detail-img

सुनतिर हेर्ने वर्तमान सरकार जतिसक्दो छिटो हट्नुपर्छः अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले नौ महिनामा देशको विकास र जनताको हितमा सिन्को पनि नभाँचेकाले नालायक र अयोग्य सिद्ध भएको वताउनुभएको छ ।
ओखलढुङ्गाको रामपुरमा आज गुरु लुइँटेल स्मृति पार्कको उद्घाटनपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले यस्तो सरकार जतिसक्दो छिटो सत्ताबाट बाहिरिनुपर्ने वताउनुभयो । 
अध्यक्ष ओलीले भन्नुभयो– सरकारले भ्रष्टाचार, कुशासन र हिंसालाई प्रोत्साहन गरिरहेको छ । जनता होइन, सुनतिर हेर्छ ।  ब्रेक–सु ल्याउँछ–सुन, सिगरेट ल्याउँछ–सुन, पानी तान्ने मेसिन भन्छ–सुन, स्याउ ल्याउँछ–सुन । यस्तो सरकार रहिरहन हुँदैन, जतिसक्यो छिटो हटाउनुपर्छ ।
माओवादीले जनयुद्धको नाममा शिक्षाको ज्योति छर्ने गुरु लुइँटेल जस्ता शिक्षकलाई अपहरण गरी यातना दिएर हत्या गरेको चर्चा गर्दै उहाँले भन्नुभयो– समाजको एउटा आदर्श व्यक्ति, शिक्षाको ज्योति फैलाउँदै हिँड्ने व्यक्ति, जीवन कसरी बिताउने भन्ने सचेतनाको दियो बाल्दै हिँड्ने शिक्षक गुरु लुइँटेललाई माओवादीले अपहरण गरेर, विभिन्न ठाउँमा यातनापूर्ण ढङ्गले घुमाएर आजकै दिन हत्या गरेका थिए ।


माओवादी शान्ति प्रक्रियामा आएपछि पनि छवि कार्कीलाई यातना दिई मारेको र  अहिले सरकारमा रहँदासमेत हिंसालाई प्रोत्साहन गर्न नछाडेको बताउँदै अध्यक्ष ओलीले भन्नुभयो– सर्लाहीको मलङ्गवामा निषेधाज्ञा जारी छ र त्यहाँ हिंसा भड्काउने प्रयास भइरहेको छ तर सरकार हेरेर बसेको छ । 
आफूले पञ्चायत र राजाको कदमको डटेर विरोध गरेको र माओवादीको आतङ्क मच्चिइरहेको समयमा पनि उनीहरूका गलत क्रियाकलापको आलोचना गरिरहेको र सुध्रिन आग्रह गरेको अध्यक्ष ओलीले वताउनुभयो । 
२०३५ सालमा क्याप्टेन यज्ञबहादुर थापा लगायत कांग्रेस नेतालाई पञ्चायती शासकले जेलबाट निकालेर गोली हानी हत्या गरेको र कांग्रेसको सरकार बन्दा पनि उहाँहरू लगायतलाई सहिद घोषणा नगरेको बताउँदै अध्यक्ष ओलीले आफू प्रधानमन्त्री भएपछि उहाँहरूलाई सहिद घोषणा गरेको बताउनुभयो । 
माओवादीले जनयुद्धको नाममा अपहरणपछि यातना दिएर हत्या गरेका शिक्षक लुइँटेलको स्मृतिमा ओखलढुङ्गाको रामपुरमा सालिकसहित स्मृति पार्क निर्माण गरिएको छ ।