अहिले हाम्रो पार्टीले विशेष अभियान– मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) सञ्चालन गरिरहेको छ । गत फागुन ५ गतेबाट औपचारिक रूपमा सुरु भएको यो अभियान, पार्टी सुदृढीकरण तथा विस्तार अभियान हो । यो अभियान ७५३ वटै पालिकामा केन्द्रित छ र वडा तहसम्म नै विभिन्न क्रियाकलापहरू सञ्चालन भइरहेका छन् ।
यो अभियानमा स्थायी कमिटीका सदस्यहरूलाई अनुगमनको जिम्मेवारी दिइएको छ । भूगोल, विभाग र फाँटहरूको जिम्मेवारीमा रहेका पोलिटव्यूरो तथा केन्द्रीय कमिटीका सदस्यहरू अभियानमा केन्द्रीय प्रतिनिधिका रूपमा परिचालित हुनुहुन्छ । प्रदेश तथा जिल्ला कमिटीका सदस्यहरूलाई समेत आफू कार्यरत क्षेत्र बाहिर जिम्मेवारी तोकिएको छ । पालिका तहमा केन्द्रीय प्रतिनिधिको नेतृत्वमा प्रदेश कमिटी सदस्य, जिल्ला कमिटी सदस्य र तोकिएका व्यक्तिहरू सम्मिलित टोली निर्माण गरिएको छ ।
यो अभियानमा परिचालित नेताहरूको भिन्न भिन्न जिम्मेवारी तय गरिएको छ । केन्द्रीय प्रतिनिधिहरूलाई आ–आफ्नो कार्यक्षेत्रमा गर्ने निम्न ६ काम तोकिएको छः
१. सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण
२. स्थानीय तहमा समस्याको पहिचान
३. स्थानीय तहमा रहेका आन्तरिक अन्तरबिरोध समाधानमा सहजीकरण र हल नभएका
समस्या सम्बन्धित कमिटीमा पठाउने व्यवस्था
४. राम्रो सम्भावना भएका युवाहरू र अन्य व्यक्तिहरूलाई पार्टीमा सामेल हुन अभिप्रेरणा
५. कमिटी प्रणाली दुरुस्त पार्न सहजीकरण
६. सदस्यहरूको अभिलेख व्यवस्थापनमा सहयोग ।
यो अभियान चैतको अन्त्यसम्ममा सम्पन्न हुनेछ । अभियानले नयाँ सम्भावना भएका व्यक्तिको पहिचान गर्ने र कमिटी प्रणालीमा रहेका समस्यादेखि जनसरोकारका विषयहरूसम्मको पहिचान गर्नेछ ।
२०८० साल बैशाख २ देखि २० गतेभित्र सबै प्रदेश र गैर भौगोलिक क्षेत्रहरूमा उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र सम्बन्धित क्षेत्रमा खटिनुभएका केन्द्रीय प्रतिनिधिसहितको टीमले समीक्षा प्रतिवेदन तयार गर्नेछ ।
यही प्रतिवेदनको आधारमा आगामी केन्द्रीय कमिटीको बैठकले बार्षिक कार्ययोजना बनाउने छ ।
त्यसैले यो मिसन हाम्रो पार्टी जीवनमा साह्रै महत्वपूर्ण भएकाले सक्रियताका साथ सङ्लग्न रहन सबै कमरेडहरूमा मेरो आग्रह छ ।