detail-img

सुन तस्करी देशद्रोही काम हो, छानविन गराएरै छाडिने छः अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करी प्रकरणको छानविन गर्ने अधिकारसहित उच्चस्तरीय आयोग गठन गर्नुपर्ने वताउनुभएको छ । अध्यक्ष ओलीले सरकारले आयोग गठनमै विलम्ब गरेको र अहिले सुन तस्करीको छानविन आयोगले गर्न पाइँदैन भन्न थालेको वताउनुभयो । 
नेकपा (एमाले) बागमती प्रदेश कमिटीको प्रथम अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले छानबिन आयोग गठनमा ढिलाइ नगर्न र आयोगलाई नीतिगत सुधारको सिफारिस गर्ने कार्यक्षेत्रमा सीमित नगर्न सरकारसँग आग्रह गर्नुभयो ।
पछिल्लोपटकको ६१ किलो र साढे नौ किलो सुनमात्र होइन, धेरै किलो सुन तस्करी गरी देशद्रोही काम भएको वताउँदै अध्यक्ष ओलीले सुन तस्करीको कुनै पनि समय छानविन गराएर छाड्ने दृढता व्यक्त गर्नुभयो ।

सुन तस्करी प्रकरणको छानविनका लागि उच्चस्तरीय आयोग गठनको माग राखेर आवाज उठाउँदा संसद् चल्न नदिएको भनी एमालेमाथि आरोप लगाउने सरकार र सत्तापक्षले अहिले लामो समयसम्म संसद् स्थगन गरेर जनप्रतिनिधिलाई जनताका समस्या  प्रस्तुत गर्नबाट बन्चित गरेको भनाइ अध्यक्ष ओलीले राख्नुभयो ।
उहाँले भन्नुभयो– सरकारले आयोग गठनमा विलम्ब, ढिलाढाला गर्नुको कारण सामान लुकाउने, मान्छे भगाउने, प्रमाण मेटाउने लगायतका व्यवस्थापनका कामका लागि हो । 
सम्बोधनका क्रममा बालुवाटार जग्गा प्रकरणको प्रसङ्ग उठाउँदै अध्यक्ष ओलीले सरकारलाई प्रश्न गर्नुभयो– ललिता निवासको सरकारी सम्पत्ति व्यक्तिको नाममा गराइदिने नेता र कर्मचारीमाथि खोई मुद्दा ?
उहाँले गिरीबन्धु चिया बगानको जग्गाको विषय लगायत भ्रष्टाचारका कुनै पनि फाइल खोल्न सरकारलाई चुनौती दिनुभयो । 
अध्यक्ष ओलीले सरकार नालायक र निकम्मा भएका कारण मुलुकको अर्थतन्त्र डावाडोल भएको, मुलुक सामाजिक अराजकता र साँस्कृतिक विश्रृङ्खलतातर्फ गइरहेको वताउनुभयो ।
द्वन्द्व पीडितलाई क्षतिपूर्ति र परिपूरण


अहिले शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायका विषयमा कुरा चलिरहेको र प्रधानमन्त्री प्रचण्डले राष्ट्रसंघमा गएर सहयोग माग्नुभएको सन्दर्भ उठाउँदै अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डलाई द्वन्द्वका पीडितहरूसँग सहयोग माग्न सुझाउनुभयो । 
शान्ति प्रक्रियालाई राजनीतिक स्वार्थको खेल नबनाउन प्रधानमन्त्रीलाई आग्रह गर्दै उहाँले भन्नुभयो– द्वन्द्व पीडितलाई अन्याय गरेर, रुवाएर हुँदैन, मलमपट्टी लगाउनुपर्छ । तपाईंले पीडित बनाएकालाई क्षतिपूर्ति र परिपूरण दिनुपर्छ । 
शक्ति विभाजित हुनसक्छ तर सत्य विभाजित हुँदैन 
शिक्षक आन्दोलनका सन्दर्भमा सरकारले गरेको विभेदकारी व्यवहारको पनि अध्यक्ष ओलीले टिप्पणी गर्नुभयो । 
सरकारले आन्दोलनमा उत्रिएका एकथरि शिक्षकसँग वार्ता गरेको र अर्कोथरिसँग नगरेर विभेद गरेको वताउँदै अध्यक्ष ओलीले लोकतन्त्रमा यस्तो हुँदैन भन्नुभयो । उहाँले  शिक्षकसँग दम्भ नदेखाउन र चलाखी नगर्न सुझाउँदै दम्भ र घमण्डले मान्छेलाई बिगार्छ भन्नुभयो । 
शक्ति विभाजित हुनसक्छ तर सत्य विभाजित हुँदैन, एउटै हुन्छ भन्दै अध्यक्ष ओलीले सरकारलाई सत्यसँग सिङ नजुधाउन ध्यानाकर्षण गर्नुभयो । 
त्यस सन्दर्भमा अध्यक्ष ओलीले माओवादीलाई शान्ति प्रक्रियामा ल्याइएको, आफू प्रधानमन्त्री रहेको समयमा विप्लव समूह र सिके राउतहरूलाई राजनीतिको मूलधारमा ल्याउन सफल भएको स्मरण गर्नुभयो । 
अध्यक्ष ओलीले नागरिकता विधेयक प्रमाणीकरणको विषयतर्फ इङ्गीत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले बेरीत र असंवैधानिक काम गर्नुभएको वताउनुभयो । 
बीपीले नेतृत्व गरेको नेपाली कांग्रेस प्रजातन्त्र भन्दै थियो, अब त प्रजातन्त्रका ठाउँमा ‘प्रचण्ड’ र ‘प्रचण्ड पथ’ भन्न थालेको  भनाइ उहाँले राख्नुभयो । 
अध्यक्ष ओलीले देशमा विकास र समृद्धिको नीति र कार्यक्रम बोकेर हिँडेको पार्टी एमालेमात्र भएको र मुलुकको पछौटेपन र गरिबीलाई हटाउन प्रतिबद्ध रहेको बताउनुभयो ।
उहाँले कार्यकर्तालाई आत्मकेन्द्रित नभई सबल राष्ट्रिय शक्ति निर्माणको लक्ष्यसहित जनहितलाई सफलीभूत पार्ने सङ्कल्प लिएर अघि बढ्न निर्देशन दिनुभयो । 
परिपक्व नेतृत्व चयनका लागि शुभकामना
अध्यक्ष ओलीले अधिवेशनले पार्टीका विरुद्ध भइरहेको षड्यन्त्र र घेराबन्दीको समीक्षासहित त्यसलाई तोड्दै आगामी २०८४ सालको निर्वाचनमा पार्टीविरुद्ध जस्तोसुकै गठबन्धन बने पनि सामना गरी सफलता हासिल गर्नसक्ने परिपक्व नेतृत्व चयन गर्न सकोस् भनी शुभकामना दिनुभयो ।
नेकपा (एमाले) मा फाटो ल्याउन सकिन्छ कि, विभाजन ल्याउन सकिन्छ कि भनेर अहिले पनि लागिरहेको वताउँदै उहाँले त्यो प्रयासलाई चकनाचुर र धुलोपीठो पार्नुपर्छ भन्नुभयो । 
अध्यक्ष ओलीले नेतृत्व चयन गर्दा एकढिक्का, एकमत भएर गर्नु अलोकतान्त्रिक नभएको वताउँदै चुनाव लड्ने नै भए व्यक्ति लड्न, प्यानल नबनाउन सुझाउनुभयो । उहाँले प्यानल बनाई चुनाव लडे सिङ्गो प्यानलको उम्मेदवारी खारेज गर्ने गरी काम गर्न निर्वाचन आयोग/समितिलाई निर्देशन दिनुभयो । 
२०८४ को निर्वाचनमा सबै विरोधीलाई जवाफ दिने
अध्यक्ष ओलीले आगामी निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने वताउँदै मिसन २०८४ लाई लक्ष्यित  गरेर पार्टीका सबै गतिविधि अभियानका रूपमा अगाडि बढाइएको स्पष्ट गर्नुभयो । 
२०८० को निर्वाचनमा एमाले विरूद्धका सबै गठबन्धनलाई जवाफ दिने वताउँदै उहाँले भन्नुभयो– एमाले विरोधी जो जो हुन्, सबै एकगठ भए हुन्छ । 
उहाँले एमाले ज्युँदो बाघ भएर अघि बढ्ने बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो– नेकपा (एमाले) मरेको बिरालो भएर होइन, जिउँदो बाघ भएर अघि बढ्छ । राष्ट्रिय स्वाभिमानको झन्डा एमालेले तल झर्न दिँदैन ।’
देशको समस्या समाधान र समृद्ध नेपाल, सुखी नेपाली बनाउने अभिभारा नेकपा (एमाले)को काँधमा रहेको बताउँदै उहाँले समाज रूपान्तरण र विकास, राष्ट्रियताको रक्षा लगायतका विषयमा एमाले सदैव गम्भीर रहेको बताउनुभयो । अध्यक्ष ओलीले ड्रोन उडाई नेपालको राष्ट्रिय झण्डा फहराउनुका साथै रिमोर्टमार्फत दीप प्रज्वलन गरेर अधिवेशनको उद्घाटन गर्नुभएको थियो । 
मिसन २०८४ सफल पार्न एकताबद्ध भई अघि बढ्न आग्रह

 

अधिवेशन सफलताको शुभकामना दिनुहुँदै बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अधिवेशन बाँकी सबै प्रदेशका लागि नमूना बन्ने गरी सम्पन्न हुन सकोस् भन्नुभयो । उहाँले पार्टीको अभियानका रूपमा रहेको मिसन २०८४ सफल पार्न एकताबद्ध भई अगाडि बढ्नुपर्ने वताउनुभयो । 
बरिष्ठ उपाध्यक्ष पोखरेलले विगतमा पार्टी र नेतृत्वमाथि हमला हुँदा बाग्मती प्रदेशका नेताकार्यकर्ताले साहस र हिम्मतका साथ भूमिका निर्वाह गरेको स्मरण गर्दै त्यस भावनाले निरन्तरता पाउन सकोस् भन्नुभयो । 
उहाँले पार्टी कमिटीलाई अगाडि बढाउने सन्दर्भमा विगतमा भएका व्यवस्थापकीय समस्या र कमजोरीहरूको वस्तुनिष्ट लेखाजोखा गर्न आग्रह गर्दै विचार, संगठन र नेतृत्व सुदृढ बनाउँदै अगाडि बढ्यौं भने मात्र देशका समस्या समाधान गर्नसक्छौं भन्नुभयो । 
नेतृत्व चयनमा सहमतिलाई प्राथमिकता दिन आग्रह


कार्यक्रममा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले बागमती प्रदेश अधिवेशन सफलताको शुभकामना दिनुहुँदै नयाँ नेतृत्व सकेसम्म सहमतिबाटै चयन गर्नुपर्ने बताउनुभयो । उपाध्यक्ष शाक्यले सहमतिबाटै योग्य र सक्षम नेतृत्व छनोट गर्ने कुरालाई पहिलो प्राथमिकता बनाउनुपर्ने बताउनुभयो । 
उहाँले भन्नुभयो– सहमति भएन भने लोकतान्त्रिक विधिबाट स्वस्थ प्रतिस्पर्धामार्फत नेतृत्व चयन गर्नुपर्छ ।’
उपाध्यक्ष शाक्यले सङ्घीय लोकतन्त्रलाई सुदृढ गर्दै समृद्ध नेपाल सुखी नेपाली निर्माण गर्न आवश्यक रहेको बताउनुभयो । संविधानले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई संस्थागत गरेको भए पनि समृद्धिको काम गर्न बाँकी रहेको र त्यो नेकपा (एमाले)ले गर्ने उहाँले प्रष्ट पार्नुभयो । 
वाग्मती प्रदेश कम्युनिष्ट पार्टीको उर्वर भूमि भएकाले कम्युनिष्ट आन्दोलनलाई सुदृढ गरेर अघि बढाउनुपर्ने उपाध्यक्ष शाक्यले बताउनुभयो । 
अहिले देशमा अराजकता फैलिएको र अनुशासन कमजोर भएको शाक्यले बताउनुभयो । समाजलाई रूपान्तरण गर्नु आजको आवश्यकता रहेको उहाँको भनाइ छ । 
मुलुकलाई सङ्कटबाट मुक्त गर्न एमाले बाहेक कसैले सक्दैन


उद्घाटन सत्रमा महासचिव शंकर पोखरेलले पार्टीको ध्यान सरकार परिवर्तन नभएर बलियो राष्ट्रिय शक्तिका रूपमा एमालेलाई सुदृढ बनाउनेमा केन्द्रित भएको बताउनुभयो । उहाँले देशको सङ्कटपूर्ण अवस्थामा एमालेले नेतृत्व गरिदिए हुन्थ्यो भन्ने आवाजहरू सुनिए पनि पार्टीको ध्यान सरकार परिवर्तन भन्दा पनि एमालेलाई बलियो शक्ति बनाउनतर्फ केन्द्रित रहेको स्पष्ट गर्नुभयो । 
उहाँले मुलुक चरम आर्थिक सङ्कटबाट गुज्रिरहेको भन्दै यो सङ्कटबाट मुलुकलाई बाहिर निकाल्न एमालेबाहेक अरू कसैले नसक्ने वताउनुभयो । 
महासचिव पोखरेलले नेपालमा पटक पटक राजनीतिक परिवर्तन भए पनि सामाजिक परिवर्तन हुन नसकेको र सामाजिक परिवर्तनका लागि राजनीतिक अस्थिरता बाधक भएको बताउनुभयो ।
राजनीतिक अस्थिरता अन्त्यका लागि बलियो राष्ट्रिय शक्ति निर्माण आवश्यक रहेको वताउँदै उहाँले भन्नुभयो– जबसम्म नेकपा (एमाले)लाई बलियो राष्ट्रिय शक्तिका रूपमा निर्माण गर्न सकिँदैन, तबसम्म देशको विकास हुँदैन भन्ने कुरा पुष्टि भइसकेको छ । 
नेपालको वामपन्थी आन्दोलनलाई अब नेताहरूबाट होइन कार्यकर्ता तहबाट एकताबद्ध गरी स्थापित र बलियो बनाउनुपर्ने महासचिव पोखरेलले बताउनुभयो । 
उहाँले अहिले देशमा सामाजिक अराजकता फैलाउन अनेक प्रयास भइरहेको र सामाजिक सद्भाव भड्काउन जातीय र धार्मिक विद्वेष फैलाउने प्रयत्न भइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । 
गठबन्धन सरकारले देशलाई तहसनहस पारेको वताउँदै महासचिव पोखरेलले मुलुकलाई सही बाटोमा डोर्याउन एमाले सत्तामा पुग्नुपर्छ भन्नुभयो ।


पार्टीका स्थायी कमिटी सदस्य तथा बाग्मती प्रदेश कमिटीका ईन्चार्ज गुरु बरालले अधिवेशन सफलताको शुभकामना व्यक्त गर्दै देशका साथै प्रदेशका हरेक क्षेत्रमा रूपान्तरणको अगुवाई गर्ने अभिभारा एमालेको काँधमा रहेको वताउनुभयो । 
प्रदेश अध्यक्ष केशवराज पाण्डेको अध्यक्षतामा भएको उद्घाटन सत्रमा रामहरि सुवेदीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन सचिव विजय सुवेदीले गर्नुभएको थियो । कार्यक्रममा पार्टीका नेताहरू उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, उपमहाचिवद्वय प्रदीप ज्ञवाली, विष्णु रिमाल, सचिव योगेश भट्टराई, केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोरा, अनुशासन आयोगका अध्यक्ष केशव बडाल, लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेल, निर्वाचन आयोगका अध्यक्ष डा.विजय सुब्बा, स्थायी कमिटी, पोलिटव्यूरो र केन्द्रीय कमिटीका नेताहरूको उपस्थिति रहेको थियो । उद्घाटनसत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका काठमाडौ– मकवानपुर संयोजक विष्णुप्रसाद बजगाई लगायत नेकपा (एमाले) मा प्रवेश गर्नुभएको थियो । 
उद्घाटन सत्रमा विभिन्न सांस्कृतिक तथा साङ्गीतिक कार्यक्रमका साथै खेलाडिहरूले खेल प्रस्तुत गरेका थिए । यसअघि राजधानीका विभिन्न भागमा भेला भई झाँकी, बाजागाजा, झण्डा र व्यानरसहित र्याली निकालिएको थियो ।  अधिवेशनको बन्द सत्र मङ्गलवार  नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुने छ । अधिवेशनले प्रदेश कमिटीको अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव गरी पाँच पदाधिकारीसहित २४० सदस्यीय नयाँ कार्य समिति चयन गर्ने छ ।