detail-img

अध्यक्षद्वारा राष्ट्रिय सहमतिका लागि अपिल 

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई राजनीतिक स्थायित्वको युगमा प्रवेश गराउन राष्ट्रिय सहमतिका लागि अपिल गर्नुभएको छ । 
प्रतिनिधि सभाको २०७९ माघ २२ गतेको बैठकमा सम्वोधन गर्दै अध्यक्ष ओलीले राजनीतिक अस्थिरताको अन्त्य गरी नेपाल र नेपालीको भविष्य निर्माणका लागि सङ्कल्प गर्न सबैसँग आग्रह गर्नुभयो । 
अध्यक्ष ओलीले २००७ सालको राजनीतिक परिवर्तनपछिका कुनै पनि सरकारले पाँचबर्षको कार्यकाल पूरा गर्न नपाएको र वर्तमान संविधान जारी भएपछि पनि सातबर्षभित्र सातजना प्रधानमन्त्री फेरिएको यथार्थ प्रस्तुत गर्दै भन्नुभयो– हाम्रो चाहना, प्रयास र खोजी स्थिरता र स्थायित्वको रह्यो तर हाम्रो प्राप्ति भने सधै अस्थिरता र अनिश्चितताको हुन पुग्यो । 
राष्ट्रिय सहमतिका लागि आफ्नो पार्टी जस्तोसुकै योगदान गर्न तयार रहेको वताउँदै अध्यक्ष ओलीले भन्नुभयो– राष्ट्रियता र राष्ट्रिय एकताको सवालमा, सार्वभौमसत्ता–अखण्डता–स्वाधीनता–स्वाभिमानको सवालमा, न्यायोचित राष्ट्रिय हितहरूको सवालमा, लोकतन्त्र–स्वतन्त्रता–अवसर–समानता–समावेशी विकास–सुशासन र सामाजिक न्यायसहितको समृद्धिको सवालमा, अभाव–गरिबी–विपन्नताको दुष्चक्रबाट सर्वसाधारण नेपालीलाई बाहिर ल्याउने सवालमा, राष्ट्रिय सामर्थ्य र शक्ति, राष्ट्र र जनहितका लागि सदुपयोग गर्ने सवालमा, अर्थतन्त्रको सवलीकरण गर्ने–विकासको गतिलाई तिब्रता दिने–सेवा प्रवाहमा व्यापक सुधार ल्याउने सवालमा राष्ट्रिय सहमति कायम गरौं । यसका लागि नेकपा (एमाले) जस्तोसुकै योगदान गर्न तयार छ ।

‘यतिबेला नेपाली काँग्रेस पानी बाहिरको माछाजस्तै छटपटीमा देखिन्छ । नेपाली काँग्रेस सत्ता बाहिर आफ्नो अस्तित्व आफै विश्वास गर्न नसक्ने अवस्थामा छ । सत्ता बाहिर रहँदा सत्तामा विग्रह ल्याउने र अल्पकालीन लाभ लिने अनुभव काँग्रेसका साथीहरूसँग छ,’ चर्चा गर्दै अध्यक्ष ओलीले भन्नुभयो– मेरा मित्र नेपाली काँग्रेसका सभापति तथा संसदीय दलका नेतालाई म आग्रह गर्दछु, हामी बृहत्तर राष्ट्रिय हितमा काम गरौं, राजनीतिक स्थायित्वका लागि योगदान गरौं, अनिश्चय र अस्थिरताको बीऊ स्वयंका लागि प्रत्युत्पादक हुनसक्छ भन्ने बुझौं– कोही पनि जालन्धर नबनौं । कम्तीमा पनि २०५२, २०५८ र २०७२ सालका अनुभव हामीसँग छन् । अब राष्ट्रलाई अस्थिरतातर्फ धकेल्ने चिन्तनबाट कसैको पनि हित हुँदैन, हित हुन्छ केवल धमिलो पानीमा माछा मार्न पल्केकाहरूको । लोकतन्त्र कुनै व्यक्ति वा दल विशेषको लागि होइन, नेपाल र सम्पूर्ण नेपालीको हितका लागि हुनुपर्दछ । अब आम नागरिक धेरै सचेत भइसकेका छन् ।