detail-img

तराई/मधेसमा विकासको आरम्भ एमाले सरकारका पालामाः अध्यक्ष ओली 

वीरगन्ज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तराई मधेसमा विकासको सुुरुवात एमाले नेतृत्वको सरकारका पालामा भएको बताउनुभएको छ ।
अखिल नेपाल पिछडावर्ग महासंघको प्रथम महाधिवेशनको उद्घाटन समारोहलाई आज वीरगन्जमा सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो ।


अध्यक्ष ओलीले नेकपा (एमाले) को सरकारले साढे तीन वर्षको कार्यकालमा तराई/मधेसमा हुलाकी राजमार्ग निर्माणको कामलाई अगाडि बढाएको, मधेसका एक लाख २२ हजार हेक्टर जग्गा सिञ्चित गर्ने सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना सुरु गरी अहिले धमाधम काम भइरहेको, जनता आवास कार्यक्रम ल्याएर हजारौं गरिब तथा दलित समुदायका जनतालाई पक्की घर बनाएर हस्तान्तरण गरेको वताउनुभयो ।  
उहाँले एमालेलाई मधेस प्रदेशमा निषेध गर्ने नारा चलिरहेकै बेला मधेसको विकासका लागि एमालेले धेरै योजना ल्याएको वताउँदै भन्नुभयो– वीरगन्ज, जनकपुर जस्ता ठूला सहरमा चार र छ लेनको कालोपत्रे सडक पनि म प्रधानमन्त्री भएकै बेला निर्माण गरिएको हो । अध्यक्ष ओलीले पिछडावर्ग महासंघले अरु कुनै जाति वा समुदायको अधिकार खोस्नका लागि नभई आफनो अधिकार र पहिचानका लागि सङ्घर्ष गरिरहेको बताउनुभयो । उहाँले सामाजिक कुरीति, विकृति हटाउनका लागि सामाजिक आन्दोलन चलाउन महासंघलाई सुझाव दिँदै त्यसका लागि महासंघलाई पार्टीको साथ र सहयोग रहने बताउनुभयो । 
कार्यक्रममा पार्टीका सचिव तथा मधेस प्रदेशका इन्चार्ज रघुवीर महासेठले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो ।