detail-img

उपनिर्वाचनमा एमाले उम्मेदवारलाई विजयी बनाई विकास अभियानमा साथ दिन अध्यक्ष ओलीको आग्रह 

बारा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशको विकास एमाले नेतृत्वको सरकारबाट मात्र सम्भव रहेको बताउनुभएको छ । प्रतिनिधि सभा सदस्यका लागि बारा निर्वाचन क्षेत्र २ मा यही बैशाख १० गते हुन गइरहेको उपनिर्वाचनका प्रचार प्रसारको अन्तिम दिन आज बाराको पचरौतामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले दुई दशकमा नभएको काम आफ्नो नेतृत्वको सरकारले तीन वर्षमा गरेको वताउनुभयो ।  
अध्यक्ष ओलीले वर्तमान सरकार जति लामो समय टिक्यो त्यति देशको आर्थिक अवस्था कमजोर हुने वताउनुभयो । 
उहाँले बारा निर्वाचन क्षेत्र २ मा नेकपा (एमाले) का उम्मेदवार पुरुषोत्तम पौडेललाई विजयी गराउन र विकासको अभियानमा साथ दिन मतदातासँग आग्रह गर्नुभयो ।
अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र माधव नेपाल बाराका जनतालाई अल्मल्याउन आएको र उहाँहरूले सरकारमा बसेर आफन्त र नातागोताको हित बाहेक बाराका जनताका लागि केही नगर्ने वताउनुभयो ।


उहाँले सरकारमा बसेपछि काम गर्नुपर्ने भन्दै प्रधानमन्त्री प्रचण्ड र सत्ता गठबन्धनका नेताहरूलाई बारामा विकास गरेर देखाउन चुनौती दिनुभयो । 
अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले तराई मधेशका जिल्लाहरूमा सिंचाइ सुविधाका लागि सुनकोशी मरिण डाइभर्सन आयोजना सुरु गरेको र निर्माणाधीन यस आयोजनाबाट बारा, रौतहट, महोत्तरी र केही अंश धनुषा समेत गरेर १ लाख ८५ हजार विघा जमिन सिंचाइ हुने वताउनुभयो । 
नेकपा (एमाले) ले सिंगो देशमा विकासका काम अगाडि बढाउनुका साथै मधेशमा विकास र समृद्धि दिएको वताउँदै अध्यक्ष ओलीले भन्नुभयो– म मधेशमा आएर जनतालाई भन्न सक्छु, जनता आवास कार्यक्रम अन्तर्गत हामीले घर बनाएर जनतालाई दिएका छौं, हुलाकी राजमार्ग बनायौं, तीनबर्षमा हजारौं पुल बनायौं, सडक बनायौं तर प्रधानमन्त्री प्रचण्ड, पूर्व प्रधानमन्त्री देउवा र माधवले आफ्नो कार्यकालमा एउटा पनि राम्रो काम नगरेका कारण यो काम गरेँ भनेर वताउन सक्ने अवस्था छैन । 
उहाँले बारा निर्वाचन क्षेत्र नं.२ मा वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्य उपचुनावमा एमाले उम्मेदवार पुरुषोत्तम पौडेलले जित्नुहुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा पार्टीका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे,  सचिव रघुवीर महासेठ, पोलिटव्यूरो तथा केन्द्रीय कमिटीका नेताहरूको अतिथिका रूपमा उपस्थिति रहेको थियो ।