detail-img

राष्ट्रिय एकताबाट मात्र मुलुकको रक्षाः अध्यक्ष ओली 

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय एकताबाट मात्र मुलुकको रक्षा र विकास हुने बताउनुभएको छ ।
लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ, नेपालले आज तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासल, ललितपुरमा २९औँ विश्व आदिवासी दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले राष्ट्रिय एकताबाट देश अगाडि बढ्ने र समृद्ध नेपाल सुखी नेपाली बनाउन सकिने बताउनुभयो ।
उहाँले हाम्रो देश विविधतामा आधारित रहेको र त्यही विविधतामा सामाजिक सद्भाव र समानतामा आधारित एकता आवश्यक रहेको बताउनुभयो । 
अध्यक्ष ओलीले समानताको विगुल फुक्ने काम पहिलो पटक कम्युनिष्ट पार्टीको घोषणापत्रबाट भएको स्मरण गर्दै नेकपा (एमाले) ले स्थापनाकालदेखि नै सामाजिक न्याय र समानताको विषय उठाउँदै आएको वताउनुभयो । 
‘समृद्ध नेपाल, सुखी नेपाली’ भनेको सबै धर्म, जाति, संस्कृतिका सबै भूगोलमा बस्ने जनताको कुरा हो,’ अध्यक्ष ओलीले भन्नुभयो ।

उहाँले मुलुकमा आदिवासी, मधेसी, पहाडी, हिमाली, पूर्व–पश्चिम, उत्तर–दक्षिण जुनसुकै क्षेत्रका भए पनि सबैले अधिकार र विकास पाउनुपर्ने भनाइ राख्नुभयो । अध्यक्ष ओलीले एउटै देशका भू–भाग र जनतामा कोही धनी र कोही खान लगाउन नपाउने जस्तो स्थितिको अन्त्य हुनपर्ने भनाइ राख्नुभयो ।
आदिवासी जनजातिको मात्र माग नभई सबैका लागि सामाजिक न्याय र समान अवसर मुलुकमा हुनुपर्ने उहाँको भनाइ थियो । अध्यक्ष ओलीले मुलुकमा सामाजिक सद्भाव  बिथोल्ने प्रयास गर्न नहुने बताउनुभयो । जातीय द्वन्द्वका कारण कतिपय देशले अस्तित्व गुमाएको भन्दै उहाँले विविधतामा समानता आवश्यक रहेको भनाइ राख्नुभयो ।
‘असमानताको अन्त्य र विविधताको सम्मान हुनुपर्दछ । विविधता हाम्रो सम्पत्ति भएकाले कलहको विषय बनाइनु हँदैन’, उहाँले भन्नुभयो– सद्भाव र पारस्परिक सम्बन्ध कायम गरिनुपर्दछ । त्यसका आधारमा अगाडि बढ्नुपर्दछ ।’
अध्यक्ष ओलीले राज्य एउटा जातीय विशेषको नभई सबै नेपालीको रहेको बताउनुभयो । ‘यहाँ विभिन्न जात, धर्मका मानिस छन् । राज्य सबैलाई समान सेवा दिन बनेको हुनुपर्दछ’, नेकपा (एमाले)ले समान हक अधिकार र राष्ट्रिय एकताको पक्षमा लडेको स्मरण गर्दै उहाँले जातका नाममा भावनात्मक बनाएर हामीबीचमा विद्वेष, घृणा र फाटो ल्याउने प्रयास भइरहेको वताउनुभयो । 
अध्यक्ष ओलीले पहिचानको मुद्दा घृणा र विद्वेष फैलाउन नभई देशको हित र मित्रता कायम गर्नका लागि हुनुपर्ने बताउनुभयो । 
‘हाम्रो विविधता छ । यो यथार्थ हो । यो विविधतामा सामाजिक सद्भाव र समानतामा आधारित एकता चाहिन्छ । त्यो राष्ट्रिय एकताले मात्र देशको रक्षा र विकास हुन्छ’, अध्यक्ष ओलीको भनाइ छ ।
कार्यक्रममा संविधान सभाका अध्यक्ष तथा नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्बाङले नेपाल आदिवासीहरूको साझा फूलवारी भएको वताउँदै सबै जनजातिलाई एकताबद्ध गर्ने भूमिका एमालेले खेल्ने वताउनुभयो । 
उपाध्यक्ष नेम्बाङले विभिन्न जाति, भाषा, धर्म र तराई, मधेश, पहाड सबै क्षेत्रका जनता सबै खालका विभेदको अन्त्यको चाहना राख्ने र त्यसका लागि एमाले सबैभन्दा भरपर्दो मित्र हो भन्नुभयो । 
संविधान सभाका अध्यक्ष नेम्बाङले संविधानमा धर्मनिरपेक्षता, समावेशी,समानताको व्यवस्था एमालेको नेतृत्वमा भएका वताउनुभयो । 
लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपालका अध्यक्ष पासाङ शेर्पाको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल, पोलिटव्युरो सदस्य गोकुल घर्तीले पनि बोल्नुभएको थियो । 
कार्यक्रममा नेकपा (एमाले) का बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा ‘बादल’, बिष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिव योगेश भट्टराई, स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठ, लालबाबु पण्डित, सीता पौडेल, राजेन्द्र गौतम लगायतका नेताहरू अतिथिका रूपमा उपस्थित हुनुहन्थ्यो । कार्यक्रममा विभिन्न जाति, समुदायका साँस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो ।