detail-img

मिसन ग्रासरुटबाट पार्टी थप सुदृढ बन्ने विश्वास

पाल्पा । नेकपा (एमाले) स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले सत्ता साझेदार दलहरूबीच गत पुस १० गते भएको भद्र सहमति अनुसार रास्ट्रपति बन्ने बताउनुभएको छ । 
पार्टीको मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान)  अन्तर्गत लुम्विनी प्रदेशमा खटिनुभएका नेता भट्टराईले प्रेस चौतारी नेपाल पाल्पाद्वारा बुधबार तानसेनमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा राष्ट्रपति नेकपा (एमाले) ले उम्मेदवार बनाउने व्यक्ति हुनेमा शङ्का नरहेको स्पष्ट गर्नुभयो । 
नेता भट्टराईले सहमतिमै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्नुभएको हो र राष्ट्रपतिमा पनि भद्र सहमति नतोडिने विश्वास एमालेको रहेको वताउनुभयो । 
मुलुकमा राजनीतिक स्थिरताका लागि सत्ता साझेदार दलबीचको सहमतिलाई कार्यान्वयन गर्नुको विकल्प नभएको भनाई उहाँले राख्नुभयो । 
यसैबीच नेकपा (एमाले) को मिसन ग्रासरुट कार्यक्रम अन्तर्गत पाल्पामा मङ्गलबार (२०७९ फागुन ९ गते) अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
नेकपा (एमाले) पाल्पा जिल्ला कमिटीद्वारा आयोजित अभिमुखीकरणमा नेकपा (एमाले)  स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले प्रदेश, जिल्ला र पालिकाका अगुवा कार्यकर्तालाई प्रशिक्षण दिँदै पार्टीलाई सुदढ बनाउन, जनता र गाउँतहका कार्यकर्तासम्म पार्टीका धारणा पुर्याउन मिसन ग्रासरुट सुरू गरिएको बताउनुभयो ।
अभिमुखीकरण कार्यक्रममा पार्टीका पोलिटव्यूरो सदस्य खिमलाल भट्टराईले पार्टीभित्र सांगठानिक अराजकता र दक्षिणपन्थी अवसरवाद देखापरेकाले त्यसको अन्त्यका लागि यो अभियान सञ्चालन गरिएको र यसबाट पार्टी सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो । अर्का पोलिटव्यूरो सदस्य गोकुल घर्तीले पार्टी पङत्तीलाई वैचारिक र सैद्धान्तिक रूपमा सक्षम बनाउन अभियान सार्थक हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा केन्द्रीय सदस्य सावित्री देवी अर्याल,केन्द्रीय अनुशासन आयोगका उपाध्यक्ष नेत्र पन्थी, नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कँडेल, केन्द्रीय प्रतिनिधि गणेश खनाल लगायतले प्रशिक्षण दिनुभएको थियो ।