१० कात्तिक (२०८२), अर्घाखाँची । नेकपा (एमाले) अर्घाखाँची जिल्ला कमिटीले सोमबार संविधानको रक्षा, राष्ट्रिय एकता र सामाजिक सद्भावका लागि बृहत् सद्भाव र्यालीको आयोजना गरेको छ ।
देशमा फैलँदै गएको अराजक प्रवृत्ति, प्रतिगामी षड्यन्त्र र अस्थिरताको प्रयासका विरुद्ध जिल्ला सदरमुकाम सन्धिखर्कमा सद्भाव र्याली निकालिएको हो ।
सद्भाव र्यालीमा नेकपा (एमाले)का पोलिटव्यूरो सदस्य सूर्य थापा, लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा पार्टीका केन्द्रीय सदस्य चेतनारायण आचार्य, प्रदेश सांसदहरू, जिल्ला कमिटीका पदाधिकारी र स्थानीय नेताहरूको सहभागिता थियो ।
र्यालीलीमा जिल्लाका विभिन्न स्थानीय तहहरूबाट एमालेका नेता, जनप्रतिनिधि, कार्यकर्ता, महिला, युवा, विद्यार्थी तथा शुभेच्छुकहरूको पनि उल्लेखनीय सहभागिता रहेको थियो । सद्भाव ¥यालीले सन्धिखर्क बजारका विभिन्न भागको परिक्रमा गरेको थियो ।
संविधान, राष्ट्रियता र जनताको अधिकारको पक्षमा दृढता र ऐक्यबद्धताको सन्देश सद्भाव र्यालीमार्फत दिइएको थियो ।
सद्भाव र्यालीपछि आयोजित सभामा पार्टीका पोलिटव्यूरो सदस्य सूर्य थापाले जनताको बलमा प्रतिनिधि सभा पुनःस्थापना हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो– हामीले दुईवटा निर्णय गरेका छौं । पहिलो, प्रतिक्रान्तिलाई परास्त गर्न जनआन्दोलन र जनशक्तिको बलमा प्रतिनिधि सभा पुनःस्थापना गर्ने । दोस्रो, जनताको शक्तिको बलमा संविधानलाई पुनः लयमा फर्काएर यो देशलाई जनताद्वारा बनाइएको संविधानबाट शासित बनाउने ।
युवा नेता थापाले अहिलेको परिस्थिति अस्थीर र अराजक रहेको भन्दै संविधानले नचिनेका, जनताले नचिनेका व्यक्तिहरू प्रधानमन्त्री र मन्त्री बनेको बताउनुभयो ।
उहाँले भन्नुभयो– यो रुल अफ ल होइन, यो हुल अफ ल हो । हुल अफ ल मुर्दावाद । हामी कानुनी शासनको पक्षमा छौं ।
पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेन–जी आन्दोलनको नाममा भएको घुसपैठ, तोडफोड र आगजनीका घटनामा संलग्न व्यक्तिहरूलाई अविलम्ब कानुनी कठघरामा उभ्याउनुपर्ने बताउनुभयो ।
मुख्यमन्त्री आचार्यले प्रशासनले कारबाहीमा ढिलाइ गरेको भन्दै ध्यानाकर्षण गराउनुभएको हो ।
उहाँले भन्नुभयो– धैर्यताको बाँध अझै टुटेको छैन । कानुनी शासनमा विश्वास राख्ने हाम्रो मान्यता हो । तर, तोडफोड र आगजनीमा संलग्नहरूलाई अविलम्ब कारबाही गरिएन भने धैर्यताको बाँध टुट्नेछ । धैर्यताको बाँध टुटे जनताले नै कारबाही थाल्नेछन् ।
मुख्यमन्त्री आचार्यले संविधान, राष्ट्रिय स्वाभिमान र स्वाधीनताको पक्षमा लोकतान्त्रिक शक्तिहरू एक ठाउँमा उभिनुपर्ने आवश्यकता पनि औंल्याउनुभयो ।
केन्द्रीय सदस्य तथा अर्घाखाँचीका इन्चार्ज बोमबहादुर विश्वकर्माले देशमा शान्ति, स्थिरता र कानुनी शासनको अभाव रहेको बताउनुभयो । उहाँले भदौ २३ र २४ गते जेन–जी आन्दोलनको नाममा अराजकता फैलाउने काम भएको भन्दै असंवैधानिक सरकारले जनताको अधिकारमा खेलबाड गरिरहेको आरोप लगाउनुभयो ।
विश्वकर्माले भन्नुभयो– निर्वाचन आयोगले फागुन २१ गतेका लागि निर्वाचन मिति घोषणा गरिसकेको छ । हाम्रो पार्टी फेरि उठ्नेछ, फेरि जित्नेछ । तर, शान्ति र सुरक्षाको प्रत्याभूति नहुँदासम्म स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्भव छैन ।
कार्यक्रम नेकपा (एमाले) अर्घाखाँचीका अध्यक्ष पिताम्बर भुसालको अध्यक्षतामा सम्पन्न भएको थियो ।