detail-img

आउँदो निर्वाचनमा पार्टीले बहुमत ल्याउने गरी क्रियाशील रहन कार्यकर्तालाई निर्देशन

सुर्खेत । नेकपा (एमाले) ले सुरु गरेको मिसन ग्रासरूट अन्तर्गत सुर्खेतको पञ्चपुरी नगरपालिकाको नगर कमिटीको १४औं बैठक सम्पन्न भएको छ । 
बैठक पार्टी स्थायी कमिटी सदस्य शिवमाया तुम्बाहाम्फेको प्रमुख आतिथ्य र नगर कमिटी अध्यक्ष धनबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको हो ।
बैठकमा पालिकाभित्र रहेका ११ वटा वडाका वडा कमिटी अध्यक्षहरूले वडामा भएका पार्टीका विभिन्न गतिविधि, संगठित सदस्य, नवीकरणको सङ्ख्या, नवीकरण हुन बाँकी, पार्टी परित्याग गर्नेहरूको सङ्ख्याका बारेमा जानकारी दिनुभएको थियो । 
यस्तै, मिसन ग्रासरूटका लागि जिल्लाबाट खटिनुभएका  प्रतिनिधि, प्रदेश प्रतिनिधिहरूले आफ्नो जिम्मेवारी रहेका वडामा भएका पार्टीका गतिविधिहरूको बारेमा रिपोर्टिङ गर्नुभएको थियो ।
बैठकमा बोल्दै पार्टीका स्थायी कमिटी सदस्य शिवमाया तुम्बाहाम्फेले पार्टी सदस्यता नवीकरण मात्रै नभई अब आउने २०८४ सालको निर्वाचनमा राजनीतिक स्थायित्वका लागि पार्टीले  बहुमत ल्याउनुपर्ने भएकाले सबै आ–आफ्नो ठाउँबाट निरन्तर लाग्नुपर्ने बताउनुभयो । 
उहाँले मिसन ग्रासरूटमा पालिकाको मेहनत धेरै भएको तर, नतिजा कम आएकाले अब नतिजा पनि बढाउनुपर्ने धारणा राख्नुभयो ।
यस्तै, नेकपा (एमाले) कर्णाली प्रदेश अध्यक्ष तथा मिसन ग्रसरूट अभियानका केन्द्रीय प्रतिनिधि विनोदकुमार शाहले वडा कमिटी अध्यक्ष, जिल्ला र प्रदेश प्रतिनिधिले राखेका रिपोर्ट सन्तोषजनक भएको बताउनुभयो । उहाँले सदस्यता नवीकरण गर्न बाँकी रहेका सदस्यहरूको यही चैत २४ गतेभित्र गरिसक्न सबै वडाहरूलाई निर्देशन दिनुभयो ।