detail-img

अन्तर्राष्ट्रिय श्रमिक दिवसमा अध्यक्षको सन्देशः ‘सुनिश्चित श्रम जीवनको यात्रा अवरुद्ध भयो’

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय श्रमिक दिवस ( १ मे, २०२३) का अवसरमा सबै श्रमिक दाजुभाइ दिदीबहिनीमा सुख, समृद्धि र सम्मानित जीवनको शुभकामना व्यक्त गर्नुभएको छ । 
अध्यक्ष ओलीले आज दिनुभएको शुभकामना सन्देशमा नेकपा (एमाले) को अगुवाईमा नेपालको संविधानमा मौलिक हक र कर्तव्यमा श्रमिक अधिकारलाई सुनिश्चित गरिएकोे र एमालेको सरकारले उद्यमी र श्रमिक बीच उच्च समझदारी कायम गरी श्रमिकको ज्याला इतिहासमै उच्च (३९ प्रतिशत बृद्धि) बनाएको स्मरण गर्नुभएको छ ।  
अध्यक्ष ओलीले त्यसबाट नियमितजसो औद्योगिक द्वन्द्वको पीडा झेलिरहेको नेपाली श्रम क्षेत्रमा हडताल र तालाबन्दीको समस्या अन्त्य भएको र फलस्वरुप हाम्रो अर्थतन्त्रले तीब्र विकासको लय समातेको स्मरण गर्नुभएको छ । 
श्रमजीवी वर्गको हितमा नेकपा (एमाले) को सरकारले सामाजिक सुरक्षा कोषको स्थापना जस्ता ऐतिहासिक र महत्वपूर्ण कामको थालनी गरेको उल्लेख गर्दै अध्यक्ष ओलीले एमाले सरकारबाट हटाइएपछि सामाजिक परिवर्तन, आर्थिक विकास, सुनिश्चित श्रम जीवनको यात्रा अवरुद्ध हुन पुगेको वताउनुभएको छ । 
अध्यक्ष ओलीले शुभकामना सन्देशमा भन्नुभएको छ– नेकपा (एमाले) लाई बलियो राष्ट्रिय शक्तिका रूपमा स्थापित गरेर मात्र हामी समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सक्छौं र रोकिएका समृद्धिका हाम्रा पाइलाहरूलाई अगाडि बढाउन सक्छौं । नेकपा (एमाले) को यस अभियानमा सबैको साथ र ऐक्यबद्धता रहने छ भन्ने मेरो विश्वास छ ।  
अध्यक्ष ओलीले नेपालमा २००३ सालमा पहिलो संगठित मजदुर आन्दोलन सुरु भएको र राणाशाहीलाई श्रमजीवी जनतासँग सम्झौता गर्न बाध्य पार्ने त्यस आन्दोलनको गौरवशाली विरासत नेकपा (एमाले) सँग रहेको वताउनुभएको छ । सन् १८८६ मा अमेरिकाको सिकागोमा मजदुर आन्दोलनमाथि भएको चरम दमनको स्मरण गर्दै  मजदुरलाई आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आरामको मागसहित सन् १८९० देखि विश्वभरि श्रमिक दिवस मनाउँदै आएको, सन् १९१९ मा अन्तराष्ट्रिय श्रम संगठन स्थापना भएको र नेपालमा उक्त संगठनको कार्यालय नेकपा (एमाले) को अल्पमतको सरकार बनेपछि स्थापना भएको अध्यक्षको सन्देशमा उल्लेख गरिएको छ ।  

सम्पूर्ण विवरण हेर्नको लागि यहाँ क्लिक गर्नुहोस ।