१ असार (२०८२), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले देशका बारेमा चिन्ता गर्नु हरेक नागरिकको कर्तव्य भएको बताउनुभएको छ ।
प्रवासी नेपाली मञ्च युकेको नवौँ अधिवेशनलाई बेलायतमा सम्बोधन गर्दै महासचिव पोखरेलले देशप्रति अपेक्षा हुनेले नै चिन्ता र प्रतिक्रिया व्यक्त गर्ने बताउनुभयो ।
अपेक्षा नहुनेले प्रतिक्रिया नै व्यक्त नगर्ने बताउँदै विदेशमा बसेका नेपालीले नेपालसँग अपेक्षा राखेकै कारण प्रतिक्रिया व्यक्त गर्ने गरेको धारणा उहाँले व्यक्त गर्नुभयो ।
देश पछाडि परेकामा चिन्ता गर्नु स्वाभाविक भएको बताउँदै उहाँले देश पछाडि पर्दा पनि चिन्ता नगर्ने व्यक्ति राष्ट्र भक्त हुन नसक्ने बताउनुभयो । तर देशप्रति चिन्ता व्यक्त गर्दा कसरी देश पछाडि पर्यो भन्ने कुरा ख्याल गर्नुपर्नेमा महासचिव पोखरेलले जोड दिनुभयो ।
नेपालमा समाज निर्माण र विकासको क्रम नै पछि सुरु भएकाले लोकतन्त्रको अभ्यास र आर्थिक÷सामाजिक समृद्धिको यात्रा पनि निक्कै पछि सुरु भएको उहाँले बताउनुभयो । त्यसैले दुई सय वर्ष पुरानो लोकतान्त्रिक अभ्यास गरेका मुलुकको विकाससँग नेपालको विकास तुलना गर्नु उचित नहुने महासचिव पोखरेलको धारणा छ ।
नेपालले लामो समय निरङ्कुश शासन व्यवस्था बेहोर्नु परेको कारण पनि देशको विकासले गति लिन नसकेको उहाँले बताउनुभयो । लोकतन्त्रमा केही भएन भन्नेलाई राजाको शासनकाल र लोकतन्त्रमा भएको कामलाई तुलना गरेर हेर्न महासचिव पोखरेलले आग्रह गर्नुभयो । अपेक्षा गरे अनुसार काम हुन नसकेको भए पनि अहिले भन्दा पञ्चायतमा काम भएको थियो भन्ने कुरा गलत भएको उहाँले तथ्याङ्क प्रस्तुत गर्नुभयो ।
देश असमानताबाट समानतातर्फ अघि बढिसकेको बताउँदै अब राजनीतिक दल र लोकतन्त्रले केही गरेन भनेर धारे हात लगाएर नबस्न महासचिव पोखरेलले आग्रह गर्नुभयो ।
एमाले सरकारमा जाँदा देशको समृद्धिको लागि काम गरेको र अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नेपाल विश्वमा उच्च आर्थिक वृद्धिदर हासिल गर्ने मुलुकको सूचीमा पुगेको उहाँले स्मरण गराउनुभयो ।
एमालेलाई सरकाबाट हटाएर बनेको सरकाले सेटिङमा सुन तस्करी गरेर देशको अर्थतन्त्र नै तहसनहस बनाएको भनाइ महासचिव पोखरेलले राख्नुभयो । देशमा अरूले गल्ती गर्ने तर आक्रमणको निशाना भने एमाले हुने गरेको उहाँको भनाइ छ ।
मुलुक लगातार सङ्कटमा परेपछि एमाले र कांग्रेसले सात बुँदे सहमति गरेर देशलाई अघि बढाएको उहाँले बताउनुभयो । अहिले देशका हरेक क्षेत्र सुधारको गतिमा अघि बढेको बताउँदै महासचिव पोखरेलले भन्नुभयो– आयात पनि बढेको छ, निर्यात पनि इतिहासकै उच्च विन्दुमा भएको छ ।
अधिकार माग्न सिकाउने तर कर्तव्य नसिकाउने कुराले राष्ट्रलाई कमजोर बनाउने अभ्यास सुरु भएको र यसले देशमा सामाजिक अराजकता फैलिएको उहाँको धारणा छ । नेपाल बहुजाति, बहुभाषिक र बहुसांस्कृतिक मुलुक भएकाले त्यसलाई अझ बलियो बनाउने गरी सबै लाग्नुपर्ने धारणा महासचिव पोखरेलले राख्नु भयो ।
कुनै पनि कुराको गहिरो अध्ययन होइन, सतही कुरा गरेर समाजमा भ्रम फिँजाउने काम भइरहेको र समाजमा आफूलाई बौद्धिक ठान्नेहरू पनि तथ्यमा होइन भ्रममा बाँचिरहेको उहाँले बताउनुभयो ।
जोसँग ज्ञान र प्रविधि छ, अब त्यही धनी र बलियो हुने बताउँदै महासचिव पोखरेलले त्यो मामलामा नेपाली युवालाई पर्याप्त ज्ञान दिन सक्ने हो भने नेपाल गरिब नहुने स्पष्ट पार्नुभयो ।
नेपाल आज समस्यामा भए पनि भविष्य उज्यालो रहेको मुलुक भएको चर्चा गर्दै उहाँले राष्ट्र विकासको सन्दर्भमा स्पष्ट दृष्टिकोण भएको नेता, बलिया राजनीतिक दल र राजनीतिक स्थायित्व आवश्यक रहेको बताउनुभयो । नेकपा (एमाले) अहिले त्यही अभियानमा रहेको उहाँले प्रष्ट पार्नुभयो ।
अहिले नेपाली समाजमा भ्रम सिर्जना गरेर अस्थिरता सिर्जना गर्ने विभिन्न शक्ति रहेका हुँदा ती शक्तिका गतिविधिप्रति सचेत हुनुपर्ने महासचिव पोखरेलले बताउनुभयो । लोकप्रियताको कुरा गर्नेले राजनीति र राष्ट्र निर्माण दुबै काम गर्न नसक्ने प्रष्ट पार्दै लोकप्रियतावाद कहिल्यै पनि समस्याको समाधान हुन नसक्ने धारणा उहाँले राख्नुभयो ।
एमाले बलियो हुँदासम्म आफ्नो भविष्य नहुने देखेका शक्तिहरू एमालेविरुद्ध गाली गर्न लागेको बताउँदै महासचिव पोखरेलले राष्ट्रलाई बलियो बनाउने अभियानमा एमाले लागेकाले राष्ट्रियता विरोधी शक्ति एमाले विरुद्ध लागेको स्पष्ट गर्नुभयो ।
अधिवेशनबाट पशुपति पोखरेलको अध्यक्षतामा नयाँ समिति सर्वसम्मत रूपमा चयन गरेको छ ।