detail-img

‘मुलुक बन्न नसक्नुको प्रमुख कारण राजनीतिक अस्थिरता’ 

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले  मुलुक बन्न नसक्नुको मुख्य कारण अस्थिरता रहेको  वताउनुभएको छ ।  मुलुक   राजनीतिक रूपमा अस्थिरताको दुष्चक्रमा फसेको उहाँको भनाई छ । 
मुलुकलाई विकास र समृद्धितर्फ अगाडि बढाउन राजनीतिक स्थायित्व आवश्यक रहेको र त्यसका लागि बलियो राष्ट्रिय शक्ति चाहिने भएकाले नेकपा (एमाले) ले आफूलाई त्यसतर्फ अगाडि बढाइरहँदा राष्ट्रिय शक्ति बन्न नदिन घेराबन्दी र बाह्य चलखेल भएको महासचिव पोखरेलले वताउनुभयो ।  
खासगरी बहुदलीय व्यवस्थाको स्थापनापछि मुलुकलाई कमजोर बनाउन अस्थिरता सिर्जना गर्ने काममा बाह्य शक्ति लाग्दै आएको र यो पछिल्लाबर्षमा बढेर गएको उहाँको भनाई छ ।  
महासचिव पोखरेलले मुलुकका लागि थोरै र बलिया राजनीतिक दलको आवश्यकता रहे पनि भर्खर सम्पन्न निर्वाचनबाट त्यस विपरीत दलहरूको सङ्ख्या झनै बढेको र यसले मुलुकका लागि समाधान नदिने धारणा राख्नुभयो । 
जति धेरै राजनीतिक दल, त्यति धेरै बाह्य हस्तक्षेप
उहाँले भन्नुभयो– जति धेरै राजनीतिक दल हुन्छन्, त्यति बढी अस्थिरता, बाह्य हस्तक्षेप, राजनीतिक चलखेल हुन्छ । 
नेपालमा बलियो राष्ट्रिय शक्ति बन्न नदिने उद्देश्यका साथ बढेको राजनीतिमा बाह्य शक्तिको चलखेल रोक्ने काममा  अनेरास्ववियुले आफूलाई समर्पित गर्नुपर्ने धारणा महासचिवले राख्नुभयोे । 
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) द्वारा स्ववियु निर्वाचनका  सन्दर्भमा २९७९ माघ २ गते आयोजित प्रशिक्षण कार्यक्रममा महासचिव पोखरेलले अहिले नेपाली राजनीतिमा वैचारिक दिशाहीनता, सामाजिक तथा साँस्कृतिक विश्रृङ्खलता बढेर गएको र खासगरी युवामा देखिएको यस्तो प्रवृत्तिमा सुधार ल्याउने काममा अनेरास्ववियुले भूमिका निर्वाह गर्नुपर्ने वताउनुभयो ।  
विद्यार्थी राजनीतिमा देखापरेका कमीकमजोरी सुधारको आवश्यकता रहेको वताउँदै उहाँले विद्यार्थी नेताहरूलाई इतिहासको विरासतलाई सम्झेर अगाडि बढ्न तथा आफूलाई हेरेर होइन भविष्य हेरेर क्रियाशील हुन निर्देशन दिनुभयो । विगतमा विद्यार्थी आन्दोलनमा लाठी खाने र जेल जाने कुराबाट नेतृत्व निर्माण र विकास हुने गरेको स्मरण गर्दै महासचिव पोखरेलले अब त्यसरी नेतृत्व विकास नहुने वताउनुभयो । उहाँले भन्नुभयो– अबको नेतृत्व विकासमा समाजको रूपान्तरण र विकासको प्रश्न जोडिएको छ, हरेक नेता कार्यकर्ताले कुनै न कुनै विषयमा दक्षता राख्नसक्नुपर्छ, आफूलाई समाज बदल्ने विज्ञका रूपमा विकास गर्नुपर्छ । 
अनेरास्ववियुले विगत पाँचबर्षमा एउटामात्र सडक अभियान सञ्चालन गरेको वताउँदै महासचिव पोखरेलले जनसरोकारका विषयमा अखिल युवा जुर्मुराएर उठ्नुपर्छ भन्नुभयो ।
पार्टीविरूद्धको घेराबन्दी हुँदा प्रतिरक्षामा कति सफलता ? 
महासचिव पोखरेलले भन्नुभयो– पार्टीविरूद्ध चौतर्फी घेराबन्दी र आक्रमण हुँदा जनसंगठनका रूपमा रहेको अनेरास्ववियु प्रतिरक्षामा कति सफल भयो ? कतै यथास्थितिका हिमायति जस्तै समयको प्रवाहमा बग्यौं कि ? महासचिव पोखरेलले पार्टीका सदस्यहरूले आवधिक रूपमा हुने निर्वाचनलाई राजनीतिक सङ्घर्षको केन्द्रीय प्रश्नका रूपमा लिनुपर्ने वताउनुभयो । 
भर्खर सम्पन्न संसदीय निर्वाचनमा पार्टीका संगठन र कार्यकर्तामा विसङ्गति र विचलन देखिएकोतर्फ सङ्केत गर्दै उहाँले भन्नुभयो– जसले राजनीतिक सङ्घर्षको केन्द्रीय प्रश्न के हो भन्ने बुझ्दैन उसले समाजको वर्ग सङ्घर्षलाई सही ढङ्गले नेतृत्व गर्न सक्दैन । पार्टी संगठनमा रहेका कार्यकर्ता ३६४ दिन एमाले हुने र निर्वाचनमा मतदानको दिन विचलित हुने गर्छौं भने त्यस प्रकारको कार्यकर्ता र संगठनले पार्टीको हित गर्दैन । 
महासचिव पोखरेलले अबको पार्टी निर्माणको उद्देश्य निर्वाचनको मोर्चामा पार्टीका पक्षमा पैरवी गर्ने सक्षम नेताकार्यकर्ताको जमातका रूपमा हामीले आफूलाई रुपान्तरित गर्ने हुनेछ  भन्नुभयो । 
राष्ट्रिय पूँजीको विकास आवश्यक
महासचिव पोखरेलले हामी समाजवादतर्फको यात्रामा रहेकाले त्यसका लागि राष्ट्रिय पूँजीको विकास आवश्यक रहेको वताउनुभयो । उहाँले भन्नुभयो– जबसम्म राष्ट्रिय पूँजीको विकास गर्न सक्दैनौं तवसम्म समाजवाद निर्माण सम्भव हुँदैन । 
समाजवादको चाहना राख्नेहरूका लागि उत्पादन शक्तिको तीब्र विकास महत्वपूर्ण प्रश्न हुने वताउँदै महासचिव पोखरेलले उत्पादन शक्तिको महत्वपूर्ण आधार शिक्षा भएकाले हाम्रो शिक्षा, शैक्षिक संस्था सिर्जनशील जनशक्ति उत्पादन गर्ने थलोका रूपमा स्थापित हुनुपर्ने विचार व्यक्त गर्नुभयो । 
उहाँले भन्नुभयो– हाम्रो शिक्षा, हाम्रा विश्वविद्यालय बेरोजगार उत्पादन गर्ने थलो होइन, सिर्जनशील जनशक्ति उत्पादन गर्ने थलो बनाउन स्वतन्त्र विद्यार्थी युुनियनले भूमिका निर्वाह गर्नुपर्छ ।
नेपालमै रोजगारीको अवसर छ
महासचिव पोखरेलले नेपालमा रोजगारीको अवसर छैन भन्ने आम भनाई सत्य नभएको वताउनुभयो । नेपालमा सरकारी सेवामा पर्याप्त जागिरको अवसर नहुनसक्छ तर स्वरोजगारको अवसर कम छ भन्नु पूर्णतः मिथ्या कुरा हो– उहाँले भन्नुभयो । 
नेपाली युवाले मलेसिया र खाडि मुुलुक गएर पठाएको रेमिट्यान्सको ८० प्रतिशत रकम भारतीय श्रमिकले नेपालमा काम गरी भारत लैजाने गरेको वताउँदै भारतीय कामदारलाई नेपाली युवाले कामबाट विस्थापित गर्नसक्दा ८० प्रतिशत रोजगारीको अवसर स्वदेशमै रहेको उहाँको भनाई छ ।  
उहाँले भारत जाने रकम स्वदेशमै रहने अवस्थाले मात्र मुलुकको विकास सम्भव हुने धारणा राख्नुभयो । 
देशको विकास र समृद्धि एमालेबाट मात्र सम्भव 
देशको विकास र समृद्धिका लागि काम गर्ने पार्टी नेकपा (एमाले) मात्रै हो भन्दै महासचिवले भन्नुभयो– देशको अर्थतन्त्र माथि उठाउने सामथ्र्य नेकपा (एमाले) सँग मात्र छ । एमाले सरकारमा रहेको समयमा कुल गार्हस्थ उत्पादन औसत सात प्रतिशतको हाराहारीमा थियो ।  मुलुकमा ठूला आयोजना शुरू गर्ने नेकपा (एमाले) हो । हामीले बबई सिंचाई आयोजना निर्माण गरी सञ्चालनमा ल्यायौं, तराई–मधेशमा सिंचाईका लागि सुनकोशी–मरिण डाइभर्सन आयोजना धमाधम निर्माण भइरहेको छ । सरकार रहिरहेको भए तमोर, माडी डाइभर्सन गर्ने अवस्था रहन्थ्यो । अपर तामाकोशी आफ्नै लगानीमा बनायौं  । एमाले नभएको भए लोडसेडिङ अन्त्य हुँदैनथ्यो । हामीले बनाएको उज्यालो नेपालको योजना आफ्नो कामलाई समाजमा स्थापित गर्न नसक्दा अर्कैले अपहरण गर्यो । सातवटा उत्तरदक्षिण करिडोर राष्ट्रिय गौरवका आयोजनाका रुपमा निर्माण शुरू गर्यौं । पूर्वपश्चिम राजमार्ग चारलेनमा विस्तार भइरहेको छ । हामीले आफूले गरेका काम समाजलाई भन्न सक्नुपर्छ ।
महासचिव पोखरेलले भन्नुभयो– नेपाली काँग्रेसका पालामा नेपालको पानी भारतलाई सुम्पने काम भयो । नेपालको पानी नेपालको कृषिका लागि भन्ने काँग्रेसबाट कहिल्यै सुन्न पाइएन । विदेशीसँग ठाडो शिर गरेर कुरा गर्न समेत नसक्नेले देश हितमा काम गर्न सक्छन् भनेर कसरी कल्पना गर्न सकिन्छ ?