detail-img

‘देश हितलाई शिरमा राखौं, विजय निश्चित छ’

 

आज देश खास परिस्थितिबाट गुज्रिरहेको अवस्थामा यो प्रशिक्षण कार्यक्रमको आयोजना भइराखेको छ । देश खास अवस्थाबाट गुज्रिरहेको छ भन्नुको अर्थ देशमा अत्यन्तै अयोग्य र भ्रष्ट सावित भएको, नातावाद, कृपावादलाई आदर्श बनाएर कुदेको, देशको अर्थतन्त्रलाई बर्बादीतर्फ धकेल्दै लगेको, देशभित्र राजनीतिक सम्बन्धहरूलाई तनावग्रस्त र कटुतापूर्ण बनाउँदै लगेको, समाजलाई तनावतर्फ धकेल्दै लगेको, अन्तर्राष्ट्रिय सम्बन्धलाई असन्तुलित र अनुचित ढङ्गले खल्बल्याएको अवस्था छ । देशको भविष्य नै के होला भन्ने यस्तो गम्भीर अवस्थामा आफ्नो स्वार्थको पछाडि कुद्ने केही व्यक्ति वा जमात बाहेक यदि कसैले अलिकति पनि सोच्यो भने देश वास्तवमा मन थाम्न गाह्रो हुनेगरी बर्बादीतर्फ जाँदैछ । हामी यस्तो अवस्थामा छौं । 
भर्खरै स्थानीय तहको निर्वाचन भएको छ । त्यसको परिणाम आइसकेको छ र त्यसलाई आधार बनाएर भ्रान्त धारणा फैलाउन खोजिएको छ । अर्कातिर मंसीरमा संघीय संसदका लागि र प्रदेशसभाहरूका लागि आम निर्वाचन हुनुपर्ने छ । विभिन्न वहाना बनाएर संविधानमाथि थिचोमिचो गरेर  त्यो निर्वाचन पर सार्ने खतरा छ । 
हामीले स्थानीय तहको निर्वाचन पनि देख्यौं । फागुनमा कानून बमोजिम हुनुपर्ने निर्वाचन भएन र वैशाखको अन्तिममा मात्रै भयो । त्यो पनि नगर्ने र आगामी चैतमा मात्रै गर्ने भनेर गठबन्धनका नेताहरू बोलिरहेका थिए । ती असंवैधानिक सोच र क्रियाकलापका विरुद्ध हामीले गरेको राष्ट्रिय प्रयासले उनीहरूको त्यो दुष्प्रयास सफल भएन र ढिलो गरेर भए पनि वैशाखभित्र निर्वाचन गर्नुपर्यो । निर्वाचनमा मान्छे मारिदिने, काटिदिने, विपक्षी पार्टीका कार्यकर्तालाई कुटिदिने, थुनिदिने, मुद्दा लगाइदिनेदेखि अनेक प्रकारका दुष्कर्म गरियो । गठबन्धनको पक्षमा नलाग्ने वा रिस उठेका मान्छेहरूका विरुद्ध कहिले सम्पत्ति शुद्धीकरणको मुद्दा लगाइदिने, कहिले अरू संस्थाको दुरूपयोग गरेर दुःख दिने काम गरे । राज्यलाई कानूनसम्मत ढङ्गले थितिमा हिंडाउने गहन अभिभारा पूरा गर्नुपर्ने संस्थाहरू नै अपवित्र गठबन्धनका मतियार भएर चल्न बाध्य भए । हामीले यस्ता कुराहरूलाई रोक्नुपर्ने छ । 
राज्यका अङ्गहरूलाई दवाब दिएर जथाभावी दुरूपयोग गर्ने, दवाब अनुसार चलेन भने तिनलाई त्रसित र आतङ्कित पारेर वशीभूूत गर्ने र गलत ढङ्गले प्रयोग गर्ने कुरा उनीहरूले छोडेका छैनन् । अदालतबाट आफ्नो स्वार्थ अनुरूप फैसला गर्न, आफूले टार्न खोजेका मुद्दाहरू टार्न महाअभियोग लगाउने र त्यसलाई अनन्तकालसम्म अड्काएर राख्ने अनैतिक, मर्यादाहीन काम उनीहरूले गरिरहेका छन् । राजनीतिका हरेक विषयमा मुद्दा हाल्ने र झगडिया तरिकाले राजनीति गरेर अहिलेको गठबन्धनले देशलाई नै झगडिया देश बनाइसक्यो । संवैधानिक प्रश्नहरूबारे निर्णय गर्ने मुद्दाबाट, सरकार हटाउने, बनाउने मुद्दाबाट, प्रधानमन्त्री हटाइने, प्रधानमन्त्री छानिने मुद्दाबाट, यावत कुरा मुद्दाबाट  भए । न्यायालय कब्जामा लिने र मुद्दामामिलाबाट राज्यका सम्पूर्ण अङ्गहरू चलाउने गर्दा कस्तो भयो होला देशको हालत ? यस देशमा कानुन बाहेक अरू विषयको पढाई पनि बन्द गरे हुने जस्तो भयो । यस गठबन्धनले देशलाई त्यस अवस्थामा पुर्याउन लागिसक्यो । यी सबै कुराको समाधान समयमा निर्वाचन गराउनु हो । हामीले समयमा निर्वाचन गराउनुपर्दछ । 
समयमा निर्वाचन गराएर त्यस निर्वाचनको परिणामबाट साँचो अर्थमा देशभक्त, राष्ट्रवादी सरकार, देशका निम्ति, लोकतन्त्रका निम्ति काम गर्ने सरकार बनाउनुपर्छ । लोकतन्त्रको रक्षा, सम्वर्द्धन, विकास गर्न र साँचो अर्थमा लोकतान्त्रिक अभ्यासमा मुलुकलाई फर्काउन हामीले आगामी निर्वाचनमा  सार्थक भूमिका खेल्नुपर्छ । लोकतन्त्र आफैंमा अभ्यास मात्रै होइन, लोकतन्त्र गन्तव्य मात्रै पनि होइन । लोकतन्त्र आफैंमा एक खालको गन्तव्य हुनसक्छ, तर त्यो साध्य होइन, साधनको रूपमा लोकतन्त्रलाई देश र जनताको हितमा अधिकतम प्रयोग गर्नुपर्छ । लोकतन्त्रलाई साधन बनाएर राष्ट्रियताको रक्षा, सम्वद्र्धन र विकास, देशको स्वाधीनता र स्वतन्त्रताको रक्षा तथा वास्तविक अर्थमा कार्यन्वयन गर्ने काम हामीले गरेका छौं । लोकतन्त्रको मूल्य–मान्यतासहित संविधानको रक्षा र कार्यान्वयन, राज्यका अङ्गहरूको प्रभावकारिता, स्वच्छता र क्रियाशीलताको बाटो हामीले अवलम्बन गर्यौं । राज्यलाई लोककल्याणको अवधारणामा समाजप्रति उत्तरदायी, सामाजिक सुरक्षाप्रति अत्यन्तै सजग र पछाडि परेको समुदायलाई समान हैसियतमा अगाडि बढाउने प्रभावकारी नीति, कार्यक्रम र अभ्यास हामीले अवलम्बन गर्यौं । यी काम गर्दै समाजमा शान्ति सुव्यवस्था, सामाजिक सद्भाव, सद्भावमा आधारित राष्ट्रिय एकता र एकताबद्ध प्रयासबाट आर्थिक विकास गर्ने बाटोमा हामीले मुलुकलाई अग्रसर गरायौं । आर्थिक विकासमा पनि भौतिक पूर्वाधार र सामाजिक पूर्वाधारको विकासलाई हामीले समान रूपमा जोड दियौं । हाम्रो अर्थतन्त्रका समग्र क्षेत्रहरू कृषि, उद्योग, व्यापार वाणिज्य, पर्यटन, सेवाका क्षेत्रहरू, शिक्षा र स्वास्थ्य तर्फका क्षेत्रहरूको विकासमा  ध्यान दिएर देशको अर्थतन्त्रलाई ओरालो लाग्नबाट रोक्यौं । 
अर्थतन्त्रलाई बिग्रिने र असफल हुने स्थितिबाट रोकेर सकारात्मक दिशातर्फ फर्काउने सोच र चिन्तन भएको सरकार हटाएर श्रीमती अघि सार्ने, साला अघि सार्ने, आफन्त अघि सार्ने र केही पार्टीका नाममा केही व्यक्तिहरूको लुटको राज बनाउने सरकार बनाइयो । अब यस्तो खालको अवस्थाबाट देशलाई मुक्ति दिनु जरूरी छ । देशले समृद्धिको, विकासको, लोकतान्त्रिक अभ्यासको जुन लय समातेको थियो, वैदेशिक नीति, परराष्ट्र मामिला, परराष्ट्र सम्बन्धमा जुन लय समातेको थियो, राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा जुन सफलता हासिल गर्दै अगाडि बढेको थियो, त्यस लयलाई फेरि प्राप्त गर्ने र अगाडि बढाउने बाटोमा लानसक्ने सरकारको गठन आगामी आम निर्वाचनबाट गर्नुपर्नेछ । यस्तो परिस्थितिमा यी गहन र महान् उद्देश्य प्राप्त गर्नेगरी हामी अगाडि बढ्नुपर्ने छ । 
देशमा मंसीरमा चुनाव गराउनु पर्दछ, यो संवैधानिक प्रश्न हो । हामीले यसलाई तलमाथि हुन दिनुहुँदैन । आज दैनन्दिन भ्रष्टाचारका घटनाहरू भइरहेका छन्, बेथिति बढिरहेका छन् । यसका विरुद्ध हामीले सङ्घर्ष गर्नुपर्ने छ । सरकारले जनतालाई पीडा दिइराखेको छ । सरकार दमनकारी ढङ्गले ओर्लिइराखेको छ । त्यसलाई अन्त्य गर्नुपर्नेछ । हामीले यसरी बीचमा यी कामहरू पनि गर्दै जानुपर्ने छ । राष्ट्रियता, लोकतन्त्र, जनजीविका, सामाजिक जागरण र सुव्यवस्थाका प्रश्नहरू, विकासका प्रश्नहरू, सुशासनका प्रश्नहरूलाई र बाह्य सम्बन्धका प्रश्नहरूलाई पनि सन्तुलित र उपयुक्त ढङ्गले अगाडि बढाएर राष्ट्रिय हित सम्वद्र्धन गर्न नेकपा (एमाले) ले मात्र सक्छ । यी सबै काम गर्ने एमालेको सरकारले हो । आगामी निर्वाचनमा एमालेको सरकार गठन गर्न हामीले सक्नुपर्छ । यस्तो अवस्थामा यो प्रशिक्षण कार्यक्रमको आयोजना भएको छ । सातैवटा प्रदेशमा यस प्रकारका कार्यक्रम आयोजना भइराखेका छन् । यहाँ आज राजधानी समेत रहेको बागमती प्रदेशमा यो प्रशिक्षण कार्यक्रम आयोजना भएको छ । 
अरूभन्दा फरक जिम्मेवारी 
गएको स्थानीय निर्वाचनको परिणाम मुलुकका लागि जस्तो हुनुपर्ने थियो, त्यस्तो भएन । कसको कारणले भन्दा हाम्रो आफ्नै कारणले भएन । म कमरेडहरूलाई इमानदार भएर सोच्न आग्रह गर्न चाहन्छु । हामीले कति इमानदारीसाथ, कति आफूलाई काममा केन्द्रित गरेर सोच्यौं र व्यवहार गर्यौं ? हामीले सोच्न जरूरी छ । हामी सामान्य नागरिक मात्रै होइनौं । सामान्य नागरिकका आफ्ना जीविकाका सवालहरू हुन्छन् । आफ्ना जीविकाका सवालमा मानिस सीमित भएको हुनसक्छ, परिवारको सवालमा सीमित भएको हुनसक्छ । आफ्नो पारिवारिक उन्नति प्रगतिमा सीमित भएको हुनसक्छ । तर हामी त्यो भन्दा बढी देशको परिवर्तन र रूपान्तरणप्रति प्रतिबद्ध छौं । ‘समृद्ध नेपाल, सुखी नेपाली’ आफैँ बन्दैन, हामीले बनाउनुपर्छ । त्यस उद्देश्यप्रति हामी समर्पित छौं । त्यसो भएको हुनाले आम मानिसको भन्दा हाम्रो फरक र पृथक जिम्मेवारी छ । त्यो जिम्मेवारी पूरा गर्न हामीसँग त्यो प्रतिवद्धता चाहिन्छ । त्यो जिम्मेवारी पूरा गर्न हामीसँग अनुशासन चाहिन्छ, इमानदारी चाहिन्छ र सङ्कल्प चाहिन्छ । त्यस उद्देश्य प्राप्तिका लागि यो प्रशिक्षण कार्यक्रमको आयोजना भएको छ । 
साधारणतया पार्टी स्कूलले नियमित रूपमा प्रशिक्षण सञ्चालन गर्दछ । पार्टी स्कूल र प्रशिक्षण कार्यक्रमको लामै इतिहास छ । खासगरी अग्रगामी परिवर्तन जसले गर्नुपर्दछ–उसले, जसले विकास गर्नुपर्दछ–उसले, जो नवीनताका साथ अगाडि बढ्नुपर्दछ–उसले, जसले समाजमा परिवर्तन र रूपान्तरण साकार पार्नुछ, समाजलाई अगाडि बढाउनुपर्नेछ–उसले आम जनतालाई सचेत गर्नुपर्नेछ, संगठित गर्नुपर्नेछ । त्यो सचेत र संगठित समुदायलाई जसले विधिसम्मत उपयुक्त ढङ्गले सञ्चालन र परिचालन गर्नुपर्नेछ, उसका निम्ति प्रशिक्षण, तालिम, अभिमुखीकरण जस्ता कुराहरू आवश्यक हुन्छन् । यो तीनवटै कुराको अर्थ फरक छ । शिक्षा, तालिम, प्रशिक्षण, अभिमुखीकरण यी फरक–फरक कुराहरू हुन् । आज हामी अलिकति अभिमुखीकरण, अलिकति तालिम गरिरहेका छौं, यो मिश्रित कार्यक्रम भइराखेको छ । अरू विषयगत प्रस्तुतिहरूमा बुँदागत ढङ्गले प्रशिक्षकहरूले यहाँहरूसमक्ष विषय राख्नुहुने छ ।
म विषयगत ढङ्गले र बुँदागत ढङ्गले यहाँहरूसँग प्रस्तुत हुन लागिराखेको छैन । म अभिमुखीकरणको हिसाबले हामी कहाँनिर छौं र अब कता जाने र के गर्नुपर्दछ भन्नेबारे मात्रै केही कुरा राख्छु । एक ढङ्गले भन्ने हो भने प्रशिक्षण व्यवस्थापनसँग सम्बन्धित कुरा पनि हो । लामो समयदेखि आधुनिक व्यवस्थापनका सम्बन्धमा विचारहरू बनाउने र व्यवस्थापन कसरी गर्ने भन्ने सन्दर्भमा चिन्तन भएका छन् । 
पुँजीवादका व्यवस्थापन सिद्धान्त
मूलरूपमा भन्ने हो भने १८औं शताब्दीमा आधुनिक पुँजीवादका हेडसर, आधुनिक पुँजीवादका मूल पुरोहित एडम स्मिथले १७७६ मा आधुनिक व्यवस्थापनका सम्बन्धमा एउटा पुस्तक लेखे । डिभिजन अफ लेवरदेखि, डिभिजन अफ वर्कदेखि मोडर्न म्यानेजमेन्टका अनेक सिद्धान्तहरू उनले अगाडि सारे । 
त्यसपछि रिचार्ड बाबेज भन्ने अर्का विद्वानले १८३० मा अर्को पुस्तक लेखे । एडम स्मिथले लेखेको ग्रन्थभन्दा अझ बढी व्याख्यात्मक ढङ्गले त्यस पुस्तकलाई एडम स्मिथका कुराहरू समेत समेटेर अझ आधुनिक बनाइएको थियो । त्यो पुस्तक अर्को एउटा कोशेढुङ्गाको रूपमा रहेको छ । त्यसपछि अल्वर्ट भन्ने अर्का विद्वानले अर्काे पुस्तक लेखे । यसरी थुप्रै विद्वानहरूले पुँजीवाद के हो, पुँजीवाद किन आवश्यक छ, पुँजीवाद किन श्रेष्ठ छ, यो किन श्रेष्ठ सिद्धान्त हो भन्ने प्रश्नहरूको व्याख्या गरे । यसलाई नाफाको र उत्प्रेरक सिद्धान्त हो भन्ने व्याख्या उनीहरूले गरे । पुँजीवादको त्यो सिद्धान्तलाई कसरी जीवित राख्न सकिन्छ, कसरी पुँजीवादको सिद्धान्तलाई प्रभावकारी बनाउन सकिन्छ भन्नेमा जोड दिए । पुँजीवादको जन्मसँगै मजदुर वर्ग जन्मियो । त्यो मजदुर वर्गमा असन्तुष्टि जन्मियो । यिनै विद्वानहरूको व्यवस्थापनको सिद्धान्तका आधारमा पुँजीवादले नाफामूलक र बजारमुखी अर्थतन्त्र विकास गर्दै गयो । यिनीहरूले आफ्नो सिद्धान्तमा अर्को कुरा के भने भन्दा शोषण मात्रैलाई ध्यानमा राख्यौं भने यो प्रणाली ध्वस्त हुन्छ । विद्रोहको अगाडि यो टिक्दैन । त्यसकारण शोषण मात्रै होइन, यसको आधुनिक व्याख्या गर, यसलाई फरक ढङ्गले व्यवस्थापन गर र अब मानवतावादी ढङ्गले व्यवस्था गर भन्न थाले । 
मानव एउटा सामाजिक प्राणी हो, त्यसैले उनीहरूले यो सिद्धान्त निकाले । यसलाई त्यही ढङ्गले विचार गर र यसलाई प्रोत्साहित गर भन्न थाले । असाधारण ढङ्गको असह्य जीवनबाट अलिक सह्य र बाँच्न सक्ने खालको जीवन बनाउ भन्न थाले । यस्ता अनेक कुराहरूले मजदुर आन्दोलनहरू र संगठन जन्म भएको सन्दर्भमा पुरानो इतिहास छ । कमसेकम शासक समुदायले दास मालिकहरू होउन् वा सामन्तहरू होउन् वा जो शासनमा छन्, जो सम्पत्तिका मालिक छन्, उनीहरूले शासनको व्यवस्थापन र सम्पत्तिको व्यवस्थान कसरी गर्नुपर्छ भन्ने चिन्तन पनि गरे । सोही अनुकूलका बाटाहरू निकाले, तरिकाहरू निकाले र दास प्रणालीबाट सामन्ती प्रणालीतर्फ विकास गरे । त्यहाँ पनि प्रणालीको कुरा आयो, त्यहाँ पनि व्यवस्थापनको कुरा आयो । त्यो सामन्ती प्रणाली फेरि पुँजीवादी प्रणालीमा विकास भयो । ठूलाहरूका लागि त्यो पुँजीवादी प्रणाली पनि कायम राख्नुपर्यो, उत्पादन पनि बढाउनु पर्यो, उत्पादकत्व पनि बढाउनु पर्यो, असन्तुष्टि पनि घटाउनु पर्यो । मजदुरहरूलाई सकेसम्म कसरी विद्रोहमा जान नदिने, कसरी सन्तुष्ट राख्ने, त्यो काम गर्नुपर्यो । चेन अफ कमाण्डमा राख्ने सबै प्रणालीहरू एडम स्मिथदेखि यता पुँजीवादको व्यवस्थापनको आधुनिक सिद्धान्त आयो । सबैभन्दा पहिले त एडम स्मिथले पुँजीवादको व्याख्या सुरू गरे, त्यस प्रणालीको उत्कृष्टताको वकालत गरे । त्यसैगरी कसरी प्रणाली व्यवस्थापन गर्ने, उद्योगहरू कसरी व्यवस्थापन गर्ने र मालिक र मजदुरहरूको सम्बन्धलाई कसरी व्यवस्थापन गर्ने र असन्तुष्टि विस्फोट हुन नदिने भन्ने विषयमा व्यवस्थापनका सिद्धान्तहरू आए । यी भए पुँजीवादका व्यवस्थापनका सिद्धान्त । यो सँगसँगै मजदुर वर्ग, श्रमिक वर्गले पनि बुझ्दै गयो र जो पीडित वर्ग छ, त्यस पीडित वर्गले पनि बुझ्दै गयो । 
संगठनको विकास  
मैले पहिले–पहिले पनि भन्ने गरेको छु,– इसापूर्व ७० मा स्पार्टाकस विद्रोहमा दमन भएको थियो । इसापूर्व ७० भनेको अहिले भन्दा २०९२ वर्ष अगाडिको समय हो । संगठनको बल, संगठन के हो, संगठन किन आवश्यक छ भन्ने कुरा त्यो स्पार्टाकस विद्रोहले बोध गरायो । शासकहरूले एकजुट भएर, संगठित भएर शासन गरे । दासहरूको ठूलो संख्या छ तर थोरै  मालिकहरूले उनीहरूलाई कजाए । थोरै मालिकहरू दासहरूको शासक कसरी भए भन्दा उनीहरूले संगठन गरे, सेना बनाए । त्यो संगठित शक्ति र सकेसम्म तालिम प्राप्त, सकेसम्म एउटा सैन्य संगठन, चेन अफ कमाण्ड र आदेशमा चल्ने बनाएर उनीहरूले राज्यलाई चलाए । स्पार्टाकसले हामी पनि संगठित भएर गएपछि यत्रो ठूलो सङ्ख्याले किन सक्दैनौं भन्ने बुझे । तर तिनीहरूसँग हतियार थिएन, कमजोर थिए । सङ्ख्या थियो, यिनीहरू लडाकू थिए । केही महिनासम्म ठूलो सङ्घर्ष भयो । त्यसपछि उनीहरूको सङ्घर्ष पराजित भयो । अथवा इतिहासमा स्पार्टाकसले धेरै महत्वपूर्ण, धेरै ठूलो प्रतिरोध सङ्घर्ष संगठित गरेर परिचालन गरेको देखिन्छ । इसापूर्व ७०, अर्थात् अहिलेभन्दा २०९२ वर्ष दमित भएको त्यो आन्दोलनले समानताको हक प्राप्तिका निम्ति उद्देश्यमा संगठित भएको, संगठित र सशक्त जमात आवश्यक छ भन्ने बुझेको देखिन्छ । त्यसले सङ्घर्ष गर्न आवश्यक छ अनि मात्रै उसले केही प्राप्त गर्नसक्छ भन्ने कुरा बुझेको देखिन्छ । तर त्यसलाई दबाइएपछि पुँजीवादी शक्तिहरूले दास विद्रोह हुन नपाओस् भनेर अझ नयाँ नयाँ तरिकाहरू अपनाए । त्यसका निम्ति दासलाई मोहीमा परिणत गर्ने अनेकौं प्रयासहरू गरे । जमिनमा काम लगाउने र  दासलाई मोहीमा परिणत गर्ने उपाय उनीहरूले निकाले । त्यसले श्रमिकलाई जमिनमा काम लगाउने सामन्ती युगको सुरुवात गर्यो ।  त्यसमा पनि उही संगठित शक्तिले असंगठित किसानहरू र रैतीहरूलाई दबाउने काम भयो । त्यसबेला खेतमा काम गर्ने मोहीहरूलाई जागिर भन्ने चलन थियो । जागिर पायो भने खेत पायो भन्ने हुन्थ्यो । जागिर शब्द सायद त्यसै बेलादेखि शुरु भएको होला । यसरी यो अभ्यास हुँदै आयो । 
मैले अघि भनेँ– एकातिर यो सङ्घर्ष र अर्कातिर सङ्घर्षलाई दबाउने इन्डष्ट्रियल म्यानेजमेन्ट र स्टेट म्यानेजमेन्ट । जहाँ पनि व्यवस्थापनको कुरा आउँछ । व्यवस्थापनका लागि जुन ठाउँको व्यवस्थापन गर्ने हो, के चिजको व्यवस्थापन गर्नुछ, त्यस अनुसारको त्यहाँ शिक्षा, तालिम, प्रशिक्षण र अभिमुखीकरण आवश्यक हुन्छ । कहाँ कुन बढी आवश्यक हुन्छ भन्दा सैन्य संगठन छ भने बढी तालिम, शिक्षा आवश्यक हुन्छ । प्राविधिक केही छ भने उसमा शिक्षा र प्रशिक्षणको बढी आवश्यकता हुन्छ र केही तालिमको आवश्यकता हुन्छ । यदि प्रशासन चलाउनुछ भने प्रशासनिक शिक्षा र तालिम आवश्यक हुन्छ । राजनीतिक संस्था छ भने त्यसका उद्देश्य अनुसार नै त्यहाँ शिक्षा र प्रशिक्षण आवश्यक हुन्छ । तालिमभन्दा प्रशिक्षणको आवश्यकता हुन्छ । त्यसकारण हामी अहिले किन तालिम चलाइराखेका छैनौं भने हामीले कुनै सैन्य संगठन बनाइराखेका छैनौं । हामी सैन्य ढङ्गले चलिराखेका छैनौं, पार्टी संगठनलाई सैन्य ढङ्गले चलाइराखेका छैनौं । त्यसकारण हामी अहिले तालिम दिइराखेका छैनौं । तालिम प्राविधिक विषयमा दिइन्छ, सैन्यमा मात्रै होइन । अरू पनि प्राविधिक विषयमा तालिम दिइन्छ र त्यसलाई तालिम कक्षाहरू भनिन्छ । राजनीतिक कक्षा, तालिम कक्षा, अभिमुखीकरण र अरू विभिन्न कक्षाहरू हुने गर्छन् । आज हामीले गर्न खोजेको राजनीतिक प्रशिक्षण हो । 
यसलाई एक ढङ्गले तालिम नै भन्दा हुन्छ, तर राजनीतिक तालिम । यो सैन्य अथवा प्राविधिक तालिम होइन । यो विचारधारात्मक र संस्थागत तालिम हो । प्रणालीगत, विभिन्न स्टेट क्राफ्ट सम्बन्धी, औद्योगिक व्यवस्थापन अथवा कम्पनी व्यवस्थापन र सामाजिक व्यवस्थापन सम्बन्धी विभिन्न प्रकारका व्यवस्थापनका सिद्धान्त आए । व्यवस्थापनका लागि शिक्षा, अभिमुखीकरण आदि चाहियो । त्यसका निम्ति तालिम चाहियो । यी सबै कुराका लागि बेग्ला–बेग्लै विषयका, अनुकूल र उपयुक्त प्रशिक्षणहरू चाहिए ।
मैले पेरिस कम्युनको समयसम्म अथवा १८३० अघिको रिचर्ड बाबेजको कुरा गरेँ, उनको समयसम्ममा पनि मजदुर आन्दोलनका क्रममा आशङ्का र केही छिटपुट असन्तुष्टि देखिएका थिए तर संगठित विद्रोहको रूप लिएको थिएन । १८३१ मा फ्रान्सको लियो भन्ने ठाउँमा मजदुरहरूको संगठित विद्रोह देखियो र अलिक तोडफोडकारी ढङ्गले त्यो विद्रोह भयो । त्यसपछि पुँजीवादीहरूले नयाँ ढङ्गले व्यवस्थापनका अझ फराकिला र अझ उदार खालका तरिकाहरू अबलम्वन गरेर ती असन्तुष्टिहरूलाई व्यवस्थापन गरे । जसले विस्फोटतर्फ जान दिएन, विस्फोटनलाई  रोक्यो । त्यसपछि १९औं शताब्दीको चौथो दशकको चार्टिस्ट मुभमेन्ट भयो ।  १९औं शताब्दीको चौथो दशकको (१८३१) चार्टिष्ट मुभमेन्टबाट श्रमजीवी वर्ग र मजदुरहरूको संगठित विद्रोहको एउटा नयाँ युग शुरू हुन्छ । चार्टिस्ट आन्दोलन आफ्नो ठाउँमा अलग प्रकारको छ तर फेरि चार्टिस्ट आन्दोलनले समाजमा एउटा खलबली पैदा गरिदिएको छ । त्यसपछि १८४८ मा माक्र्स एंगेल्सद्वारा कम्युनिष्ट घोषणा पत्र जारी हुन्छ । त्यसपछि १८४८–५२ का ठूला–ठूला विद्रोह हुन्छन् । १८७१ मा पुग्दा पेरिस कम्युन स्थापना हुन्छ । यद्यपि त्यो स्वतस्पूmर्त किसिमको थियो । त्यो राष्ट्रियताको आन्दोलनको सन्दर्भमा पेरिस बचाउ, फ्रान्स बचाउ भन्ने अभियानमा केन्द्रित थियो । त्यो स्वतस्फूर्त खालको थियो । तर त्यसले दुनियाँमा एउटा नयाँ सन्देश प्रवाह गर्यो कि सर्वसाधारण श्रमिक वर्गले, खासगरी मजदुर वर्गले महिला र पुरुषहरूले सत्ता नै कब्जा गर्न सक्दा रहेछन् । ७२ दिनसम्म उनीहरूले सत्ता टिकाए । तर त्यो सधैँ टिक्न सम्भव थिएन । किनभने त्यो सुविचारित, संगठित थिएन । त्यसमा कोही अभ्यस्त थिएन, कसैमा व्यवस्थापन सम्बन्धी ज्ञान पनि थिएन । स्वतस्पूmर्त आन्दोलन ७२ दिनसम्म कता जाउँ, के गरौं भन्ने अवस्था र अनुभवहीनतामा पनि टिक्नु एउटा महत्वपूर्ण कुरा हो पेरिस कम्युनको असफलताले श्रमजीवी वर्गका आन्दोलनहरूलाई के सिकायो भने अब विचार र प्रभावले मात्रै हुँदो रहेनछ, संगठित, सुगठित र व्यवस्थित हुनुपर्दाे रहेछ । व्यवस्थित भनेपछि  व्यवस्थापनको कुरा आयो । व्यवस्थितपन हुनुपर्ने रहेछ भन्ने जुन कुरा देखायो, त्यसले  व्यवस्थापनको आवश्यकता पुष्टि गर्यो । 
लेनिनवादी संगठनात्मक सिद्धान्तको विकास 
यसपछि राजनीतिक पार्टीहरू र खासगरी श्रमजीवी वर्गीय राजनीतिक पार्टीहरूले विचार र उद्देश्यमा केन्द्रित भएर संगठित ढङ्गले अगाडि बढ्नुपर्ने रहेछ र आइपरेका समस्याहरूलाई व्यवस्थापन गर्नुपर्ने रहेछ भन्ने कुराहरू आए । त्यसपछि १९०३ मा रुसमा बनेको कम्युनिष्ट सोसलिस्ट पार्टीले संगठनात्मक सिद्धान्तको विकास गर्यो । लेनिनको अगुवाईमा संगठनात्मक सिद्धान्तहरू विकास भए । १८७६ मा एडम स्मिथले पुँजीवाद र पुँजीवादको उत्पादित क्षेत्रलाई कसरी व्यवस्थित गर्नुपर्छ, पुँजीवादको गभर्नेन्स प्रणालीलाई कसरी व्यवस्थित गर्नुपर्छ भन्नेदेखि लिएर औद्योगिक व्यवस्थापन कसरी गर्ने, कसरी कम्पनीलाई व्यवस्थित गर्ने भन्ने कुरामा केन्द्रित भएर लेखे । तर यो कुरा त्यतिमा मात्रै सीमित थिएन, त्यो गभर्नेन्ससँग पनि सम्बन्धित थियो । त्यहाँदेखिका सिद्धान्तहरू र विभिन्न समयका अनुभवहरूलाई संश्लेषण गरेर लेनिनले संगठनात्मक सिद्धान्तको विकास गरे । आज हामी त्यसलाई लेनिनवादी संगठनात्मक सिद्धान्त भन्छौं । मोटो रूपमा भन्ने हो भने अहिलेसम्म प्राप्त भएका सिद्धान्तहरूमा लेनिनवादी संगठनात्मक सिद्धान्त भन्दा व्यवस्थित र उत्कृष्ट अर्को सिद्धान्त, त्यसको संशोधनमा, त्यसको परिमार्जनमा, त्यसको विकासक्रममा अहिलेसम्म त्यसरी सैद्धान्तिक तवरमा विकास भएको छैन । तर, त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेन । जसले गर्दा पटक पटक आन्दोलनमा असफलता हात लागेको छ । जोसँग उन्नतस्तरीय संगठनात्मक सिद्धान्त छ, जोसँग उन्नतस्तरीय व्यवस्थापन सिद्धान्त छ, जोसँग उन्नत व्यवस्थापनको सिद्धान्त छ, उ व्यवस्थापनमा असफल भएको छ । 
अर्को फुटका लागि एकता !
म प्रशिक्षक साथीहरूलाई आग्रह गर्न चाहन्छु,–यसमा खोजी गर्न जरूरी छ । सबैभन्दा बढी व्यवस्थापनको सिद्धान्त बामपन्थीहरूसँग हुने, कम्युनिष्टहरूसँग हुने, लेनिनिष्टहरूसँग हुने, तर लेनिनवादीहरूको चाहिँ व्यवस्थापन भताभुङ्ग हुने ! अनि असफलताका एउटा–एउटा कहानी फेरि शुरू हुन्छ । आज तपाईंहरूले अखवारहरूमा, सञ्चार माध्यमहरूमा एकताको फेरि एउटा अभियानबारे सुन्नुभएको होला । फेरि अर्को फुटका लागि फेरि एकताको अभियान शुरू भएको छ । त्यो जुट्नका लागि होइन, अर्को फुटका लागि हो । जोसँग उन्नत विचार छ, उन्नत सिद्धान्त छ, उही त्यसमा असफल हुन्छ । यसका पछाडिको कारण हामीले बुझ्नु जरूरी छ । हामीले के हो कम्युनिष्ट, के हो बामपन्थ भन्ने कुरा बुझ्न जरूरी छ र यस कुराप्रति सजग हुन जरूरी छ । सैद्धान्तिक पूर्वाग्रह राख्ने मान्छेहरूले के बोल्छन्, के भन्छन् अथवा नबुझेर त्यस सिद्धान्तका नाममा कसले के गलत प्रयोग गर्यो, त्यो बेग्लै कुरा हो । तर हामीले निःसन्देह धक फुकाएर भन्नुपर्दछ– सिद्धान्तको नाम लिएर परिचय दिने सबैलाई बामपन्थी र कम्युनिष्ट भन्न सकिंँदैन, भन्न मिल्दैन । संसारमा मान्छे पनि भन्न नसुहाउने आमा मार्नेहरू, बाबु मार्नेहरू, श्रीमती मार्नेहरू, छोराछोरी मार्नेहरू पनि देखिएका छन् । निर्दोष मान्छेहरूको आमहत्या गर्ने पनि देखिएका छन् । तर तिनलाई हेरेर मानव जातिलाई खराव भन्न मिल्छ र ? ती अपवाद हुन् । कसैले माक्र्सवादका नाममा वितण्डा गर्नु भनेको छ र ? माक्र्सवादले त वर्गीय समाजको कुरा गरेको छ, शोषणका बारेमा बताएको छ, शोषण हुनुहुँदैन भनेको छ । एउटा मान्छेबाट अर्को मान्छे शोषित, दमित, शासित हुने स्थिति हुनुहुँदैन र कोही शासक र कोही शासित हुने स्थिति हुनुहुँदैन भनेको छ । सरकार भनेको शासक होइन, सरकारलाई शासक ठान्ने अथवा सरकारमा पुगेपछि आपूmलाई शासक ठान्ने प्रवृत्ति लोकतान्त्रिक प्रवृत्ति होइन । झन् यो जनवादी प्रवृत्ति त हुनै सक्दैन । शासन समाजलाई सुव्यवस्थित गर्ने संयन्त्र र विधिको नाम हो । यसको संरचनागत पक्ष छ, विधिगत पक्ष छ । 
त्यसकारण यो कस्तो संरचनामार्फत, कस्तो विधिमार्फत देश र जनताको भलो, जनताको उन्नति, समाजमा शान्ति, सुव्यवस्था, न्याय र कानूनको राज कसरी बनाउन सकिन्छ भन्ने कुरा हो । नपढेका, नबुझेकाहरूले मार्क्सको दार्शनिक पक्षलाई स्वीकार गर्न नसक्लान्, त्यो बेग्लै कुरा हो । मार्क्सको दार्शनिक पक्षलाई आइन्स्टाइनले पनि खण्डन गर्न सकेनन्, गरेनन् । भगवानको बारेमा के भन्नुहुन्छ भन्ने प्रश्नमा आइन्स्टाइनले यतिसम्म भने– ईश्वरको बारेमा मलाई त्यति जानकारी छैन, यदि ईश्वर छन् भने सबैभन्दा न्यायपूर्ण समाजको परिकल्पना गर्छन् होला । त्यसो हो भने ईश्वर भनेको कार्लमार्क्स होला । सायद सबैभन्दा न्यायोचित समाजको परिकल्पना गर्ने नै भगवान हुन्छ होला, त्यसो हुँदा कार्लमार्क्स नै ईश्वर हुनसक्छन् भने । अथवा मार्क्सवादी दर्शनलाई सर्वश्रेष्ठ वैज्ञानिकले दार्शनिक हिसाबले खण्डन गर्न सकेका छैनन् । द्वन्द्वात्मक हिसाबले कसैले खण्डन गर्न सकेका छैनन् । ऐतिहासिक भौतिकवादी हिसाबले डार्विनको विकासवादी सिद्धान्त आफ्नो ठाउँमा छ । डार्विनको विकासवादी सिद्धान्त अस्वीकार गर्न सकिँदैन । तर हरेक चिजमा विकासवादी सिद्धान्त लागू हुन्छ भन्न सकिँदैन । प्राणीको सन्दर्भमा, जीवको सन्दर्भमा अथवा खासगरी मानव जाति र मानव जातिको विकासको सन्दर्भमा डार्विनले जे भनेका छन्, त्यो विकासवादी सिद्धान्त लागू पनि हुन्छ तर बाँदरबाट मान्छे बन्यो जस्तो कुरा चाहिँ नहुन पनि सक्छ । आजका बाँदर कहिले मान्छे होलान् ? त्यो सम्भव छैन । उहिले बाँदरबाट नै मान्छे भएका हुन् त भन्दा त्यो पनि सम्भव देखिँदैन । त्यो आफ्नो ठाउँमा छ । यसले डार्विनको विकासवादी सिद्धान्तको खण्डन गर्दैन र विकासवादी सिद्धान्त सही छैन भन्ने पनि होइन । तर त्यो सिद्धान्त सबैतिर लागू हुन्छ भन्ने कुरा पनि भन्न सकिँदैन । यस सम्बन्धमा अझ अध्ययन र छलफल आवश्यक छ । कुनै निष्कर्ष निकाल्नु हतारो हुन्छ । यस सन्दर्भमा अनेक वैज्ञानिक खोज, अध्ययन, अनुसन्धानहरू भइराखेका छन् । त्यसमध्ये हामी आफ्नो व्यक्तिगत विश्लेषण गर्न सक्छौं र दृष्टिकोण राख्न सक्छौं । 
अरु विभिन्न सिद्धान्तहरू छन् । त्यसमध्ये समाजको परिवर्तन र विकास सम्बन्धी मार्क्सवादी सिद्धान्तले आदिम साम्यवादभन्दा अगाडि जङ्गली युगमा मान्छे थियो, तर बाँदर होइन, पछौंटे अवस्थामा थियो भन्छ । जङ्गली अवस्थामा मान्छे थियो, तर उ बाँदर थिएन । जङ्गली अवस्था, त्यसपछि पशुपालकआदि हुँदै दास युग, सामन्ती युग, पुँजीवादी युग र अब पुँजीवाद र समाजवादको संक्रमणको युगमा आइपुगेको छ । वैयक्तिक स्वार्थ केन्द्रित प्रवृत्ति र प्रणाली मानवीय प्रवृत्ति हो । समग्र मानवीय सोच र मानव जातिको प्रवृत्तिलाई न्यायोचित र समतामुखी बनाउने अभियानमा हामी छौं ।  हामीसँग यति उर्वर धर्ती छ । यस धर्तीमा न्यायोचित थिति, विधि, प्रणाली, उत्पादन र उत्पादनका सम्बन्धहरू, तिनीहरू माथिको पहुँच र उपलब्धि माथिको पहुँच यथोचित ढङ्गले कायम गर्ने हो भने मानव समाज सुन्दर र सुखी हुनसक्छ भन्ने हाम्रा पूर्वजहरू र कार्लमाक्र्सको मान्यता छ । त्यही मान्यतालाई लिएर आज हामीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा निर्धारण गरेका छौं । हामीले निर्धारण गरेको त्यही राष्ट्रिय आकाङ्क्षाका विरुद्ध व्यक्तिगत स्वार्थ, नातागोतावाद, भ्रष्टाचार र शासनको दुरूपयोग गर्नेहरू सक्रिय छन् । आज शासनमा उनीहरूले अपनाएको परिवारवादका अत्यन्त भद्दा रूप पनि देखिन थालेका छन् । समाजवादका निम्ति यस्ता प्रवृत्ति र विचारहरूका विरुद्ध हाम्रो लडाइँ हो । आज विश्वव्यापी रूपमा समाजवादी मान्यता कि पुँजीवादी मान्यता, व्यक्तिवाद कि सामुहिकतावाद, स्वार्थवाद कि समविकासवाद, म वाद कि, हामीवाद ? आज भइरहेको लडाइँ यही हो । हामीवाद भनेको समाजवाद हो । म वाद भनेको पुँजीवाद हो । अनुचित नाफाबाट अर्कालाई मर्का पार्ने अतिरिक्त मूल्य न्यायोचित मूल्य होइन । असाधारण सम्पत्ति जमाहट र संकलन, त्यसको अनुचित प्रयोगलाई हामी दुरूपयोग भन्छौं । मानवीय समाज र सभ्यताको विकासका लागि तिनको सामुहिक प्रयोग, यही समाजवाद हो । समृद्ध नेपाल, सुखी नेपालीको उद्देश्यमा हिंड्ने हामी र नातागोतावाद र अकुत पुँजी सङ्कलनमा हिंड्ने उनीहरू बीचको यही लडाइँ अहिले चलिराखेको छ । 
समाजवाद र पुँजीवादबीचको लडाईं
आगामी संसदीय र प्रदेश निर्वाचनमा यिनै दुई विषयमा लडाइँ हुँदै छ । समाजवाद कि पुँजीवाद, नाफाखोर, असामाजिक प्रवृत्ति कि सामाजिक देश र जनताका लागि अग्रसर हुने प्रवृत्ति ? आगामी चुनावमा यी दुईवटा ट्रेनहरू बीचको लडाइँबाट सफल निष्कर्ष निकाल्नुपर्छ । किन यो जरूरी छ भने हामीले यो अधोगतिबाट मुलुकलाई फेरि विकासको लिकमा ल्याउनुपर्नेछ । मेरो नेतृत्वमा जुन एमाले सरकार चल्यो, त्यो सरकार र अहिले एक वर्षमा चलाइएको सरकारका बीचको भिन्नतालाई आम जनताका बीचमा हामीले राख्नुपर्छ । हामीले सरकार छोड्दा कोभिड एकढङ्गले नियन्त्रण भइसकेको थियो । तीन वर्षमा हामीले डेढ वर्ष कोभिडसँग लडेर बिताउनुपर्यो । तर पनि देशको अर्थतन्त्र, देशको राष्ट्रिय आत्मविश्वास, विकासको गति, सुशासनतर्पmका हाम्रा सफलताहरू असाधारण थिए । आज एक वर्षभित्र देखापरेको भयानक अधोगतिले मुलुक चिन्ताजनक अवस्थामा छ । यसले यी दुईवटा विचार बीचको प्रतिस्पर्धा के हो भन्ने कुरालाई स्पस्ट देखाउँछ । त्यसकारण अब हामीले समाजवादको आधार तयार गर्ने हाम्रो अभियानलाई अगाडि बढाउन एमालेको बहुमतको सरकार चाहिन्छ । 
आज हामी लेनिनवादी संगठनात्मक सिद्धान्त भन्छौं । अघि मैले भनेको पुँजीवादी व्यवस्थापन सम्बन्धी, पुँजीवादी संगठन सञ्चालन सम्बन्धी, पुँजीवादी कम्पनी सञ्चालन सम्बन्धी सिद्धान्तहरूले पनि के भन्छ भने– हाइरार्की । कुनै पनि कुरा अर्डरमा हुनुपर्दछ, डिभिजन अफ वर्क हुनुपर्दछ । हाम्रो पनि डिभिजन अफ वर्क छ । हामी हरेकको जिम्मेवारी छ । तर, आफ्नो ठाउँमा हामीले कति प्रभावकारी ढङ्गले आफ्नो जिम्मेवारी पूरा गरिरहेका छौं ? हामी अध्यक्ष भएका ठाउँमा हामीले हाम्रो जिम्मेवारी कति प्रभावकारी ढङ्गले पूरा गरिराखेका छौं ? हामी सदस्य भएका ठाउँमा, हामी संयोजक भएका ठाउँमा, हामी इन्चार्ज भएका ठाउँमा, हामी सचिव भएका ठाउँमा, हामी उपसचिव भएका ठाउँमा आपूmले जिम्मेवारी लिएको ठाउँमा कति ध्यानपूर्वक लागेका छौं ? हामी जहाँ–जहाँ पुग्नुपर्ने त्यहाँ त्यहाँ पुगिराखेका छौं कि छैनौं ? राख्नुपर्ने बैठकहरू राखेका छौं कि छैनौं ? व्यवस्थित ढङ्गले कामलाई अगाडि बढाएका छौं कि छैनौं ? समय समयमा व्यवस्थित ढङ्गले बैठक बस्ने गरेका छौं कि छैनौं ? ती बैठक एजेण्डासहित बस्ने गरेका छौं कि छैनौं ? उपयुक्त एजेण्डा छनोट गरेका छौं कि छैनौं ? उपयुक्त एजेण्डाको छनोट गरेका छौं भने ती एजेण्डाहरूमा हामी अब कसरी अगाडि जाने ? कुन मितिसम्म कति उपलब्धि हासिल गर्ने ? त्यो हासिल गर्नका लागि कसले के जिम्मा लिने ? 
वडा कमिटी ३९ जनाको भोट २४ !
कमिटीले बसेर सामुहिक निर्णय गर्छ । तर सामुहिक निर्णय हुन छोडेको छ । पार्टीमा सामुहिक निर्णय हुनेगर्छ, हुनुपर्दछ । सामुहिक निर्णय कम हुने गरेको छ । व्यक्तिगत जिम्मेवारी बहन गर्नुपर्दछ । व्यक्तिगत जिम्मेवारी बहन गर्न छोडिएको छ । कतिपय ठाउँमा लज्जाजनक स्थिति छ । हामीमा पार्टी सदस्य, पार्टीको कमिटीको जिम्मेवार व्यक्ति, जिम्मेवार व्यक्ति भनेको जिम्मा लिएको व्यक्ति, फलानो कामको जिम्मा लिएको व्यक्ति हुँ भन्न लाज हुने खालको स्थिति छ । मैले उल्लेख नै गर्ने हो भने– एउटा पालिकाको एउटा वडामा वडा कमिटी छ, पार्टी सदस्यहरू छन्, जनसंगठनहरू छन्, जनसंगठनका कमिटी छन्, जनसंगठनका सदस्य छन् । पार्टीको वडा कमिटी ३९ जनाको छ । मातहतमा सदस्य थुप्रै छन् । जनसंगठनहरूका कमिटी छन्, सदस्यहरू छन् । त्यहाँ पदका लागि मारामार हुन्छ । वडा कमिटी मात्रै ३९ जनाको छ । तर वडाको चुनावमा अस्ति २४ वटा भोट आयो । हामीलाई पार्टी सदस्य हुँ भन्न लाज हुनुपर्छ कि पर्दैन ? यो भन्दा बेइमानी केही हुन्छ ? यो भन्दा निकृष्टता केही हुन्छ ? यो भन्दा घटिया कुरा केही हुन्छ ? कम्युनिष्ट पार्टीको कार्यकर्ता भएर वडा कमिटीमा ३९ जना बस्ने २४ जनाले भोट हाल्ने ! यो भन्दा सर्मनाक कुरा केही हुन्छ ? भोट हाल्न सकिँदैन भने कमसेकम राजीनामा गर्न सकिँदैन ? म पार्टीलाई भोट हाल्न सक्दिन, म राजीनामा दिन्छु भन्नुपदैैन ? त्यति इमानदारी त देखाउनुपर्छ नि ! पार्टीको कमिटी मात्रै ३९ जनाको, अरु जनवर्गीय संगठन कहाँ गए ? सदस्यहरू कहाँ गए ? भोट आउँछ २४ ! विचार गर्नुस् त, तपाईंहरूलाई सुन्दा कस्तो लाग्यो ? गर्नेहरू पनि यहाँ हुन सक्नुहुन्छ । यसरी पार्टी चल्दैन । यस्तो पार्टीले गरिखाँदैन । 
मतिभ्रष्ट होइन, श्रेष्ठ र अनुशरणीय  
म स्पष्ट ढङ्गले साथीहरूलाई भन्न चाहन्छु । तपाईं हाम्रा शास्त्रहरूमा जानुस्, हाम्रा ग्रन्थहरूमा जानुस्, हाम्रा अग्रजहरूका, पूर्वजहरूमा जानुस् । उहाँहरूको शिक्षा के छ ? मान्छेभित्र आन्तरिक रूपमा तीन वटा आयाम हुन्छ, जसले उसलाई कस्तो हो भन्ने कुरा निर्धारण गर्छ । त्यसमा एउटा मति, अर्को बुद्धि र तेस्रो ज्ञान । ज्ञान भनेको किन्न पनि सकिन्छ । तपाईं पाइलट हुनुहुन्न, तपाईंले हेलिकप्टर किन्नुभयो भने पाइलट किन्न पाउनुहुन्छ । तपाईं डाक्टर हुनुहुन्न तर तपाईं डाक्टर किन्न पाउनुहुन्छ । तपाईं ड्राइभ गर्न जान्नुहुन्न तर तपाईं ड्राइभर पाउनुहुन्छ । तपाईंसँग व्यवस्थापकीय सीप छैन, तपाईं किन्न पाउनुहुन्छ । तपाईंले तलव दिने हो, ज्ञान किन्न पाउनुहुन्छ । तपाईंलाई पुराण लगाउन मन लाग्यो भने पण्डितजी पाउनुहुन्छ, दक्षिणा दिने हो । तपाईंले नै पण्डित्याइँ गर्न जान्नुपर्छ भन्ने छैन, तपाईं पण्डित प्राप्त गर्न सक्नुहुन्छ । बुद्धि पनि त्यत्रो ठूलो कुरा होइन । बुद्धि खतरनाक पनि हुन्छ । बुद्धि सकारात्मक ठाउँमा सदुपयोग गर्यो भने ठीकै हो । मति ठीक छैन भने बुद्धि खतरनाक हुन्छ । मतिले  बुद्धिलाई ड्राइभ गरेन भने खतरनाक हुन्छ । एमालेको वडा कमिटीमा बसेको छ, भोट अर्कालाई हालेको छ, यो भन्दा मतिभ्रष्ट, यो भन्दा बुद्धिको दुरूपयोग के हुन्छ ? आफ्नै पार्टीका विरुद्ध प्रचार गर्ने, आफ्नै पार्टीका विरुद्ध अरू प्रकारका क्रियाकलाप गर्ने कुरा मतिभ्रटता हो । सबै ठाउँमा मैले देखेको छैन, तर परिणाम बोलिराखेको छ । मैले नदेखेर के गर्ने ! परिणामले सबैका कान–कानमा भनिराखेको छ । वडामा ३९ जना पार्टी कमिटीका सदस्य छन्, २४ वटा भोट आउँछ । इमानको सन्दर्भमा कसैले त्यहाँ केही भन्नुपर्छ ? यो बेइमानी भयो । कम्युनिष्ट कार्यकर्ताका लागि इमान मुख्य कुरा हो । मान्छेको चरित्र, मान्छेको आचरण र मान्छेको मान्छेपन भनेको इमानदारितामा हुन्छ । इमान मान्छेको विशेष गुण हो । मान्छेको श्रेष्ठता, उत्कृष्टता भनेको इमानमा हुन्छ । मान्छे थितिमा हुन्छ, विधिमा हुन्छ । संविधानमा यस्तो कुरा लेखेको हुन्न, कानूनमा यस्तो कुरा लेखेको हुन्न तर सामाजिक प्रचलनमा यी कुराहरूलाई मानिसले वरण गरेको हुन्छ । चरित्र वा मतिको स्थान थिति विधिभन्दा माथि हुन्छ । तपाईंलाई भोक लागेको बेला छिमेकीको घरमा पुग्नुभयो, त्यहाँ खाना तयार छ, तपाईंलाई भोक लागेको छ । तपाईंले मन पराउने खालको सब्जी पनि रहेछ । मन पराउने खालको दाल रहेछ, मन पराउने खालको यदि मांंस परिकार पनि रहेछ भने पनि तपाईं त्यो खानुहुन्न । तपाईं त्यहाँ नखाइकन घरमा फर्किनुहुन्छ । छिमेकीको घरमा भात पाकेको भेटियो भने नखाइकन फर्किनुपर्छ भन्ने कुनै कानूनमा लेखेको छ र ? छैन नि । तर, तपाईंले त्यहाँ खानु भयो भने पनि त्यो कानूनको उल्लङ्घन हुँदैन । तर पनि तपाईं खानुहुन्न । किन खानुहुन्न भने तपाईं मानवीय सामाजिक मति र चरित्रबाट अभिप्रेरित हुनुहुन्छ । तपाईंका लागि त्यहाँ खाना पाकेको छैन, तपाईंका लागि तपाईंको घरमा पाकेको छ । त्यसकारण तपाईं घरमा फर्किनुहुन्छ र घरमा गएर खानुहुन्छ । त्यो सामाजिक प्रबन्ध हो, जो मानिसभित्र कानून भन्दा बढी अन्तरव्याप्त छ । त्यो हरेकले जानेको, बुझेको कुरा हो । यस्ता धेरै कुराहरूलाई सामाजिक नियमका रूपमा हामीले विकास गरेका छौं, हाम्रो समाजले विकास गरेको छ । समाज यसले बाँधिएको छ । यो सबै इमानको कुरा हो । नदेखिइकन चोर्नु हुन्छ कि हुँदैन ? हुँदैन । नदेखिइकन चोर्नु हुँदैन भनेको इमान हो । नदेखे त चोरे पनि हुन्छ भनेर खल्तीमा हात हाल्नु बेइमानी हो । त्यसकारण मानवीयताको महत्वपूर्ण उचाइ भनेको इमान हो । हामी गाउँ घरमा छोटो दुई अक्षरमा भन्छौं ‘मति’ । त्यसैले मति राम्रो हुनुपर्दछ । 
आफूलाई बामपन्थी कम्युनिष्ट भन्नेले आज जे–जे गरिराखेका छन्, तिनीहरूबाट कम्युनिष्ट भनेको यस्तै हुँदो रहेछ भनेर हामीले सिक्ने ? त्यस्तो गर्नुहुँदैन । हामीले आफूलाई अरूभन्दा श्रेष्ठ र पृथक रूपमा स्थापित गर्नुपर्दछ । अरूभन्दा उन्नत ढङ्गले हामी अगाडि हुनैपर्दछ । मैले जहिले पनि भन्ने गर्छु–अनुशरणीय हुनुस्, नमुनाको रूपमा हुनुस् । मान्छेले भनुन् न, उसले भनेपछि गर्छ है भनेर । उसले यो नकाम चाहिँ गर्न सक्दैन, कसैले भन्यो भने पनि यो गर्दैन भन्ने कुरा स्थापित गर्नुस् न । यो नराम्रो काम हो, त्यसकारण उसले गर्दैन भन्ने स्थापित गर्नुपर्छ । उ एमालेको कार्यकर्ता हो, त्यसकारण बेइमानी गर्दैन भन्ने त कमसेकम होस् । एमालेको कार्यकर्तासँग लेनदेन गर्दा कागज गर्नुपर्दैन, एमालेको कार्यकर्ताले यतिमा बेइमानी गर्दैन भन्ने त कमसेकम होस् । एमालेको कार्यकर्ता छ लेखेर के गर्ने, कागजले पैसा फिर्ता गर्ने होइन, उसले फिर्ता गर्दैन, बेइमान छ भन्ने भयो भने के काम लाग्यो ? एमालेको कार्यकर्ता त्यस्तो हुन्छ ? त्यसकारण पहिलो कुरा त हामीमा इमान हुनुपर्यो । 
व्यवस्थापनसँग सम्बन्धित सिद्धान्तहरू मैले अघि भनेँ । बुर्जुवाहरूले तय गरेका व्यवस्थापनका सिद्धान्तमा आफ्ना जवाफदेही, आफ्ना उत्तरदायित्व, इमानदारीसाथ काम गर्नुपर्ने आदि कुराहरूलाई उनीहरूले पनि मानेका हुन्छन् । व्यक्तिगत हितलाई, आफ्ना हितलाई, संस्थागत वा समूहका हितका मातहत राख्नुपर्छ र आफ्ना हित परित्याग गर्नुपर्छ, संस्थाका हितहरूप्रति समर्पित हुनुपर्छ भन्ने उनीहरूको पनि सिद्धान्त हो । व्यक्तिगत हितहरूलाई संस्थाका हितका मातहतमा राख्नुपर्छ भनेर लेनिनले पहिलो प्रतिपादन गरेको होइन ? लेनिनको संगठनात्मक सिद्धान्तमा यो लेखिएको छ, तर लेनिनले पनि आफूभन्दा अगाडिका पुँजीवादी व्यवस्थापनका सिद्धान्तका व्याख्याताहरूका कुराबाट लिनुभएको छ । दर्जनौं व्यक्तिहरूको सिद्धान्तबाट त्यस्तो लिन सकिन्छ । दर्जनौं व्यक्तिहरू जसले एकपछि अर्को सिद्धान्त फलो पनि गरेका छन् र विकास पनि गरेका छन् । 
आफ्ना स्वार्थहरूलाई या मैले भनेको भएन, म भइनँ, म नभएपछि किन ? मैले भनेको नभएपछि किन ? ‘मैले फलानोलाई टिकट दिउँ भनेर भनेको थिएँ, नमानेपछि..’ भन्ने पनि हुन्छ संस्थामा ? त्यो घरमा पनि हुँदैन । संस्थामा मैले फलानोलाई उम्मेदवारी दिउँ भनेको थिएँ, भएन, नभएपछि किन भोट दिइन्छ, किन खटिइन्छ ? मैले पाउनुपथ्र्याे, मैले पाइनँ, किन खट्ने ? यस्तो भन्न इमानले दिंदैन । अनि त्यसो भए तपाईंले पाउँदा अर्काले किन खट्ने ? चुनावमा एउटा नारा चलेको थियो– टिकट पाए जित्छु, टिकट नपाए जसले पाउँछ, त्यसलाई जिताउँछु ।  त्यो नाराको व्यापक उल्लङ्घन भयो ।  जित्छु वा जिताउँछु, यो नारा विल्कुल ठीक थियो, तर पाए जित्छु नपाए हराउँछु भन्ने भयो । व्यवहारमा उल्टो भयो, पाए जित्छु, जित्ने कोसिस गर्छु, पाइनँ भने हराउने कोसिस गर्छु । हाम्रो अहिलेको परिणाम जनमत नभएर होइन, छाप हान्ने बेलामा हात कता–कता लट्पटिएर कुद्यो, त्यो हेर्नुस् न । स्वस्तिक छाप कहाँ–कहाँ लगाइएछ, त्यो हेर्नुस् न । त्यसकारण हामीले आफ्ना हितहरूलाई संस्थाका हितका मातहतमा राख्न सक्नुपर्छ । यो खाली पार्टीका लागि मात्रै होइन, यो वैयक्तिक जीवनमा, सामाजिक जीवनमा भोलि पनि र सधैँ अत्यन्तै महत्वपूर्ण कुरा हो । हामी इमानका साथ व्यवहार गर्छौं कि गर्दैनौं ? यो हाम्रो मानवीय चरित्रको मापक हो । 
चुनौतीलाई पराजित गर्न एकढिक्का बनौं
देश यस्तो अवस्थामा छ  । यति गम्भीर चुनौतीको हामी सामना गरिराखेका छौं । हाम्रा विरुद्ध यत्रो घेराबन्दी छ । सारा शक्ति एकातिर लागेर हाम्रा विरुद्ध प्रहार गरिराखेका छन् । त्यसलाई हामीले पराजित गर्नुपर्नेछ । यसपटक हाम्रो कुनै उम्मेदवार व्यक्तिगत रूपमा हार्यो र ? पार्टी हार्यो नि । कस–कसले कहाँ–कहाँ हार्यो भनेर मान्छेले हिसाब गरेको छ ? एमालेले कति सिट ल्यायो भनेको छैन ? एमालेले हार्यो भन्दै छन् । तसर्थ हामीले आफ्ना इगो, अहङ्कार छोड्नुपर्छ । देशलाई अगाडि बढाउने हो भने हामीले यी कुराहरू छोड्नु पर्दछ । हामी सामुहिक भावनाका साथ, पार्टी भावनाका साथ, गन्तव्यतर्फ हेरेर, गन्तव्यतर्फ फर्किएर, गन्तव्यतर्फको यात्रामा अगाडि बढ्नुपर्छ । व्यक्तिगत प्रतिस्पर्धा, व्यक्तिगत इष्र्या र इगोमा अल्झिने कि गन्तव्य प्राप्त गर्ने ? यत्रा चुनौतिहरू छन्, यिनको सामना गर्ने कि सानातिना कुरामा अल्झिने ? त्यसकारण म साथीहरूलाई भन्न चाहन्छु,– सानातिना कुराहरूमा अल्झिने होइन । हामीले हाम्रा महान उद्देश्यमा पुग्ने अभिभारा पूरा गर्न र हाम्रा अगाडिका गम्भीर चुनौतिहरूलाई पराजित गर्नका लागि नेकपा एमाले एकढिक्का हुन्छ, एकढिक्का हुनुपर्दछ । नेकपा एमाले एकढिक्का भएर उभिन्छ, एकढिक्का भएर अगाडि बढ्छ, एकढिक्का भएर बाधा व्यवधानसँग जुध्दै, तिनलाई पराजित गर्दै विजय हासिल गर्छ । यसमा हामी सबै प्रतिबद्ध छौं, इमानदारिताका साथ लाग्छौं, अस्तिको चुनावजस्तो कुनै हालतमा हुन दिँदैनौं । त्यो हाम्रो सङ्कल्प हो, हाम्रो  प्रतिबद्धता हो । 
अस्तिको चुनाव राम्रो भएन । तर हाम्रा विरोधीहरूले भनेजस्तो लघुताभाषको शिकार हुनुपर्ने पनि केही छैन । १०÷१५ वटा सिट ल्याएको छ, त्यो पनि अर्काको भरमा । अर्काका रूखबाट अलि–अलि झरेका पात जम्मा गरेर डोकामा हालेको छ, अनि  भन्छ– एमालेको त वन नै सखाप भयो । न आफ्नो विरुवा छ, न केही छ विचरा, एमालेको वन नै समाप्त पार्दिएँ भन्छ । अहिले हार्यो भन्दा पनि सिटको हिसाबले पनि दोस्रो पार्टी एमाले नै भएको होला नि । सबैले मिलेर टोक्दा पनि २०६ त एमालेले एक्लै जितेको होला नि । कसैले हाततिर टोक्ने, कसैले खुट्टातिर टोक्ने, कसैले पिडौंला टोक्ने, कसैले तिघ्रातिर उफ्रि–उफ्रि झम्टिने ! सबै गर्दा पनि त यत्रो सिट ल्याएको होला नि । सबैभन्दा ठूलो पार्टी भनेको गठबन्धनको काँग्रेस होला, त्यो भन्दा एक लाख बढी भोट एमालेले ल्याएको छ । एक प्रतिशत बढी भोट त फेरि पनि एमालेले ल्याएको होला । विभिन्न खोजमेल, गोडमेल, अ‍ैंचोपैंचो, सापटी गर्दा तीन प्रतिशत पु¥याउनेले पनि एमालेले हार्यो अरे ! सबैभन्दा बढी ३४ प्रतिशत एमालेले ल्याएको छ नि । अनि एमाले हार्यो अरे ! हामी यो हल्लाका पछाडि लाग्नुपर्ने आवश्यकता छैन । 
हाम्रै कमीकमजोरी भयो, हामीले जनतालाई राम्ररी सम्झाउन सकेनौं, प्रचार राम्ररी पुगेन । भन्नुस् त, ध्वस्त भएका ठाउँमा हामीले पुनःनिर्माणको कत्रो काम गरेका छौं, ओहो ! २०७२ सालमा हामीले काम गर्ने मौका पायौं,  हामीले कानुन बनायौं । त्यसपछिको सरकारले प्राधिकरण हेरफेर गर्यो, काम केही पनि भएन । फेरि सरकारमा आएर २०७५ सालबाट हामीले काम सुरू ग¥यौं । ०७५,०७६,०७७ सालमा सात लाख घर बनाएर हस्तान्तरण गरिसक्यौं । धरहरा, रानीपोखरी, दरबार हाइस्कुल, बसन्तपुर, पाटन दरबार स्क्वायरदेखि भक्तपुर दरबार स्क्वायर लगायतका संरचना सबै निर्माण गर्यौं । स्कूल, कलेज, विश्वविद्यालय, स्वास्थ्य चौकी यी सबै पुनःनिर्माण गर्यौं । बाटाघाटा हुलाकी राजमार्ग बन्यो, मदन भण्डारी राजमार्ग दोस्रो पटक सुरू गरेर हामीले बनायौं । अहिले लगभग सबै तयार भयो, अब केही पुलहरू बाँकी होलान् । पूर्वदेखि पश्चिमसम्म  मदन भण्डारी राजमार्ग लगभग तयार भएको छ । पुष्पलाल राजमार्ग अब लगभग तयारीको स्थितिमा पुर्याएका छौं । चुलामा ग्यास ल्याउन सकिन्छ ? नहुने कुरा भन्दै थिए । पानीको पाइप लान सकिने, ग्यासको लान नसकिने हुन्छ ? अब त विजुलीका तार नै पुर्याइन्छ । अब ग्यासका पाइप चुलामा लानुपर्ने आवश्यकता शायद पर्दैन । तर चुलामा साना–साना पाइप मात्रै होइन, हामीले अमलेखगञ्जमा ठूला–ठूला पाइप ल्याएर त्यहाँ पेट्रोलियम पदार्थ झार्यौं । ठूल्ठूलो पाइप आउँदो रहेछ नि । इन्धन ट्याङ्करमा बोकेर ल्याउनुपरेन, हामीले पाइपमै झारेका छौं । मेलम्ची सपना मात्र थियो । काठमाडौंका घर–घरका धारामा पानी एमालेको सरकार थियो र आयो, नत्रभने अर्को १० वर्ष कमसेकम आउँदैनथ्यो । काठमाडौंको अहिलेको स्वरूप एमाले सरकारकै समयमा बनेको होइन ? सडकलाई सुन्दर गर्ने कुरा, सडक चौडा गर्ने कुरा, खोला किनाराका सडक बनाउने कुरा, सरसफाइको कुरा, एमालेकै सरकारका देन होइनन् र ? नेपाल जस्तो ठाउँमा मेसिन लगाएर सडक सफा गर्ने, बु्रमर लगाएर सडक सफा गर्ने कुरा एमालेले सुरू गरेको होइन ? पानीले सडक सफा गर्छौं भनेर कृष्णप्रसाद भट्टराइले भन्नुभएको थियो, हामीले सडक पखालेको हो त, हामीले पखालेर देखाएका हौं । हामीले नेपाललाई स्वीट्जरल्याण्ड बनाउँछौं, अरू बनाउँछौं भनेनौं । हामीले नेपाल बनाउँछौं भन्यौं, नेपाल बनाउने बाटोमा अगाडि बढाएका हौं । हाम्रो यस्तो सरकार थियो । 
एमसीसीमा उही धामी, उही बोक्सी 
अहिले त एमसीसी गर्नेलाई के गर्छु भनेर सडकमा उफ्रियो । को उफ्रियो भन्दा उही धामी रहेछ, उसैले बोक्सी नचाएको रहेछ । बोक्सी उफ्रार्ने पनि उही रहेछ, धामी पनि उही रहेछ । पहिले लगाए, पछि ढ्याङ्ग्रो ठटाए । एमसीसी खराब हो भनेर कराउने, तिनीहरूलाई यस्तो गर्छौं, उस्तो गर्छौं भन्न लगाउने, बेलुका संसदको फ्रन्ट सिटमा बसेर हात उठाएर ‘हुन्छ’ भनेर सबैभन्दा ठूलो आवाजमा कराउने । त्यस्ताले पनि भोट पाए त यसपटक । भोट त पाए नि ! केही भोट बुथ कब्जा गरेर ल्याए, केही बेठीक गरेर ल्याए, तर केही भोट त पाए नि ! जनतालाई हामीले सचेत पार्न सकेको भए बुथ कब्जा पनि हुन सक्दैन्थ्यो । जब जनता जागे नि ! क्युवामा बेटिस्टाको सरकार उल्टियो, फिलिपिन्समा मार्कोस भागे, इन्डोनेसियामा सुकार्र्नोे भागे, पेरुबाट पिनोसे भागे । जनता जागेपछि इरानबाट रोजा पहलवी भागे । जनता जाग्दा शासक भाग्दारहेछन् नि ! जनता उठ्यो भने शासकहरू त भाग्दा रहेछन् भने बुथमा कब्जा गर्न बसेका चार जना प्रहरीको के कुरा ? त्यहाँ बसेका चार जना गुण्डाको के कुरा ? सबैलाई पराजित गरेर जनताले आफ्नो विजय सुनिश्चित गर्न सक्छन् । 
तर, यसपटक हाम्रो कहीं योजनाबद्ध ढङ्गले चुनाव प्रचार भयो र ? योजनाबद्ध ढङ्गले कतै काम नै भएन, छरपस्ट काम भयो, लुखुर–लुखुर काम भयो । पूर्वअध्यक्ष, पूर्वमेयरले पाएन भने अनुहार उज्यालो देखिएन । उम्मेदवारी नपाउँदा संसारमा घामै डुबेको होइन नि ! फेरि उदाउँछ नि, अर्को अवसर आउँछ नि ! अस्ति पाएको यसपटक पाइनँ भनेर अनुहार अँध्यारो हुनुपर्ने आवश्यकता छैन । अवसर फेरि पाइहालिन्छ नि ! म के भन्न चाहन्छु भने हाम्रा अगाडि हामीले पूरा गर्नुपर्ने धेरै ठूलो अभिभारा छ । त्यो पूरा गर्न नदिनका लागि अनेक व्यवधानहरू छन्, चुनौतीहरू छन् । सबैभन्दा अगाडि त एउटा प्रतिक्रियावादी, देशद्रोही मनशाय बोकेको भ्रष्ट र अपवित्र गठबन्धन छ । त्यो अनेक हिसाबले हामीलाई असफल बनाउन लागेको छ । हाम्रा महान उद्देश्यतर्फ तगारो बनेर यो बीचमा आएको छ । यसलाई हामीले मिल्काउनुपर्ने छ । कतिले यो गठबन्धन फोडौं भन्छन् । समयक्रममा गठबन्धन आफैँ फुट्छ । स्वार्थी पुँजीवादी बाटो हिँडेर कहिल्यै एकताबद्ध हुने सम्भावना नै हुँदैन । यो उनीहरूको स्वार्थको खेल हो, उद्देश्यमा, गन्तव्यमा एकता होइन । यो स्वार्थको एकता हो । तसर्थ उनीहरूको स्वार्थको एकता, स्वार्थको टकरावमा बदलिन्छ । यो नियम हो । त्यसकारण हामीले धेरै हतार गरेर यिनीहरूको यो एकता फोड्नका लागि चाँदीको तरवार बनाउनुपर्ने आवश्यकता छैन । यो एकता स्वार्थको टकरावबाट आफैं फुट्छ ।
अर्को कुरा कोसँग मिलेर कोसँग लड्ने भन्दा उस्तै÷उस्ता मध्ये कोही लिएर कसैका विरुद्ध लडेर पनि के फाइदा हुन्छ ? हाम्रो उद्देश्यसँग, हाम्रो गन्तव्यसँग सहकार्यमा साथै हुन नसक्नेलाई लिएर के गर्नु ? हामीले हिजो पनि त अभ्यास ग¥यौं नि ! हामीले एकता÷एकीकरण गर्दा दिएको सङ्ख्या लिएर हामीलाई सडकमा पुर्याइदिएको होइन ? हामीले दिएको सङ्ख्या दुरूपयोग गरेर हाम्रो साधारण सदस्यता समेत खारेज गर्ने र भविष्यमा समेत अयोग्य हुने÷ठहरिने गरी कारबाही गर्नेहरू होइनन् ? त्यसकारण मैले भनेँ– बामपन्थी पार्टी फुटाएर, बामपन्थी सरकार ढालेर÷ढाली पाऊँ र दक्षिणपन्थी सरकार बनाइपाऊँ भनेर अदालतमा मुद्दा हालेर, परमादेश ल्याएर दक्षिणपन्थी गठबन्धन बनाउने, अनि तिनीहरूलाई बामपन्थी हुन् भनेर हुन्छ ? बामपन्थी को हो ? त्यो क्रियाकलाप बामपन्थी हो ? त्यसो गर्नेलाई बामपन्थी भनिन्छ ? त्यसो गर्ने बामपन्थी हुन् भने हामी त बामपन्थी भएनौं । किनभने हामीले त त्यस्तो गरेको छैन । त्यसकारण मैले भनेँ–बामपन्थी कोही छौं भने एमाले खुला छ । बामपन्थी कोही छौं भने गठबन्धन छोड, गठबन्धन परित्याग गर, आउ यदी छौं भने । तपाईंहरू देखिराख्नुभएको छैन ? काँग्रेसले कहिले कहिले यिनीहरूका गालामा झिल्का निस्किने गरी ठ्याम्म हान्छ क्या ! अनि यिनीहरू कांग्रेसको पिंडुलामा च्याप्प अङ्गालो हालेर कक्रक्क परेर रुन्छन् र भन्छन्– ठूलो छु भन्दैमा हामीलाई नहेप (रुन्चे स्वरमा), यसरी हेप्ने हो ! हेपाइ अति भयो ! खुट्टामा समातेर कक्रक्क परेर भन्छन् । कांग्रेसले फेरि छोड् भनेर झट्कार्छ । (रुन्चे स्वरमा)..गठबन्धन टुट्नु हुँदैन, टुट्नु हुँदैन, नाइ के म छोड्दिन, छोड्दिन ! भन्छन् । अनि हामी त्यस्ताहरूलाई बामपन्थी भनेर उनीहरूबाट अपेक्षा गर्छौं । देश बनाउने कुरामा यिनीहरू आउलान्, लाग्लान्, ? यहाँ आफ्नै साथीहरू त अर्कालाई भोट दिन कुदिराखेको बेलामा त्यस्ताहरू ! 
आफू–आफूबाट शुद्धीकरण थालौं 
त्यसकारण हामीले आफ्नो पार्टी बनाऔं, पार्टीको शुद्धीकरण गरौं, आफू–आफूबाट शुद्धीकरण थालौं । मैले कसैलाई भनेको होइन, हामी हरेकले शुद्धिकरण थालौं । आफूलाई कम्युनिष्ट बनाऔं । हरेकले आफू–आफूलाई कमसेकम इमानदार बनाऔं । मेरो भनाइ त्यो हो । हामी साच्चै सुन्दर नेपाल, शान्त नेपाल, समृद्ध नेपाल, सुशासनयुक्त नेपाल, गरिबी नभएको नेपाल, पछौंटेपन नरहेको नेपाल, सबै सुशिक्षित भएको नेपाल र मान्छेका आधारभूत आवश्यकता र विज्ञान प्रविधिले अहिलेसम्म उपलब्ध गराएका आवश्यकता पूरा गर्न सक्ने खालको नेपाल बनाऔं र त्यो सुविधा उपभोग गरिरहेका सुखी नेपाली बनाऔं । हामी त्यस्तो देश बनाउन चाहन्छौं कि चाहदैनौं ? चाहन्छौं भने हामीले मेहनत गर्नैपर्छ । यदी बत्ती बाल्नका लागि बाती बनाउन पर्यो, दियो खोज्नु पर्यो, तेल हाल्नु पर्यो, सलाई खोजेर ल्याएर बाल्न पर्यो । बत्ती बाल्नका लागि यति जोरजाम गर्नु पर्दोरहेछ भने देशलाई नै उज्यालो बनाउनका लागि, चम्किलो बनाउनका लागि, मगमग बास्ना आउने बनाउनका लागि, दुनियाँको आकर्षणको केन्द्रजस्तो म्याग्नेट (चुम्बक) बनाउनका लागि, दुनियाँलाई यहाँ हेर्न आउने बनाउनका लागि, हाम्रो देशको सुन्दरतालाई मानवीयताले प्रतिस्पर्धा गरेर वास्तवमा एउटा सुन्दर देश बनाउनका लागि कति मेहनत गर्नु पर्ला ? यस्ता स्वार्थी तत्वसँग कति जुझ्नु पर्ला ? त्यसका लागि हामी लाग्छौं कि लाग्दैनौं भन्ने मुख्य कुरा हो । त्यसका लागि आजैदेखि लाग्नुपर्छ । मुख्य कुरा हामी आत्मानुशासित होऔं, इमानदार बनौं । हाम्रो गन्तव्यमा केन्द्रित बनौं । देशको हितलाई शिरमा राखौं, जनताका हितलाई शिरमा राखौं । परिवर्तन र रूपान्तरणका उद्देश्यलाई शिरमा राखौं । समृद्धिका सपनालाई शिरमा राखौं । त्यसो गरेर हामी अगाडि बढ्यौं भने हाम्रो सफलता र विजयलाई कसैले रोक्न सक्दैन । त्यसो गरेनौं भने, हामी निम्छरा भयौं भने, हामीले आत्मविश्वास गुमायौं भने, आफैँ स–साना कुराहरूमा अल्झियौं भने हामी कसरी गन्तव्यमा पुग्न सक्छौं ? स–साना स्वार्थहरूमा अल्झियौं भने हामीले बृहत् र व्यापक एकता कसरी बनाउन सक्छौं ? त्यसकारण गुटबन्दी मुर्दावाद ! हिजो लामो समय पार्टीभित्र हामीले गुटबन्दी बेहोर्यौं । यो गुट भनेको छ, त्यो गुट भनेको छ । गुटबन्दी आन्दोलनको शत्रु होे । गुटबन्दी गर्दा–गर्दा आखिर मान्छे सफल भएन भने, त्यो गुटबन्दी र त्यो गुटबन्दीका अपवित्र उद्देश्यहरू सफल भएनन् भने मान्छे के गर्दो रहेछ ? त्यसले पार्टी फुटाएर हिँड्दो रहेछ । हामीले देख्यौं नि ! पार्टी फुटाएर किन जानुपरेको थियो भने गुटबन्दी बेस्सरी गरेका थिए, व्यक्तिगत स्वार्थ पूरा गर्ने उद्देश्य थियो । स्वार्थी उद्देश्यका निम्ति गरिएको गुटबन्दी असफल भयो भने मान्छे पार्टी फुटाएर भाग्दो रहेछ । पार्टी फुटाउनुको अरू केही कारण छैन, त्यही कारण हो । तसर्थः पार्टीभित्र गुटबन्दी नगरौं । एउटाका विरुद्ध अर्काले खुस्खुस् गर्यो भने उसलाई समेत राखेर कुरा गरौं, एक्लै कुरा गर्दिनँ भनौं । उसका विरुद्ध खुस्खुस् कुरा गर्छ भने उसलाई समेत राखेर कुरा गर्छु, एक्लै कुरा गर्दिन भनौं । गुटबन्दी नगर्ने एउटा अभ्यास शुरू गरौं त ! हामी पार्टीलाई स्वस्थ बनाएर लैजान सक्छौं, एकताबद्ध बनाएर लैजान सक्छौं र एकताबद्ध पार्टीलाई व्यापक र विस्तृत बनाउन सक्छौं ।
मैले अघि नै भनेँ– शिक्षा, तालिम, प्रशिक्षण, अभिमुखीकरण फरक फरक कुरा हुन् । मैले अहिले गर्न खोजेको कुरा प्रशिक्षण होइन, अभिमुखीकरण हो । त्यसकारण अब प्रशिक्षक साथीहरूले आफ्ना विषयमा केन्द्रित भएर प्रशिक्षण शुरू गर्नुहुने छ । मैले गर्ने अभिमुखीकरण मूलतः यसका हरेक बुँदाहरूलाई तपाईंहरूले विस्तृतीकरण गर्न सक्नुहुने छ र यसलाई कार्यान्वयन गर्न सक्नुहुन्छ । 
हामी पार्टी किन बनाइरहेका छौं, हार्नलाई ? हाम्रा नराम्रा उद्देश्य भए हामीले हार्नै पर्थ्यो । बेठीक उद्देश्य भए हामीले हार्नै पर्थ्यो । हाम्रा उद्देश्य सही छन्, महान् छन्, त्यसकारण ती उद्देश्यहरू प्राप्त हुनुपर्छ । तिनीहरू हाम्रा निम्ति होइन, देशका निम्ति प्राप्त हुनुपर्छ, जनताका निम्ति प्राप्त हुनुपर्छ, लोकतन्त्रका निम्ति प्राप्त हुनुपर्छ । तसर्थ हामीले त्यसलाई असफल पार्न दिनु हुँदैन, सफल पार्नुपर्छ । गलत काम हामीले गर्यौं भने असफल बनाउने कुरामा हामी लागेका हुन्छौं । सफल बनाउने कुरातर्फ हाम्रा प्रयासहरू केन्द्रित हुनुपर्छ । हामी योजनाबद्ध काम गरौं, योजना बनाएर काम गरौं, एकताबद्ध भएर काम  गरौं । म फेरि भन्छु, सामुहिक निर्णय गर्ने अभ्यास गरौं । संगठनका बैठकहरू पटक–पटक बसालौं । हरेक जनसंगठनले तलसम्म, घरघरसम्म, टोलटोलमा संगठन र घरघरमा सदस्य बनाऔं । खासगरी मैले अखिल नेपाल महिला संघलाई भनेको छु–टोल–टोलमा संगठन, घर–घरमा सदस्य बनाउनुस् । अरूका लागि सम्भव छैन भने पार्टीका लागि सम्भव छ, अनेमसंघका लागि सम्भव छ । अनेमसंघले त्यो सम्भव बनाउन सक्छ र यो केही महिनाभित्र टोल–टोलमा संगठन, घर–घरमा सदस्यको अभियान हामी हरेक संगठनले सञ्चालन गर्नुपर्छ । त्यसमा पनि अखिल नेपाल महिला संघले यसलाई बढी प्रभावकारी ढङ्गले गर्नसक्छ । सदस्यता दियो छोड्दियो होइन, संगठन बनायो छोड्दियो होइन । त्यसलाई गतिशील बनाउने योजनाबद्ध ढङ्गले काम गरौं । हाम्रो विजय निश्चित छ । स्थानीय तहको निर्वाचनमा हामी हारेका छैनौं । हाम्रा केही प्राविधिक आन्तरिक कमजोरीहरू भए । त्यसलाई आगामी दिनमा सच्याएर हामी अगाडि बढ्ने छौं । यही सङ्कल्प गरौं भन्ने म साथीहरूलाई आग्रह गर्न चाहन्छु र आफ्नो भनाई टुङ्ग्याउँछु । 
(नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष ओलीले २०७९ साउन ४ गते बागमती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा गर्नुभएको सम्बोधनको सम्पादित पूर्णपाठ)