१६ भदौ (२०८२), काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीको नीति राष्ट्रको नीति बनाउन सकेमात्र पार्टी निर्णायक शक्ति बन्ने बताउनुभएको छ ।
पार्टीका पोलिटब्युरो सदस्य आनन्दप्रसाद पोखरेलले लेख्नुभएको ‘कम्युनिष्ट पार्टी निर्माणका आधार’ पुस्तकको आज तुल्सीलाल स्मृति प्रतिष्ठानको सभाहल, च्यासल ललितपुरमा विमोचन गर्दै महासचिव पोखरेलले पार्टीलाई निर्णायक शक्ति बनाउन हरेक तहका सरकारको नेतृत्व पार्टीले गर्नुपर्ने अवस्था निर्माण गरिनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो– त्यो भनेको हरेक तहका कार्यकारी सरकारको नेतृत्व गर्ने सामथ्र्य निर्माण गर्नु हो । जब एमालेको नीतिलाई राष्ट्रको नीति बनाउने सामथ्र्य निर्माण हुन्छ, तब एमाले निर्णायक शक्ति बन्छ । यसका लागि पार्टीलाई बलियो बनाउन लाग्नुको विकल्प छैन ।
महासचिव पोखरेलले हाल पार्टीले सरकारको नेतृत्व गरिरहे पनि आफ्नो नीतिलाई राष्ट्रको नीति बनाउने एकल सामथ्र्यको अवस्था नरहेको बताउनुभयो ।
अब पार्टीको वर्ग सङ्घर्ष चुनावमा केन्द्रित हुनुपर्ने बताउँदै महासचिव पोखरेलले भन्नुभयो– हाम्रो वर्ग सङ्घर्ष केन्द्रीय निर्वाचनमा सफलता प्राप्त गर्नु हो । हाल चुनावलाई वर्ग सङ्घर्ष र राजनीतिक सङ्घर्षको माध्यमका रूपमा बुझ्न छाडेका छौँ, पछिल्लो समय निर्वाचनलाई अवसर प्राप्तिका लागि र विगतमा आफूले प्राप्त गरेका योगदानकोे सम्मानका रूपमा मात्र लिन थालेका छौँ ।
दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकता पार्टी निर्माणका समस्या रहेको भन्दै उहाँले तिनलाई पराजित गर्न सकेमात्र जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार तयार गर्ने राजनीतिक कार्यदिशामा सफलता हासिल गर्न सकिने धारणा राख्नुभयो ।
महासचिव पोखरेलले दोस्रो विधान महाधिवेशनले पार्टीलाई थप एकताबद्ध र सुदृढ गर्ने बताउनुभयो ।
कार्यक्रममा पार्टीका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले पुस्तकको समीक्षा गर्दै पुस्तकले पार्टी निर्माणमा लाग्न कार्यकर्तालाई अभिप्रेरित गरेको बताउनुभयो ।
उहाँले पुस्तकमा १४ वटा खण्ड रहेकामा १२ वटा खण्डमा कम्युनिष्ट पार्टी निर्माणका विभिन्न विषयहरू र दुई खण्डमा समसामयिक विषय समेट्नु भएको बताउनुभयो ।