्म थन्क्याएर राख्ने, संसदको कार्यकाल सकिने बेलामा मात्रै कथित छानबिनलाई अगाडि बढाउने र संसदको कार्यकाल सकिए पनि निजलाई अघोषित नजरबन्दमा राखेर स्वतन्त्र न्यायालयको चीरहरण गर्ने कामको अगुवाइ यसैले गऱ्यो । यसैको सूक्ष्म योजनामा नेपाललाई कुनै शक्ति राष्ट्रको अघोषित सैन्य गठबन्धनमा आबद्ध गर्ने र विदेशी सेनाहरूका लागि आधार उपलब्ध गराउने जस्ता नेपालको राष्ट्रिय हित, असंलग्न परराष्ट्र नीति र छिमेकीहरूका आधारभूत हितमाथि आघात पुऱ्याउने खालका असफल प्रयास भए ।
देउबा नेतृत्वको वर्तमान गठवन्धन सरकारले आर्थिक क्षेत्रमा अबलम्बन गरेको बेथिति र अराजकताका कारण अधिकांश आर्थिक परिसूचकहरू निराशाजनक तहमा पुगेका छन् । अर्थतन्त्र अत्यन्त जोखिमपूर्ण अवस्थामा मात्र होइन, सङ्कटको नजिक छ । बाह्य क्षेत्रको व्यापार तथा विदेशी मुद्राको आम्दानी र खर्चबिचकोे असन्तुलन भयावह छ । अहिले मूल्यवृद्धि दर यस दशककै सबैभन्दा उच्च भएको छ । खासगरी उपभोग्य तथा निर्माण सामग्रीको मूल्य अचाक्ली वृद्धि भएको छ । वित्तीय प्रणालीमा ब्याजदर बढेर अघिल्लो वर्षका तुलनामा दोब्बर हुने सङ्केत देखिँदैछ । लगानीकर्ताको मनोबल खस्केर सेयर मूल्य निरन्तर घट्दो छ । सम्पूर्ण पुँजी बजार अस्तव्यस्त छ ।
देशमा अहिले एक किसिमको समानान्तर अर्थव्यवस्था हावी भएको छ । तस्करी, राजस्व छली, हुन्डी लगायत क्रिप्टो मुद्रा, हाइपर फन्ड, र डिजिटल सम्पत्तिका क्षेत्रमा अवैध लगानी भइरहेको छ । सरकार स्वयं अपारदर्शी र अवैध कारोबारीलाई प्रोत्साहन दिने र त्यस्तो हर्कत गर्नेलाई नियन्त्रण गर्ने नियामक निकायलाई उल्टै हतोत्साहित गर्ने काम गरिरहेको छ ।
वित्तीय क्षेत्रमा सङ्कटका सङ्केत देखिन थालेका छन् । बैँकबाट कर्जाका रूपमा बाहिर गएको रकम निक्षेपका रूपमा बैंकमा अहिले फर्कंदैन । घर जग्गा र सेयर बजारको उच्च मूल्यसँगै बैंकिङ् प्रणालीबाट बाहिर गएको रकम बैंकमा फर्कन सकेको छैन । अवैध सम्पत्तिलाई वैध बनाउने सरकारकै कतिपय नीति तथा निर्णयका कारण देश सम्पत्ति शुद्धीकरणको चपेटोमा पर्ने डर छ ।
निजी स्वार्थ र लाभका लागि मुलुकलाई अन्धकारतिर धकेली दलाल पुँजीपति, बिचौलिया, कालोबजारी तथा गठबन्धनका मतियार र आसेपासेलाई पोस्ने काम जारी छ । नेपालको इतिहासमै पहिलो पल्ट बिचौलियाका प्रतिनिधिहरू राखेर बजेटमा करका दरहरू हेरफेर गर्ने जस्ता आपराधिक काम भए । नेपाली काङ्ग्रेसले यस्तो प्रवृत्तिको संरक्षण गऱ्यो । यसरी नीतिगत भ्रष्टाचार तथा आर्थिक अनुशासनहीनता मौलाएको छ । सरकारले निश्चित व्यवसायीको स्वार्थसिद्धि हुने गरी अघिल्लो आर्थिक वर्षको अध्यादेश बजेटको प्रतिस्थापन विधेयक ल्याएको, चालु बजेट व्यवसायीकै एजेन्ट राखेर बनाइएको, करका दरहरू निश्चित व्यवसायीका स्वार्थमा हेरफेर गरिएको, सीमित व्यवसायीको हितमा बजेटमार्फत करका दरहरू हेरफेर गरिएबाट आक्रान्त भएका आम व्यवसायीहरू इतिहासमै पहिलो पटक बजेटको विभेदकारी व्यवस्थाका विरुद्ध कालो ब्यानरसहित सडकमा उत्रनुपर्ने अवस्थासमेत आएको छ । गठबन्धन सरकारका बजेटकै कारण कतिपय उद्योगहरू बन्द हुने स्थितिमा पुगेका छन् । व्यवसायिक क्षेत्रमा दण्डहीनता मौलाएको छ र निजी क्षेत्र सामु सरकारको साख समाप्त भएको छ । यसरी अग्रगमन, सामाजिक तथा आर्थिक रूपान्तरण र राष्ट्रिय पूंजी निर्माणको कार्य अवरुद्ध हुन गएको छ ।
त्याग, बलिदान, समर्पण र सिर्जनशीलताको आधा शताब्दीभन्दा लामो नेकपा (एमाले) को व्यवहारले पुष्टि गरेको छ– नेपाल राष्ट्रको पुनर्निर्माण, स्वतन्त्रता, सार्वभौमिकता, स्वाधीनता, स्वाभिमान र अखण्डताको रक्षा तथा जनताको समृद्धिको नेतृत्व हामीले मात्र गरेका छौँ र गर्न सक्छौँ । यतिबेला नेकपा (एमाले) नेपाली कम्युनिस्ट आन्दोलनको मूल प्रतिनिधि संस्था मात्र हैन प्रमुख राष्ट्रिय शक्तिका रूपमा रहेको छ । एमालेले नै इमानदारी र क्षमतापूर्वक राष्ट्र र जनताको नेतृत्व गर्दै स्वाधीन, समृद्ध, समुन्नत एवं समाजवादउन्मुख नेपाल निर्माणको उद्देश्य पूरा गर्न सक्छ ।
नेकपा (एमाले) ले सरकारको नेतृत्व गर्ने अवसर पाउँदा देश र जनताका लागि गरेको कामहरू बारे चर्चा भइसकेको छ । विगतमा सुुरु गरेको राष्ट्र निर्माणको अभिभारा सम्पन्न गर्दै माथि चर्चा गरिएका नीति, कार्यक्रम र कार्ययोजना कार्यान्वयन मार्फत् समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न नेकपा (एमाले) ले बहुमतको सरकार निर्माण गर्न आवश्यक छ । यसका लागि यस पटक पनि एमालेको पक्षमा मतदानका माध्यमबाट निर्णायक भूमिका खेल्न यहाँहरू समक्ष हार्दिक आह्वान गर्दछौँ ।
देश र जनतालाई माया गर्ने, लोकतन्त्र र शान्तिका पक्षधर तथा मुलुकको समृद्धि र जनताको श्रीवृद्धि चाहने विभिन्न राजनीतिक दलमा छरिएर रहनु भएका नागरिकहरू, दलबाहिर रहनुभएका स्वतन्त्र व्यक्तित्वहरू र आम जनताले पनि नेकपा (एमाले) को नेतृत्वमा समृद्ध राष्ट्र निर्माण गर्ने यस अभियानलाई सघाउनु हुनेछ । त्यसैले, आगामी २०७९ मङ्सिर ४ गते आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेकपा (एमाले) को सूर्य चिह्नमा मतदान गरी हाम्रा उम्मेदवारहरूलाई विजयी बनाउन सम्पूर्ण जनसमुदायमा हामी विनम्र अनुरोध गर्दछौँ ।
धन्यवाद ।