detail-img

आन्दोलनरत शिक्षकका जायज माग सरकारले सम्बोधन गर्नुपर्छः अध्यक्ष ओली

दमक (झापा) । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकका जायज मागलाई सरकारले सम्बोधन गर्नुपर्ने बताउनुभएको छ । 
राष्ट्रिय युवा संघ नेपाल दमक नगर कमिटीले विहीबार  दमकमा आयोजना गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ विषयक नगरस्तरीय अन्तरमावि वक्तृत्वकला प्रतियोगिता कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले शिक्षक आन्दोलन लम्ब्याउनु कसैको हितमा नभएको वताउनुभयो । 
उहाँले आन्दोलनरत शिक्षकलाई नधम्क्याउन सङ्घीय र स्थानीय सरकारलाई चेतावनी दिनुभयो ।


‘गुरुहरू यत्तिकै देशभरिबाट राजधानी आएर सडकमा आन्दोलन गरिरहेका होइनन्, आवाज उठाइरहेका होइनन्, गुरुहरूका समस्या सुन्नुपर्छ, उनीहरूका समस्यालाई सम्बोधन गर्नुपर्छ ।’ 
‘गुरुहरूलाई नधम्क्याउने होइन, सरकारले धम्कीको भाषा बोल्न मिल्दैन’ भन्नुहुँदै अध्यक्ष ओलीले एउटा मान्छेले गरेको कमजोरी रोक्न नसक्ने सरकारले देशभरिका गुरुहरूलाई जागिरबाट निकाल्ने धम्की दिनु गैरजिम्मेवार कुरा भएको बताउनुभयो । 
शिक्षण संस्था बन्द गराउन एकजना मानिस अनसन बस्दा उसका माग सम्बोधन गर्नुपर्यो भनेर कोकोहोलो गर्नेहरू अहिले देशभरिका शिक्षक आन्दोलनमा उत्रिँदा पनि मौन बसेको उहाँको भनाइ छ ।