detail-img

‘दुईतिहाइ बहुमतको कम्युनिष्ट सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउन पहल गर्नु निम्नस्तरको हर्कत’

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दुईतिहाइ बहुमतको आफ्नै पार्टीको कम्युनिष्ट सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउन पहल गर्नु निम्नस्तरको हर्कत भएको वताउनुभएको छ । 
अध्यक्ष ओलीले कम्युनिष्ट आन्दोलनलाई ध्वस्त पार्ने योजनाका साथ भएको उक्त षडयन्त्रलाई आफूले असफल पारिदिएको वताउनुभयो । नेकपा (एमाले)को बागमती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई मङ्गलबार काठमाडौंमा सम्बोधन गर्नुहुँदै उहाँले तत्कालीन अवस्थामा पार्टीको वरिष्ठ नेता हुँदाहुँदै माधव नेपालले आफूलाई पार्टीबाट निकाल्ने षडयन्त्र गरेको र दक्षिणपन्थी सरकार बनाउन पहल गरेको बताउनुभयो । 
आफूलाई पार्टीबाट निकाल्ने षडयन्त्र असफल भएपछि नेपालले प्रतिक्रियावादी, दक्षिणपन्थी सरकार बनाउन मद्दत गरेको अध्यक्ष ओलीको भनाइ छ । दुईतिहाई बहुमतको कम्युनिस्ट पार्टीको सरकार ढालेर पार्टीमै बसेर सरकार गिराउन भोट दिनु निम्नस्तरको हर्कत भएको उहाँले बताउनुभयो ।


अध्यक्ष ओलीले बामपन्थी चिन्तनलाई अहिले यथास्थितिवादी प्रतिक्रियावादीहरूले सुन्न पनि नचाहेको बताउनुहुँदै साइनबोर्ड बामपन्थी राखेर स्वार्थ बोकेकाहरूले दक्षिणपन्थी झोला बोकेको र उहाँहरू ‘झोले’ भएको विचार व्यक्त गर्नुभएको छ । 
अध्यक्ष ओलीले नेपालको वामपन्थी आन्दोलनलाई समाप्त पार्ने षडयन्त्रलाई रोक्न र असफल पार्न आफूले प्रतिनिधि सभा विघटन गरेको प्रष्ट पार्नुभएको छ । प्रतिनिधि सभा विघटन नगरेको भए देशको वामपन्थी आन्दोलन ध्वस्त हुने चर्चा गर्नुहुँदै उहाँले तत्कालीन समयमा आफूहरूलाई झुन्ड्याएर मार्ने डोरी बनाइएको र संसद् विघटन गरेर त्यो डोरी छिनाल्दिएको बताउनुभयो ।
पुस ५ गतेको तत्कालीन कदम राजनीतिक, संवैधानिक र संसदीय भएको तथा मुख्य रूपमा त्यो प्रतिक्रियावादी षडयन्त्रको विरोधमा जाने एउटा सचेत कदम भएको अध्यक्ष ओलीको भनाइ छ । त्यो घटनालाई लिएर पार्टीका नेता तथा कार्यकर्ताहरू कहिलेकाहीँ राजनीतिक अलमलमा पर्ने गरेकोे भन्नुहुँदै उहाँले त्यसरी अलमलमा नपर्न आग्रह गर्नुभयो । 
कार्यक्रममा नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले विभिन्न दलबाट आउनुभएका नेता तथा कार्यकर्तालाई पार्टीको विचार र बुझाइमा एकरूपता ल्याउन चुनौती रहेको भन्नुहुँदै प्रशिक्षणमार्फत यसलाई समाधान गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।