detail-img

कम्युनिष्ट आन्दोलनका उपलब्धि अत्यन्त गौरवपूर्णः अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालको कम्युनिष्ट आन्दोलनबाट प्राप्त उपलब्धिहरू अत्यन्त गौरवपूर्ण रहेको वताउनुभएको छ । 
नेपाल कम्युनिष्ट पार्टीको ७५औं स्थापना दिवसका अवसरमा पार्टीद्वारा आज (२०७९ बैशाख ९ गते) तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासल, ललितपुरमा आयोजित ‘नेकपा स्थापनाको हिरक महोत्सव २०८०’ विशेष कार्यक्रममा अध्यक्ष ओलीले कम्युुनिष्ट आन्दोलनका उपलब्धिहरू विभिन्न कोणबाट अत्यन्त गौरव गर्न लायक रहेको वताउनुभयो । 
अध्यक्ष ओलीले कम्युनिष्ट आन्दोलनले नेपालको राजनीतिक इतिहास, समाज परिवर्तनमा वैचारिक हिसावले गरेको मार्गदर्शन, सामाजिक परिवर्तन लगायत सबै पक्षमा असाधारण कीर्तिमान कायम गरेको वताउनुभयोे । 
नेपालका सम्पूर्ण सही, अग्रगामी नीति निर्माण गर्ने पार्टी नेकपा (एमाले) भएको वताउँदै अध्यक्ष ओलीले लोकतान्त्रिक आन्दोलन, राष्ट्रिय हित लगायत सैद्धान्तिक, नीतिगत, कार्यक्रमिक हिसावले कम्युनिष्ट आन्दोलनको इतिहास गौरवपूर्ण छ भन्नुभयो । 
अध्यक्ष ओलीले नेकपा (एमाले) ले विगत दिनहरूमा असाधारण काम गरेको र आगामी दिनमा अरु असाधारण काम गर्ने छ भन्नुभयो ।  
उहाँले आउँदो (चारबर्षपछि) निर्वाचनमा नेकपा (एमाले) ले एक्लै बहुमत ल्याउने दृढ विश्वास व्यक्त गर्दै त्यसपछिका दशबर्षमा देशलाई विकासशील राष्ट्रको राम्रै स्तरमा पुर्याउने, गरिबी नभएको र आधारभूत आवश्यकता परिपूर्ण भएको देशका रूपमा नेपालको विकास गर्ने योजना सुनाउनुभयो । अध्यक्ष ओलीले कम्युनिष्ट पार्टी स्थापनाको एकसयबर्षमा पुग्दा अर्थात अबको २५ बर्षमा समृद्ध नेपाल सुखी नेपालीको आधार बसाल्ने लक्ष्य रहेको वताउनुभयो ।


नेपाली कांग्रेस थोत्रो विचार बोकेका कारण बुढो भएको, माओवादी केन्द्र ‘महान जनयुद्ध’ सफल नभएपछि वैचारिक रूपमा फागुन १ गतेको ‘श्राद्ध’ भने राम्रो गर्नुपर्छ भन्ने तहमा स्खलित भएको र राजनीतिमा नयाँ देखिएकाहरू पनि हराएर जाने विश्लेषण सुनाउँदै अध्यक्ष ओलीले देशभक्त, विकास र जनताको पक्षमा उभिने नायक पार्टी नेकपा (एमाले) भएको वताउनुभयो । 
उहाँले पार्टीका नेताकार्यकर्ताहरूलाई कम्युनिष्ट पार्टी स्थापनाको हिरक बर्षभरि कम्युनिष्ट आचरण र व्यवहार गर्न आग्रह गर्नुभयो । एकबर्ष असल आचरण र व्यवहार गर्दा सधैका लागि  बानी पर्ने विश्वास उहाँको छ । 
अध्यक्ष ओलीले भन्नुभयो– हामी सबै कम्युनिष्ट आचरण अनुसार चल्न तयार हुनुपर्छ । बर्गीय प्रेम, छलछाम नगरी सत्यको बाटो अवलम्बन गर्नुपर्छ । 
अन्तरघाती र छुस्के होइन, जनताले मन पराउने व्यवहार गर्न सबै नेताकार्यकर्तालाई आग्रह गर्नुभयो । 
अध्यक्ष ओलीले पार्टी सुदृढीकरण र विस्तार अभियानका रूपमा दुईमहिना मिसन ग्रासरुट सञ्चालन गरिएको प्रसङ्ग जोड्दै यसबाट पार्टी कार्यकर्तामा उत्साह र उमङ्ग सिर्जना भएको वताउनुभयो । 
उहाँले मिसन ग्रासरुटबाट पार्टीभित्रका समस्या पत्ता लगाउन सकिएको र पार्टीको यथार्थ स्थितिको चित्रण प्राप्त भएको वताउँदै अध्यक्ष ओलीले यो एकबर्ष सम्पूर्ण बुद्धि र वर्कत लगाएर पार्टीलाई सुदृढ बनाइने छ भन्नुभयो । 
नेपाल कम्युुनिष्ट पार्टीले जन्मँदैदेखि विभिन्न खालका प्रहार, अवरोध, दबाब झेल्दै र बलिदान दिँदै आएको चर्चा गर्दै अध्यक्ष ओलीले प्रतिक्रियावादी शक्तिले २०७७ सालमा सम्पूर्ण अस्त्र प्रयोग गरेर सबैभन्दा भयानक आक्रमण गरेको वताउनुभयो । 
यस आक्रमणमा पार्टीभित्रका टुप्पोमा बसेका नेताहरू बिकेका र दुईतिहाई बहुमत पुर्याएको पार्टीलाई ध्वस्त पारेको भनाइ उहाँले राख्नुभयो । 
कम्युनिष्ट आन्दोलन सिध्याउने योजनाका साथ पार्टी विभाजन गराए पनि गएको निर्वाचनमा लोकप्रिय मतमा एमाले पहिलो भएको र कुनै पनि पार्टी एक्लै एमालेसँग प्रतिस्पर्धा गर्ने आँट गर्न नसक्ने अवस्था बनेको वताउनुभयो । 
अध्यक्ष ओलीले प्रतिक्रियावादीको सेवा गर्न लाज नमान्नेहरू, पूँजीवादीका पछाडि कुद्नेहरूले आफूलाई समाजवादी भन्ने व्यङ्ग्ययुक्त प्रश्न गर्दै नेकपाबाट बाहिरिएका सबै कम्युनिष्ट कार्यकर्तालाई बुर्जुवाहरूको सेवामा नलागी समृद्ध नेपाल सुखी नेपाली बनाउने लक्ष्यका साथ अगाडि बढिरहेको नेकपा (एमाले) मा समाहित हुन आग्रह गर्नुभयो । 
उहाँले नेकपा स्थापनाको हिरक बर्ष २०८० भरिमा कम्युनिष्ट पार्टीलाई आधारभूतरूपमा एकीकरण गरिसक्नुपर्छ भन्नुभयो । 
कार्यक्रममा अध्यक्ष ओलीले पार्टीले तयार गरेको नेकपाको ७५औं स्थापना दिवस लोगो अनावरण गर्नुभयो ।


विशेष कार्यक्रममा महासचिव शंकर पोखरेलले नेकपा स्थापनाको ७५औं बर्षभरि पार्टीले गर्ने विशेष कामका बारेमा प्रकाश पार्नुभएको थियो । 
महासचिव पोखरेलले यसबर्ष पार्टीले विज्ञहरू समेत संलग्न गराई कम्युनिष्ट पार्टीको आधिकारिक इतिहास तयार गरिने , कम्युनिष्ट पार्टीले देशभक्तिपूर्ण आन्दोलनबाट हासिल गरिएका उपलब्धिलाई जीवन्तरूपमा उतार्ने गरी वृत्तचित्र तयार गरिने, भूमिगत कालका सेल्टरका विशिष्ट अनुभव सङ्कलन गरी प्रकाशित गरिने, ऐतिहासिक स्मारक निर्माण गरिने जानकारी गराउनुभयो । 
उहाँले देशलाई समृद्ध र समुन्नत बनाउन आगामी २५ बर्षका लागि भिजन तयार गरी काम गर्ने वताउनुभयो ।
पार्टी सुदृढीकरण तथा विस्तार अभियान सम्पन्न भएको र प्रदेश, जिल्ला र पालिका तहबाट प्राप्त हुने मिसन ग्रासरुट प्रतिवेदनका आधारमा कार्ययोजना बनाई एमालेलाई देशको बलियो राष्ट्रिय शक्ति निर्माण गरिने भनाइ महासचिव पोखरेलले राख्नुभयो । 
पार्टीविरूद्ध चौतर्फी आक्रमण र नेतृत्वमाथि प्रहारका बीच गत निर्वाचनमा पार्टी लोकप्रिय मतमा पहिलो पार्टी भए पनि सरकार बनाउने अवस्था नहुँदा देशको समृद्धि र जनताको सुखका लागि गरिने काम अधुरो रहेकाले मुलुकमा राजनीतिक अस्थिरताको सामना गर्नेसक्ने पार्टी बनाउन मिसन ग्रासरुट सञ्चालन गरिएको महासचिवले स्पष्ट गर्नुभयो ।  
महासचिव पोखरेलले नेकपा (एमाले) जतिबेला सरकारमा पुगेर जनताका पक्षमा काम थाल्छ, सरकारबाट जसरी पनि हटाउने षडयन्त्र हुने गरेृको विगत स्मरण गर्दै अब त्यस्तो अबस्थाको अन्त्य गर्नेगरी पार्टी बलियो बनाई राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न लागिने वताउनुभयो ।


कार्यक्रम सञ्चालन गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले नेकपाको ७५औं स्थापना बर्षलाई एकबर्षसम्म हिरक महोत्सवका रूपमा मनाइने वताउनुभयो । 
‘२००६ सालमा नेकपा स्थापना भएयता लोकतन्त्र, न्याय, र समानता लागि सङ्घर्ष नगरेको कुनै दिन छैन होला’ विगत स्मरण गर्दै उपमहासचिव ज्ञवालीले यस अबधिमा चानचुन सात बर्ष सरकार सञ्चालनको अवसर प्राप्त भएको र सामाजिक न्याय, सुशासन, देश विकासका दीर्घकालीन योजना कुनै पनि सरकारले काट्न नसक्ने गरी सुरु गरिएको वताउनुभयो । कार्यक्रममा कम्युनिष्ट आन्दोलनमा योगदान गर्नुृभएका १४ जनालाई कम्युनिष्ट योद्धाका रूपमा सम्मान गरिएको थियो भने अग्रज कम्युनिष्ट नेता मुकुन्द न्यौपाने लगायत नेताकार्यकर्ता नेकपा (एमाले) मा समाहित हुनुभएको थियो ।