detail-img

सरकारका स्वेच्छाचारी कदमको एमालेले प्रतिकार गर्छः महासचिव पोखरेल

१ असार (२०८३), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पपुलिजम र अनार्किजम नेपाली समाजमा व्याप्त रहेको र यसले देशलाई सही दिशा दिन नसक्ने बताउनुभएको छ । 
आज पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुखको पद हस्तान्तरण कार्यक्रमा बोल्दै महासचिव पोखरेलले आजको बैकल्पिक राजनीति पपुलिजम र अनार्किजमका आधारमा निर्माण भएको र यसले यथास्थितिवादको पक्षपोषण गर्ने बताउनुभयो । 
पपुलिजमले क्षणिकमा जनतालाई मन पर्ने कुरा गरेर भ्रममा पार्ने तर त्यसको दीर्घकालीन असर घातक हुने बताउँदै उहाँले भन्नुभयो– समाज अगाडि बढाउन विचारको राजनीतिमा फर्कनै पर्छ । 
जनताले लोकरिझाइँका कुरालाई रामवाण जस्तो मानेको उल्लेख गर्दै यस्ता कुराले समाजलाई दिग्भ्रमित पारिरहेको र यो लामो समय नजाने उहाँको विश्लेषण छ । 
देशमा लोकप्रिय मतको सरकार बने पनि नागरिकको हित र सुरक्षाको सवालमा आम जनता आश्वस्त हुने वातावरण नबनिरहेका उल्लेख गर्दै महासचिव पोखरेलले भन्नुभयो–सरकारले संविधान, कानुन, परम्परा र पद्धतिलाई फलो गरिरहेको छैन । प्रधानमन्त्रीका गतिविधि हाम्रो शासकीय प्रणालीसँग मेल खाँदैनन् । 
लोकतन्त्र र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने कुरा नेकपा (एमाले)लाई स्वीकार हुन नसक्ने स्पष्ट गर्दै सरकारको स्वेच्छाचारी कदमको पार्टीले प्रतिकार गर्ने उहाँले बताउनुभयो ।   
महासचिव पोखरेलले पार्टी थप एकताबद्ध भएर अघि बढ्ने बताउँदै पार्टी शुद्धिकरण, सुदृढिकरण र पुनर्जागरण अभियानमार्फत एमाले थप बलियो हुने स्पष्ट पार्नुभयोे । पार्टी सुदृढिकरणका लागि कार्यदलले काम थालिसकेकाले यसको निष्कर्षको आधारमा पार्टीलाई थप मजबुज बनाइने उहाँले बताउनुभयो । 
महासचिव पोखरेलले निर्वाचनमा पार्टीको विपक्षमा जनमत आएकोले व्यापक सुधारको आवश्यकता रहेको र एमाले अब जनतासँग प्रत्यक्ष जोडिएर अघि बढ्ने बताउनुभयो । 
कार्यक्रममा केन्द्रीय प्रचार तथा प्रकाशन विभागका पूर्व प्रमुख राजेन्द्र गौतमले वर्तमान प्रमुख निरज आचार्यलाई अघिल्लो कार्यकालको माइन्यूट हस्तान्तरण गर्नुभयोे । सोही अवसरमा प्रचार विभागका पूर्व प्रमुखहरू सूर्य थापा, मीनबहादुर शाही लगायतको पनि उपस्थिति थियो । 
सत्यलाई हतियार बनाएर भ्रम चिर्छौंः आचार्य


केन्द्रीय प्रचार तथा प्रकाशन विभागको पदभार ग्रहण गर्दै प्रमुख निरज आचार्यले पार्टीको विचारलाई डिजिटल माध्यममार्फत हरेक नागरिकसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । 
सूचना र प्रविधिको युगमा प्रचार–प्रसारको शैलीलाई आधुनिक र प्रभावकारी बनाउने उहाँले बताउनुभयो । 
प्रमुख आचार्यले भन्नुभयो– अब एमालेको प्रचार कार्य परम्परागत सीमाभन्दा माथि उठेर डिजिटल सञ्चारमा केन्द्रित हुने छ । हाम्रो विचार–डिजिटल सञ्चार, अब एमालेको विचार हरेक नागरिकको मोबाइल स्क्रिन र मन–मनमा पुग्नेछ । हामी प्रविधिलाई पछ्याउने मात्र होइन, प्रविधिको नेतृत्व गर्ने विभागका रूपमा अघि बढ्नेछौँ ।
उहाँले पार्टी, नेतृत्व र विचारविरुद्ध फैलाइने भ्रम तथा दुष्प्रचारको सत्य र तथ्यका आधारमा प्रतिवाद गरिने बताउनुभयो । ‘हामी प्रोपोगान्डा र दुष्प्रचार गर्दैनौँ, तर विरोधीका हरेक भ्रमलाई सत्यको बलले ध्वस्त पार्नेछौँ । सत्यभन्दा शक्तिशाली कुनै प्रचार हुँदैन’ प्रमुख आचार्यले भन्नुभयो । 
आफू विभागको ‘कमान्डर’ नभई सबैको ‘सहयात्री’का रूपमा काम गर्न आएको उल्लेख गर्दै उहाँले सामूहिक नेतृत्व, टिमवर्क र आधुनिक कार्यशैलीलाई प्राथमिकता दिने बताउनुभयो । ‘विचारमा स्पष्टता, कार्यशैलीमा आधुनिकता र टिमवर्कमा गतिशीलता नै हाम्रो सफलताको मूल मन्त्र हुनेछ’ उहाँले भन्नुभयो । 
पदभार ग्रहण गर्दै आचार्यले पार्टी नेतृत्वप्रति विश्वास र जिम्मेवारीका लागि आभार व्यक्त गर्नुभयो । साथै, विभागलाई अहिलेको अवस्थामा पुर्याउन योगदान दिने निवर्तमान नेतृत्व र टोलीप्रति धन्यवाद व्यक्त गर्दै उहाँले हिजोका उपलब्धिलाई निरन्तरता दिँदै नयाँ ऊर्जा र प्रविधिसहित विभागलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाउनुभयो ।
प्रमुख आचार्यले प्रचार तथा प्रकाशन विभागलाई पार्टीको नीति, विचार र सिद्धान्त जनतामाझ पुर्याउने महत्वपूर्ण ‘पावरहाउस’ को संज्ञा दिँदै आगामी दिनमा सबैको साथ, सहयोग र रचनात्मक सुझावको अपेक्षा रहेको बताउनुभयो ।