detail-img

मुलुकको अर्थतन्त्र कुबाटोमाः अध्यक्ष ओली 

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आर्थिक मन्दीको समयमा उद्यमी व्यवसायीलाई सरकारले सहयोग गर्नुपर्नेमा उल्टै आतङ्कित पारिरहेको बताउनुभएको छ । 
नेकपा (एमाले) उद्योग, बाणिज्य तथा आपूर्ति विभागद्वारा बुधबार साँझ राजधानीमा आयोजित ‘मुलुकको वर्तमान आर्थिक अवस्था–समस्या र समाधान’ विषयक छलफल कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले उद्योग व्यवसाय जतिबेला सङ्कटग्रस्त हुन्छ त्यस्तो समयमा सङ्कट मोचनका लागि सरकार चाहिने र सहयोगी हुनुपर्ने वताउनुभयो । 
अध्यक्ष ओलीले मुलुकमा अहिले उद्योग, व्यवसाय सङ्कटमा परेको भए पनि सरकार सहयोगीको रूपमा आउन नसकेको बताउनुभयो । अहिलेको सरकार निर्मम र निष्ठुर साहुजीको रूपमा प्रस्तुत भएको उहाँकोे भनाइ छ । 
उहाँले आत्मनिर्भर अर्थतन्त्र निर्माण तथा उत्पादकत्व र उत्पादन वृद्धिका लागि देशमा औद्योगीकरणको आवश्यकता रहेको बताउँदै त्यसो गर्न सकिएन भने नेपालको गरिबी अन्त्य नहुने र देश अघि बढ्न नसक्ने भनाइ राख्नु भयो ।
नेकपा (एमाले) ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षालाई गन्तव्य बनाएर अघि बढेको बताउँदै अध्यक्ष ओलीले उद्योग, व्यवसाय, शिक्षा, स्वास्थ्य लगायत सबै क्षेत्र सबल हुँदा मात्र राष्ट्रिय आकाङ्क्षा पूरा हुने भनाइ राख्नुभयो । 
उहाँले सरकारले प्रतिशोधको राजनीति गर्न खोजेको बताउँदै भ्रष्टाचार, अनियमिता र सुन तस्करीका विषयमा आवाज उठाउनेहरूलाई धम्क्याउने, तर्साउने र पक्राउ गर्ने गरेकोमा आपत्ति प्रकट गर्नुभयो । 
सुन तस्करीका विषयमा संसदमा आवाज उठाएका नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई पक्राउ गर्दा कस्तो प्रतिक्रिया आउँछ भनेर सरकारले चाख्ने काम गरेको उहाँको भनाइ छ । अध्यक्ष ओलीले त्यसमा आउने प्रतिक्रियाका आधारमा अरूलाई पनि तर्साउने र धम्क्याउने योजना सरकारको हो भन्नुभयो ।

 
उहाँले भन्नुभयो– सत्ता गठबन्धनका प्रमुख दलका सांसद पक्राउको यो घटना ‘नाङ्लो ठटाएर हात्ती तर्साउने’ जस्तो तर्साउन खोजेको हो । अध्यक्ष ओलीले सुन तस्करी प्रकरण निष्पक्ष छानविनका लागि सरकारले उच्चस्तरीय न्यायिक समिति बनाउन ढिलाई गरेका कारण एक क्विन्टलभन्दा बढी भनिएको सुन ६१ केजीमा झरेको र समिति बनाउन जति ढिलाई हुन्छ तस्करीका प्रमाणहरू पनि लुकाउने, मेटिने अवस्था आउनसक्ने आशङ्का व्यक्त गर्नुभयो । 
अध्यक्ष ओलीले भन्नुभयो– हामीले सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय न्यायिक समिति बनाउनुपर्छ भन्दै आएका छौं ।  तर, यसबीचमा एक क्विन्टल भनिएको सुन ६१ केजीमा झर्यो, यो समिति नबनाउनुको परिणाम हो । 
उहाँले  ब्रेक सुका नाममा ३३ पटक सुन भित्रिएको र एकदिन कतैबाट बाध्यता परेपछि समातिएको वताउँदै प्रश्न गर्नुभयो– एउटा एयरपोर्टबाट यसरी आउँछ भने खुला सिमाना भएको हाम्रो मुलुकका अन्य प्रमुख नाकामा के भइरहेको होला ? 
मुलुकको अर्थतन्त्र कुबाटोतिर गइरहेको वताउँदै अध्यक्ष ओलीले तरलता त्यता रहेछ, आर्थिक क्रियाकलापमा तरलता कहाँ देखिन्छ ? भन्नुभयो । 
नेकपा (एमाले) ले उच्चस्तरीय छानविनको माग गर्दा प्रधानमन्त्रीले ३५ दिन पर्खनुस् भन्नुभएको जानकारी गराउँदै सबै बन्दोवस्त गरेर मात्र समिति बनाउनुको अर्थ नहुने आशय व्यक्त गर्नुभयो । 
सरकारले बजेट बनाउँदा नै आफू अनुकूलका उद्यमी, व्यवसायीलाई पोस्ने गरेको र अरूलाई असहयोग गर्ने, तर्साउने गरेको वताउँदै अध्यक्ष ओलीले सिम्रिक एयरको हेलिकोप्टर उडान बन्द गरिदिनु यसको उदाहरण भएको वताउनुभयो । मात्र एकलाख रुपियाँ तिर्न बाँकी रहेको एउटा व्यावसायिक संस्थालाई हतोत्साहित पार्ने गरी उडान बन्द गरिदिनु सरकारको गैरजिम्मेवार काम हो भन्नुभयो । 
सबैभन्दा बढी राजस्व उठ्नुपर्ने असार महिना  लगत्तैको साउन महिनामा सरकारले कर्मचारीलाई तलब ख्वाउन आन्तरिक ऋण उठाउनुपर्छ भने अगाडिका महिनामा के होला ? प्रश्न गर्दै अध्यक्ष ओलीले परिस्थिति धेरै जटिल देखिन्छ, विकास निर्माणको आशा र अपेक्षा नगरे हुने देखिन्छ भन्नुभयो । 
कार्यक्रममा पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले सीमा व्यवस्थापन, तस्करी नियन्त्रण र कालो अर्थतन्त्रलाई प्रोत्साहन गर्ने काम रोक्नुपर्ने विचार व्यक्त गर्नुभयो । 
अर्थविद खतिवडाले उद्योगी व्यवसायीलाई पारदर्शी र प्रतिस्पर्धी ढङ्गले व्यवसाय गर्ने वातावरण सरकारले बनाइदिनुपर्ने धारणा राख्नुभयो । उहाँले उद्योग व्यवसायीलाई तर्साउने, हप्काउने र असुली गर्ने जस्ता अराजकताको अन्त्य हुनुपर्ने वताउनुभयो । 
कार्यक्रममा  नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा उद्योग, वाणिज्य तथा आपूर्ति विभागका प्रमुख मोतिलाल दुगडले सरकारले उद्योगी व्यवसायीलाई दुःख दिन थालेको, जेल हाल्ने काम गरेको र निजी क्षेत्रलाई सिध्याउने काम गरिरहेको वताउनुभयो । 
महङ्गीले सीमा नाघेको, उद्योगहरूमा छापा मारेर राजस्व उठाउने गरे पनि त्यो सरकारको ढुकुटीमा नपुगी बाटोमै हराउने गरेको, स्वाभिमानी र देशभक्त व्यवसायीहरू अहिले सबैभन्दा निरिह अवस्थामा रहेको जानकारी गराउनुभयो । 
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई आफ्नो गन्तव्य वनाए पनि अहिले समृद्ध बालुवाटार, दुःखी नेपाली भइरहेको व्यवसायी दुगडको भनाइ छ ।  
उहाँले उद्योगी, व्यवसायीहरूलाई आफ्ना समस्याका बारेमा डटेर आवाज उठाउन आग्रह गर्दै त्यो आवाजलाई र समस्या समाधानका लागि नेतृत्वदायी भूमिका निर्वाहका लागि एमालेको उद्योग बाणिज्य तथा आपूर्ति विभाग तयार रहेको वताउनुभयो । 
कार्यक्रममा नेपाल उद्योग, बाणिज्य महासंघका पूर्व अध्यक्ष भवानी राणाले मुलुकमा अर्थतन्त्र बुझेको ऐतिहासिक सरकार नेकपा (एमाले) को सरकार भएको आफ्नो विश्लेषण सुनाउँदै उद्योगी व्यवसायीका समस्याको समाधान आफूहरूसँग रहेको र बलियो प्रतिपक्षका रूपमा संसदमा आवाज उठाइदिन नेकपा एमालेलाई आग्रह गर्नुभयो । 
छलफलमा पूर्व अर्थ तथा मुख्य सचिव विमल कोइराला, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्ल, घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेश प्रसाद सिंह लगायत विभिन्न व्यवसायीहरू सम्बद्ध संघसंस्थाका प्रतिनिधिहरूलाई धारणा राख्नुभएको थियो । मुलुकको समृद्धिका लागि आर्थिक एजेण्डा दलहरूको साझा धारणा बन्नुपर्ने उहाँहरूको भनाइ छ ।