detail-img

सांसदहरूबाटै सरकार परिवर्तनको प्रतिरोध हुन थाल्नु सकारात्मकः महासचिव पोखरेल

२५ बैशाख (२०८१), ताप्लेजुङ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान सरकार परिवर्तन गर्न अनेक  षडयन्त्रहरू भइरहेको र त्यसको प्रतिरोधमा सांसदहरू नै उत्रिएर पहल लिन थालेको बताउनुभएको छ । 
आज ताप्लेजुङमा प्रेस चौतारी, नेपालले गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सरकार ढाल्न भएका प्रयासलाई सांसदहरूले नै असफल पार्न सक्रिय भएको स्पष्ट गर्नुभयो ।
जनता समाजवादी पार्टीका सांसदहरूले संगठित रूपमै प्रतिरोधको प्रयास गरिसकेको उदाहरण प्रस्तुत गर्दै महासचिव पोखरेलले त्यो क्रम अझै बढ्न सक्ने आफ्नो बुझाई रहेको बताउनुभयो । 
जसपाका सांसदहरूको विद्रोह विधिसम्मत र स्वाभाविक भएको र यो  सरकार र वर्तमान सत्ता गठबन्धन जोगाउन लिएको सकारात्मक पहल भएको बताउँदै महासचिव पोखरेलले भन्नुभयो– लोकतन्त्रमा दलहरूभित्र कुनै समस्या भयो भने विधिसम्मत ढङ्गबाटै अघि बढ्नुपर्छ । त्यसकारण अहिले जे भयो, त्यो कानूनीरूपमा प्राप्त अधिकारको उपयोग गरेर गरिएको कार्य हो ।
अहिले एमालेले भागबण्डाको राजनीतिभन्दा पनि तत्काललाई स्थायी सरकार र मिसन–०८४ मा ध्यान लगाएको स्पष्ट गर्दै महासचिव पोखरेलले भन्नुभयो– हामीले भागबण्डाको राजनीतिलाई महत्वपूर्ण विषय ठानेका छैनौँ । हामी मिसन ०८४ मा छौँ । त्यहीकारण अहिले हामी सरकारमा महत्वपूर्ण मन्त्रालय चाहिन्छ भन्ने भन्दा पनि सरकारलाई निरन्तर चलाउने हिसाबले अघि बढेका छौँ ।