detail-img

सच्चा कम्युनिष्ट पार्टी एमालेमात्रः गुरुङ

कालिकोट । नेकपा (एमाले) का उपमहासचिव पृथ्वी सुब्बा गुरुङले नेपालमा एमालेबाहेक अरु कम्युनिष्ट पार्टी नरहेको बताउनुभएको छ । 
कालिकोटको तिलागुफा नगरपालिकामा आज आयोजित जनभेलालाई सम्बोधन गर्दै उहाँले कम्युनिष्टको आवरणमा अरु धेरै पार्टी खडा भए पनि नेपालमा सच्चा कम्युनिष्ट पार्टी एमालेमात्रै भएको बताउनुभयो । 
कालिकोटका जनता जङ्गलको बाघजस्तो एमालेभन्दा घरको बिरालोजस्तो माओवादी र अन्य पार्टीहरू बलियो हुन्छ भन्ने भ्रमबाट मुक्त हुनुपर्ने र एमालेलाई चिन्नुपर्ने वताउँदैै उहाँले अब माओवादी केन्द्र सकिएको र त्यसको भर नपर्न आग्रह गर्नुभयो । 
कार्यक्रममा कांग्रेस, माओवादी, नेपाल मजदुर किसान पार्टी र राप्रपालगायत पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नुभएका दर्जनौं नेता तथा कार्यकर्ताहरूलाई उपमहासचिव गुरुङले पार्टीमा स्वागत गर्नुभयो । कार्यक्रममा नेकपा (एमाले) स्थायी कमिटी सदस्यद्वय गोरख बहादुर बोगटी र डा. शिवमाया तुम्बाहाम्फे लगायतका नेताहरूले सम्बोधन गर्नुभएको थियो ।