detail-img

एमाले उम्मेदवारहरूलाई विजयी बनाउन अध्यक्ष ओलीको आग्रह

बारा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशको विकास एमाले बाहेक अन्य कुनै पनि दलको नेतृत्वको सरकारले गर्न नसक्ने बताउनुभएको छ । 
बाराको महागढीमाई नगरपालिकास्थित गढीमाई मन्दिर परिसरमा आज आयोजित क्षेत्रीय कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अन्य दलसँग देश विकासको दृष्टिकोण र योजना नै नभएको वताउनुभयो । 
उहाँले नेकपा (एमाले) को एउटै उद्देश्य देशमा गरिबीको अन्त्य गर्नु रहेको बताउनुभयो । देशलाई सही ढङ्गले निकास दिन र जनतालाई न्याय दिन एमाले बलियो हुन अनिवार्य रहेको उहाँले चर्चा गर्नुभयो । 
नेकपा (एमाले) ले जनताको पक्षमा काम गरेकै कारण घेराबन्दी गरिएको बताउँदै अध्यक्ष ओलीले एमाले बलियो शक्ति बनेर देशको समस्या समाधान गर्ने बताउनुभयो । 
अध्यक्ष ओलीले बारा निर्वाचन क्षेत्र नं. २, चितवन निर्वाचन क्षेत्र नं. २ र तनहुँ निर्वाचन क्षेत्र नं. १ को उप निर्वाचनमा नेकपा (एमाले) का उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो । 
देशलाई विग्रन नदिन, ओरालो लाग्न नदिन एमालेलाई जिताउन आवश्यक रहेको बताउँदै अध्यक्ष ओलीले उपनिर्वाचनमा सहयोग गर्न सबैमा आव्हान गर्नुभयो । 
अध्यक्ष ओलीले बारा निर्वाचन क्षेत्र नं. २ मा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलको विजय सुनिश्चित रहेको वताउनुभयो ।


अध्यक्ष ओलीले भन्नुभयो– नेकपा (एमाले) को विजय सुनिश्चित भइसकेको देखेको छु । यहाँ अनेक प्रकारका भ्रमपूर्ण विषाक्त नाराहरू लाग्न सक्छन् । जातीवादी नारा लाग्न सक्छन् । तपाईंहरू सतर्क र सचेत रहनुहोला । वर्गीय  प्रेम मात्रै सही र साँचो हुन्छ । जात जात भनेर गरिने प्रेम झुटो हुन्छ । 
नेपाली नागरिकले जन्मसिद्ध नागरिकता पाउनुपर्ने चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले नागरिकतामा दलहरूले राजनीति गरिरहेको बताउनुभयो । 
अठार वर्षसम्म शान्ति प्रक्रिया टुङ्गो लगाउन वास्ता नगर्नेहरूले अहिले रातारात यस विषयलाई उठान गरेको वताउँदै शान्ति प्रक्रिया टुङ्याउँदा पीडितले न्याय पाउनुपर्नेमा जोड दिनुभयो । 
भेलामा बारा निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा नेकपा (एमाले) का उम्मेदवार पुरुषोत्तम पौडेलले जसपाले यस क्षेत्रबाट दुईपटक जिते पनि यहाँका जनता दुख, पीडा कायमै रहेको वताउँदै आफू यस क्षेत्रका जनताले सहारा बन्न चाहेको वताउनुभयो । उहाँले भन्नुभयो– यहाँका जनताको पीडा अन्त्य गर्ने जिम्मा मेरो हो । कार्यक्रमा जसपा, माओवादी केन्द्र र नेपाली कांग्रेस परित्याग गरी तीन दर्जन कार्यकर्ता तथा समर्थक नेकपा (एमाले) मा प्रबेश गरेका थिए । पार्टीका बारा जिल्ला अध्यक्ष बिनोद साहको सभापतित्वमा सम्पन्न भेलाले पोलिटव्यूरो सदस्य  अच्युत मैनालीको संयोजकत्वमा ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

कार्यक्रममा पार्टीका सचिव रघुवीर महासेठ, पोलिटव्यूरो सदस्यहरू अच्यूत मैनाली, ज्वालाकुमारी साह, सुमन प्याकुरेल लगायत नेताहरूको उपस्थिति रहेको थियो ।