detail-img

चौध जना कम्युनिष्ट योद्धा सम्मानित 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको ७५औं स्थापना दिवसका अवसरमा नेकपा (एमाले) ले नेपालको कम्युनिष्ट आन्दोलनमा अमूल्य योगदान गर्नुभएका १४ जनालाई कम्युनिष्ट योद्धाका रूपमा सम्मान गरेको छ । 
नेकपाको ७५औं स्थापना दिवसका अवसरमा पार्टीद्वारा तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासल, ललितपुरमा आज आयोजित ‘नेकपा स्थापनाको हिरक महोत्सव २०८०’ विशेष कार्यक्रममा उहाँहरूलाई सम्मान गरिएको हो । 
अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनमा योगदान गर्नुभएका १४ जना कमरेडहरूलाई कम्युुनिष्ट योद्धाका रूपमा सम्मान गर्नुभयो ।  


सम्मानित हुनेहरूमा कृष्णा अधिकारी (स्याङ्जा), छविलाल आचार्य (चितवन), जीवन राई (कैलाली), टेकबहादुर राई (मोरङ), डिल्लीराज भट्ट (कैलाली), दलबहादुर श्रेष्ठ (काभ्रे), दलु छायाँ (सुनसरी), निरसन पासमान (धनुषा), बालकृष्ण बिसी (सुर्खेत), बालाराम शर्मा (सुर्खेत), मोहनलाल शर्मा (बागलुङ), लिलामणि ढुङ्गाना (अर्घाखाँची), शिवदयाल विश्वकर्मा (सिरहा) र हरिप्रसाद ज्ञवाली (गुल्मी) हुनुहुन्छ ।


उहाँहरूलाई प्रदान गरिएको सम्मान पत्रमा मुलुकमा सामाजिक जागरण, मानव अधिकार प्रबद्र्धन र राजनीतिक परिवर्तनमा पुर्याउनुभएको योगदान अतुलनीय रहेको र नेकपाको ७५औं स्थापना दिवसका अवसरमा अभिनन्दन गर्न पाउँदा पार्टी गौरवान्वित भएको उल्लेख गरिएको छ । 
सम्मानपत्रमा भनिएको छ– ‘मुलुकमा सामाजिक जागरण, मानव अधिकार प्रवद्र्धन र राजनीतिक परिवर्तनमा तपाईंले पु¥याउनुभएको योगदान अतुलनीय छ । तपाईंले सामाजिक परिवर्तन र कम्युनिष्ट आन्दोलनको यात्रामा अनवरतरूपमा निर्वाह गर्नुभएको भूमिकाप्रति नेकपा (एमाले) उच्च सम्मान र कदर गर्दछ । राजनीतिक परिवर्तनका लागि क्रियाशील रहँदा भोग्नुपरेका तमाम कठिनाइ र चुनौतीबाट विचलित नभई नेपालको कम्युनिष्ट आन्दोलनमा निरन्तर सक्रिय तपाईंलाई नेपाल कम्युनिस्ट पार्टीको ७५औँ स्थापना दिवसका अवसरमा कम्युनिष्ट योद्धाका रूपमा अभिनन्दन गर्न पाउँदा हामी गौरवान्वित भएका छौँ । तपाईंबाट सामाजिक परिवर्तनको यात्रामा थप योगदान हुने विश्वाससहित सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दछौँ ।’