detail-img

मिसन ग्रासरुट प्रतिवेदनबाट पार्टीको नीति निर्माणमा सहयोग पुग्ने विश्वास 

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (एमाले) लुम्विनी प्रदेश संगठन कमिटीको मिसन ग्रासरुटको दुई दिने समीक्षा बैठक पुष्पलाल स्मृति भवन बुटवलमा बुधबारदेखि  सुरु भएको छ  ।
प्रदेश संगठन कमिटीका अध्यक्ष राधाकृष्ण कँडेलको अध्यक्षतामा सुरु भएको बैठकमा पार्टी महासचिव शंकर पोख्रेलले यो अभियानबाट पार्टीले आगामी दिनमा लिने नीति तय गर्न सहयोग गर्ने भएकाले जिल्लाहरूले गर्ने रिपोर्टिङमा सबै पालिकाको रिपोर्ट अनिवार्य रहेको बताउनुभयो । 
उहाँले प्रदेशका १०९ वटै पालिकाको विवरण, केन्द्र, प्रदेश, जिल्ला र पालिकाबाट खटिनेहरूको विवरण र विस्तृतरूपमा पार्टी सदस्यताको अभिलेख आउनुपर्ने बताउनुभयो । 
अभियानका क्रममा कार्यकर्ताले उठाएका समस्याको समाधानमा प्रतिनिधि कमरेडहरूले के प्रयास गर्नुभयो र पार्टी केन्द्रलाई तपाईंहरूको के सिफारिश छ, प्रतिवेदनमा आउनुपर्ने बताउँदै त्यसैलाई आधार मानेर पार्टी केन्द्रले कार्यक्रम बनाउने जानकारी महासचिव पोख्रेलले गराउनुभयो । 
अभियानबाट पार्टीका आन्तरिक विषय मात्र हैन, जनसरोकारका विषय आउनुपर्छ, उहाँको भनाइ थियो ।


पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले मिसन ग्रासरुट सुरु गरेपछि विभिन्न जनसंगठनहरूको महाधिवेशन, स्ववियु निर्वाचन र उपनिर्वाचनजस्ता केही राष्ट्रिय अभियानमा पार्टी सहभागी भएको प्रसङ्ग उल्लेख गर्दै पार्टीले ठीक समयमा यो अभियान सुरु गरेको र यसले विपक्षीहरूसमेत तरङ्गित भएको वताउनुभयो ।
फागुन ५ गतेबाट सुरु भएको दुई महिने अभियानमा सात भौगोलिक र दुई गैरभौगोलिक गरी नौ वटा प्रदेशमा मिसन ग्रासरुटले काम गरेको जानकारी गराउँदै यसले रोग पहिचान गर्न सघाएको भनाइ उहाँले राख्नुभयो ।
मिसन ग्रासरुटबाट सङ्ख्यात्मक विवरण मात्र आउने छैन, कमिटीहरू विधान अनुसार बने नबनेको, बैठकमा निर्णय प्रक्रिया कस्तो छ ? पार्टी बैठकमा एजेण्डामा छलफल हुन्छ कि हुन्न ? कमिटीमा बस्नेहरूले जिम्मेवारी पूरा गर्छन् कि गर्दैनन्, अन्तरविरोधको अवस्था कस्तो छ, संसदीय फाँटमा गएका नगएका बीचको अन्तरविरोध के हो, विगतदेखि पार्टीमा रहेकाहरूसँंगको सम्बन्ध कस्तो छ र जनसंगठनको अवस्था कस्तो छ भन्नेबारेमा पनि यो अभियानले स्पष्ट गर्नेछ, उपहासचिव ज्ञवालीले भन्नुभयो ।   
यो पटकको निर्वाचनमा हामी के कारणले बहुमतमा पुग्न सकेनौं ? लुम्विनी प्रदेश र कतिपय क्षेत्र मुलुककै लागि नमुना बने पनि अपेक्षित परिणाम किन आएन भन्ने कुराले अबका दिनमा गर्नुपर्ने कामको विषय निर्धारण गर्न सघाउ पुग्नेछ, उपमहासचिव ज्ञवालीको भनाइ थियो । 
पहिलो दिन  कपिलवस्तु, अर्घाखाँची, पाल्पा, गुल्मी, दाङ जिल्लाको प्रतिवेदन प्रस्तुत भएको छ । पार्टीका जिल्ला अध्यक्षहरूले प्रतिवेदन प्रस्तुत गरेपछि सो जिल्लामा केन्द्रबाट खटिएका प्रतिनिधिहरूले पनि तत्तत् जिल्लाको अवस्था विष्लेषण गर्नुभएको थियो ।
यसअघि पार्टी केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले बैठकको आवश्यकता र औचित्यबारे उल्लेख गर्नुका साथै प्रदेश उपाध्यक्ष भोजप्रसाद श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभयो ।
बैठकमा स्थायी कमिटी सदस्यहरु भीम आचार्य,  भानुभक्त ढकाल र राजन भट्टराई तथा पोलिटव्यूरो सदस्यहरू लिला गिरी, खिमलाल भट्टराई, दधिराम न्यौपाने, सूर्य थापा तथा यस प्रदेशमा रहनुभएका केन्द्रीय सदस्यहरू, जिल्ला अध्यक्षहरू, प्रदेश कमिटीका पदाधिकारी तथा सचिवालय सदस्यहरू सहभागी रहेको प्रदेश प्रचार विभाग प्रमुख डिआर घिमिरेले जानकारी दिनुभयो ।