detail-img

‘पार्टीका सही नीति जनतामा पुर्याउनु पार्टी प्रचारको प्रमुख काम’ 

२४ बैशाख (२०८१), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रचार क्षेत्रको काम पार्टीले आफ्नो गन्तव्य बनाएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा केन्द्रित हुनुपर्ने बताउनुभएको छ । 
पार्टीको प्रचार तथा प्रकाशन विभागको १२औं बैठकलाई आज पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले उक्त कुरा बताउनुभएको हो । 
देशको विकास, सुशासन र देशभक्तिलाई बलियो बनाउने उद्देश्यमा केन्द्रित रहेर पार्टीका सही नीति र  सूचना जनतामा पुर्याउनु पार्टीको प्रचार र सञ्चार क्षेत्रको काम हुनुपर्ने उहाँले बताउनुभयो । 
अध्यक्ष ओलीले पार्टीका नेताकार्यकर्ता सबैका लागि सञ्चार साक्षरताको जरूरी रहेकोमा जोड दिँदै आधुनिक सञ्चारका प्रविधिसँग अभ्यस्त हुन नसक्दा एमालेका कयौं नेताकार्यकर्ता समयसँगै अद्यावधिक हुन नसकेको बताउनुभयो ।
उहाँले सञ्चारका परम्परागत माध्यमका अतिरिक्त आधुनिक प्रविधिसँग एमाले नेताकार्यकर्ताले परिचित हुनुपर्ने बताउनुभयो । 
अध्यक्ष ओलीले भन्नुभयो– सञ्चारमाध्यमहरूबाट नै पार्टीका सही नीतिहरू जनतामा पुर्याउने हो । यसका लागि पार्टीको प्रचार विभाग र सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका हुन्छ, हामीले सञ्चारका परम्परागत माध्यममा मात्र भर परेर हुँदैन । नेताकार्यकर्ता सबैले आधुनिक सञ्चारका माध्यमसँग अभ्यस्त हुनु पर्दछ ।
अध्यक्ष ओलीले समाजमा विपक्षीहरूले फैलाएको भ्रम चिर्नका लागि नयाँ प्रविधि धेरै उपयोगी हुने बताउनुभयो । 
अध्यक्ष ओलीले पार्टीका कार्यकर्ताले सामाजिक सञ्जालबाट वा सञ्चार माध्यमबाट नेताको बदख्वार्इं गर्ने, नकारात्मक प्रचार गर्ने कुरा क्षम्य नहुने पनि बताउनुभयो । 
अध्यक्ष ओलीले सञ्चारले जनतालाई सूचना र शिक्षा दिने भएकाले जनताले यसै माध्यमबाट आफूलाई देशभक्त र आफू सार्वभौम देशको नागरिकको रूपमा विकास गर्ने बताउनुभयो । 
बैठकमा पार्टीका उपाध्यक्षहरू युवराज ज्ञवाली, विष्णुप्रसाद पौडेल, उपमहासचिव प्रदीप ज्ञवाली, स्थायी कमिटी सदस्य रघुजी पन्त, केन्द्रीय सल्लाहकार परिषद् सदस्य युवराज कार्की अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । उहाँहरूले पार्टीको सञ्चार नीति तथा प्रचार कामका बारेमा सुझाव दिनुभएको थियो ।  
पार्टीका स्थायी कमिटी सदस्य, प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमको अध्यक्षतामा बसेको बैठकमा विगतका कामको समीक्षा गर्नुका साथै आगामी कार्ययोजना निर्माणका लागि कार्यदल गठन लगायत विभिन्न निर्णय गरेको छ । बैठकमा प्रदेशमा प्रचार कामको संयोजकको जिम्मेवारीमा रहनुभएका केन्द्रीय कमिटीका सदस्यहरू, प्रदेश कमिटीका प्रचार विभाग प्रमुखहरूको पनि उपस्थिति रहेको थियो ।