detail-img

समृद्ध नेपाल निर्माणमा विज्ञान प्रविधिको भूमिका अपरिहार्यः प्रधानमन्त्री 

प्रधानमन्त्री केपी शर्मा ओलीबाट राष्ट्रिय विज्ञान दिवसमा शुभकामना 
१ असोज (२०८१) काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल निर्माणका लागि विज्ञान र प्रविधिको भूमिका अपरिहार्य रहेको बताउनुभएको छ । 
प्रधानमन्त्री ओलीले राष्ट्रिय विज्ञान दिवसका अवसरमा आज शुभकामना दिनुहुँदै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्नका लागि सरकार विज्ञान र प्रविधिलाई मेरुदण्डका रूपमा अङ्गीकार गर्दै आर्थिक विकास एवं सामाजिक रूपान्तरणको प्रक्रियालाई तीब्र बनाउन अग्रसर रहेको जनाउनुभएको छ ।
प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा भन्नुभएको छ– ‘विज्ञान तथा प्रविधिः विकास र उत्पादन वृद्धि’ भन्ने नाराका साथ आज हामी १२औं राष्ट्रिय विज्ञान दिवस मनाउँदैछौं । यस अवसरमा  वैज्ञानिक, विज्ञानमा साँचो वा वैज्ञानिक खोज, अनुसन्धान र सोंचको प्रवर्द्धनमा तल्लीन सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु।
पूर्वीय दर्शनले सयौं वर्षअघिदेखि कसरी वैज्ञानिक खोजलाई आफूमा समाहित गरेको थियो भन्ने प्रमाण हाम्रा शास्त्र र ग्रन्थहरूमा प्रष्ट छन् । हाम्रो शिक्षा प्रणाली परापूर्वकालमा असाधारण र विज्ञान प्रर्वतक थियो । समयक्रममा हामीले आफ्नो ढङ्गले यसलाई विकास गरेर जान सकेनौं । बाँकी संसारले ज्ञानको उज्यालोसँग साक्षात्कार गर्न नपाएको युगमा  पनि विज्ञानका युगान्तकारी सिद्धान्त हाम्रो शिक्षा, शिक्षा प्रणाली र मौलिक परम्परामा समेटिएका थिए । खगोलशास्त्र, भूगोलशास्त्र, औषधि विज्ञान, जीव विज्ञानको क्षेत्रमा हेर्दा हामी उहिल्यै अगाडि थियौं । समयक्रममा हाम्रा सामु नयाँ परम्परा र परिवेश आए र तिनलाई अगाडि बढाउनुपर्यो । अब फेरि हामीले विज्ञानको संसारमा हाम्रो आफ्नै वैज्ञानिक खोज परम्परालाई पनि पुनर्जागृत गर्नुपर्छ ।
‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न विज्ञान तथा प्रविधिको भूमिका अपरिहार्य छ । यसका लागि सरकार विज्ञान र प्रविधिलाई मेरुदण्डका रूपमा अङ्गीकार गर्दै आर्थिक विकास एवं सामाजिक रूपान्तरणको प्रक्रियालाई तीब्र बनाउन अग्रसर छ । सरकारले प्राविधिक विकासलाई उत्पादनको मूल आधार मानेको छ, विज्ञान र प्रविधिको शिक्षालाई प्रगतिको वाहकका रूपमा अङ्गीकार गर्ने नीति लिएको छ । विज्ञान र प्रविधिको क्षेत्रमा विद्यमान संरचनाहरूको सशक्तीकरण र सबलीकरण पनि उत्तिकै आवश्यक रहेको छ । यस्ता संगठनहरू उच्चस्तरीय आयोग बनाई पुनःसंरचनाको खाका तयार गरी कार्यान्वयन गर्ने सरकारको दीर्घकालीन नीति रहेको छ ।
सरकारले अनुसन्धान तथा उद्यमशीलता प्रवर्द्धन गर्न आविष्कार कोष, स्टार्टअप फण्ड जस्ता वैज्ञानिक, अनुसन्धानकर्मी र देशमै उद्यम गर्न खोजिरहेका युवाहरू केन्द्रित कार्यक्रमहरूको लागि बजेट विनियोजन गरेको छ । देशलाई आवश्यक वैज्ञानिक खोज, अनुसन्धानमा उच्च शिक्षाका जनशक्तिहरूको उचित प्रयोग गरी तथ्य आधारित नीति, कार्यक्रमहरू निर्माणमार्फत् ज्ञानमा आधारित दिगो अर्थतन्त्रको निर्माणमा हामी केन्द्रित हुन आवश्यक छ । त्यसका लागि उपयुक्त कार्यक्रमहरू समन्वयात्मक रूपमा अगाडि बढाउन सरकारले प्रयास गरिरहेको छ ।
अन्त्यमा, १२औं राष्ट्रिय विज्ञान दिवसका अवसरमा फेरि एकपटक वैज्ञानिक सोच, विधि र प्रक्रियाबाट राष्ट्रको समुन्नति हासिल गर्न हामी सबैलाई सफलता मिलोस् भन्ने कामना गर्दछु । विज्ञानको महत्व र अपरिहार्यताका सम्बन्धमा हरेक व्यक्तिलाई अवगत गराउन वा सचेत तुल्याउन यो दिवस सफल होस् । यस अवसरमा आयोजित विभिन्न कार्यक्रमहरूको पूर्ण सफलताको कामना गर्दछु ।