detail-img

अर्थतन्त्र अहिलेकै बिग्रँदो अवस्थामा रहे नेपाल विकासशील राष्ट्रमा स्तरोन्नति नहुनसक्छः अध्यक्ष ओली 

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र र राजनीति अहिले जुन बिग्रँदो अवस्थामा अगाडि बढिरहेको छ, त्यही अवस्थामा अगाडि बढिरहे नेपाल निर्धारित समयमा अल्पविकसित मुलुकबाट विकासशील राष्ट्रको पङ्तीमा स्तरोन्नति नहुने सम्भावना व्यक्त गर्नुभएको छ ।  
पार्टीको केन्द्रीय अर्थ तथा योजना विभागद्वारा आज पार्टी कार्यालय, च्यासल, ललितपुरमा आयोजित नेपालको अतिकम विकसित देशबाट विकासशील देशमा स्तरोन्नतिको अवस्था विषयमा छलफल तथा प्रस्तुति कार्यक्रममा सम्बोधन गर्दै  अध्यक्ष ओलीले देशको बिग्रँदो अर्थतन्त्र, राजनीतिको अपराधीकरण र अपराधको राजनीतीकरण भइरहेकोप्रति चिन्ता व्यक्त गर्नुभयो । देश विकास, गरिबी निवारण लगायतका कुरामा सरकारको ध्यानै छैन भने राष्ट्र कसरी अल्पविकसित मुलुकबाट विकासशीलमा स्तरोन्नति होला आशङ्का र चिन्ता व्यक्त गर्दै  अध्यक्ष ओलीले सैद्धान्तिक रूपमा मात्र पनि स्तरोन्नति हुँदा दुनियाँमा नेपाल र नेपालीको राष्ट्रिय आत्मविश्वास बढ्ने छ भन्नुभयो । 
अध्यक्ष ओलीले देशको अर्थतन्त्र बिग्रेर सबैभन्दा बढी राजस्व उठ्ने असार लगत्तैको साउन महिनामा सरकारले कर्मचारीलाई तलव ख्वाउन आन्तरिक ऋण उठाउने अवस्थामा पुगेको र अर्थतन्त्रलाई सकारात्मक र सही बाटोमा ल्याउने कुरा चिन्ताको विषय भएको वताउनुभयो ।


वर्तमान सरकारको ध्यान यसतर्फ नभई अपराधीलाई आममाफी दिने, राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण गर्नेतिर रहेको उहाँको भनाइ छ । 
राष्ट्रपति रामचन्द्र पौडेल बुढेसकालमा पद पाएकोमा सरकारप्रति कृतज्ञ भएकाले अपराधीको सजाय मिनाहा गर्ने सरकारको निर्णय स्वीकार गरेको वताउँदै अध्यक्ष ओलीले भन्नुभयो– राष्ट्रपति महोदय बुढेसकालमा राष्ट्रपति पाएकोमा कृतज्ञ हुनुहुन्छ । सरकारले जे लग्यो, त्यो बडो खुसीका साथ स्वीकार्नु हुन्छ । 
उहाँले सरकारको ध्यान शान्ति प्रक्रियालाई टुङ्ग्याउने भन्दा पनि हिंसालाई उत्सवको रूपमा मनाउनेतिर रहेको बताउनुभयो ।
शान्ति प्रक्रिया टुङ्ग्याउने विषय र हिंसा शुरू गरेको दिन (फागुन १ गते) राष्ट्रिय उत्सव मनाई उन्माद सिर्जना गर्ने कुराबीच तालमेल नहुने भन्दै अध्यक्ष ओलीले प्रश्न गर्नुभयोे–हिंसा पीडितमाथि अन्याय र अपमानले घोँचेर शान्ति प्रक्रिया टुङ्गो लाग्छ ?
फागुन १ गते जनयुद्ध शुरू गरेको दिनलाई उत्सवका रूपमा मनाउने काम नगर्न प्रधानमन्त्री ‘प्रचण्ड’लाई आफूले सुझाव दिए पनि अर्कोतिर साँठगाँठ भइसकेकाले आफ्नो सुझावप्रति उहाँले ध्यान नदिएको अध्यक्ष ओलीले स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो– शेरबहादुरजीसँग कुरा भइसकेको रहेछ र प्रधानन्त्री प्रचण्ड हिंसा शुरू गरेको दिनलाई राष्ट्रिय उत्सवका रूपमा मनाउने अठोटमा पुगिसक्नुभएको रहेछ । 
अध्यक्ष ओलीले नेपाललाई सन् २०२६ सम्म अल्पविकसितबाट विकासशील राष्ट्रका रूपमा स्तरोन्नति र सन् २०३० सम्ममा दिगो विकास गन्तव्य हासिल गर्ने दिशामा अगाडि बढाउनुपर्नेमा वर्तमान सरकारको ध्यान अन्यत्र रहेको औल्याउनुभएको हो ।

नेकपा (एमाले) स्थायी कमिटी सदस्य, अर्थ तथा योजना विभाग प्रमुख डा. विन्दा पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, स्थायी कमिटी सदस्य डा. राजन भट्टराई, सांसदहरू, अर्थविद्हरूलगायतको उपस्थिति थियो । कार्यक्रमको मुख्य उद्देश्य नेपालको अतिकम विकसित देशबाट विकासशील देशमा स्तरोन्नति हुने संयुक्त राष्ट्र संघको निर्णयमा नेपालका लागि आवश्यकता र चुनौतीहरूका बारेमा विश्लेषण गर्नु रहेको थियो ।