detail-img

महिलाको अधिकार र सम्मानका लागि काम गर्ने एमालेका उम्मेदवारलाई विजयी बनाउन आग्रह  

चितवन । नेकपा (एमाले) की सचिव पद्मा अर्यालले महिलालाई माथि उठाउने, सम्मान गर्ने एकमात्र पार्टी नेकपा (एमाले) भएको बताउँदै महिला दिदीबहिनीहरूलाई यही बैशाख १० गते हुने उपनिर्वाचनमा सूर्यचिन्हमा मतदान गरी एमालेका उम्मेदवारलाई विजयी बनाउन आग्रह गर्नुभएको छ ।  
प्रतिनिधि सभा सदस्यका लागि चितवन–२ मा हुन गइरहेको उपनिर्वाचनका सन्दर्भमा अखिल नेपाल महिला संघ (अनेमसंघ) चुनाव प्रचार–प्रसार समिति चितवनले आज बिहान नारायणगढको पोखरा बसपार्कमा आयोजना गरेको कोणसभामा सचिव अर्यालले उक्त आग्रह गर्नुभएको हो । 
‘महिलालाई नेतृत्व दिनुपर्छ भनेर बहस र पैरवी गर्दै बोलेको कुरा प्रमाणित गरेर देखाउने पार्टी एमाले हो’ उहाँले भन्नुभयो– ‘महिला राष्ट्रपति, महिलानै पार्टीको जिल्ला अध्यक्ष बनाउने पार्टी पनि एमाले नै हो, त्यसैले हामी बोल्नेमात्रै होइन, गरेर देखाउँछौँ ।’ एमाले सपना बाँड्ने पार्टी नभई बोलेका कुराहरू पूरा गर्ने पार्टी भएको सचिव अर्यालले बताउनुभयो । 
महिलालाई माया गर्ने र महिलाको पक्षमा बोल्ने तथा कानून बनाउने पार्टी एमाले भएको उहाँको भनाइ छ । ‘नारी शक्ति प्रदर्शन गर्न र्याली गर्नु राम्रो हो, महिलाले चाहँदा सकारात्मक रिजल्ट दिन सक्छन्’ अर्यालले भन्नुभयो– ‘यसपटक युवा तथा चितवनकै माटोमा भिजेका रामप्रसाद न्यौपानेलाई सूर्यमा भोट हालेर जिताएर पठाउन महिला दिदीबहिनीहरुसँग आग्रह गर्न चाहन्छु ।’


प्रतिनिधि सभा सदस्यका लागि नेकपा (एमाले) बाट चितवन–२ का उम्मेदवार रामप्रसाद न्यौपानेले जनताको सेवक बनेर काम गर्ने बताउनुभयो । न्यौपानेले भन्नुभयोे– ‘म निर्वाचित भएर गएपछि तपाईंहरूको सेवक बनेर काम गर्छु ।’ 
देश र यहाँ (चितवन) मा  किसान, व्यवसायी, महिला, युवा सबैका समस्या रहेको उल्लेख गर्दै न्यौपानेले सबै समस्याको समाधानका लागि सरकारलाई दबाब दिने बताउनुभयो । ‘यहाँ धेरै समस्या छन्, सबै समस्या एकैपटक समाधान हुँदैनन्’ न्यौपानेले भन्नुभयो– ‘प्राथमिकताको आधारमा समस्या समाधानका लागि मेरो प्रयास रहन्छ ।’ उहाँले अहिलेसम्म आफूले कुनै पनि गलत काम नगरेको र अबका दिनमा पनि गलत नगर्ने प्रतिबद्धता जनाउनुभयो । 
भरतपुरलाई व्यावसायिक केन्द्रको रूपमा विकास गर्दै इच्छाकामनालाई पर्यटकीय क्षेत्र तथा कालिका नगरपालिकालाई औद्योगिक क्षेत्रको रूपमा विकास गर्ने आफ्नो योजना रहेको न्यौपानेको भनाइ छ । भरतपुर देशकै केन्द्रमा रहेको र यहाँ स्वास्थ्य, शिक्षासँगै व्यापारको राम्रो सम्भावना भएकाले त्यसतर्फ आफ्नो ध्यान केन्द्रित हुने न्यौपानेले बताउनुभयो । चितवनको विकास निर्माणमा यहीँका युवाको सहभागिता गराउने गरी आफूले योजना तयार पार्ने प्रतिबद्धता न्यौपानेले व्यक्त गर्नुभयो । 
सुन्दर चितवन, समृद्ध चितवन बनाउन महिला शक्तिको महत्वपूर्ण भूमिका हुने भन्दै आफूहरूले महिलाको सम्मान गर्दै आएको न्यौपानेले बताउनुभयो । ‘नारी शक्तिका विरुद्ध अनर्गल प्रचार गर्ने र तथानाम गाली गर्ने प्रवृत्तिलाई हामी सहन गर्न सक्दैनौँ, त्यस्तो गर्नु भनेको समग्र नारीको अपमान गर्नु हो’ उहाँले भन्नुभयोे । 
कोणसभाको अध्यक्षता नेकपा (एमाले) की केन्द्रीय सदस्य शिवकुमारी गोतामेले गर्नुभएको थियो । कोणसभा अघि अनेमसंघले नारायणगढको लायन्स चोकबाट वृहत र्याली निकालेको थियो । महिलाहरूको अगुवाईमा निस्किएको र्याली पुलचोक, मेनरोड, लिलाचोक हुँदै पोखरा बसपार्कमा पुगेर सभामा परिणत भएको थियो ।