detail-img

उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली

काठमाडौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विचार र गन्तव्य स्पष्ट भएको संगठित संस्थाले मात्र देश बनाउनसक्ने वताउनुभएको छ । उत्तेजनात्मक, भावनात्मक र भ्रमपूर्ण कुराले देश बन्दैन भन्ने कुरा युवाहरूले बुझ्नुपर्ने उहाँले वताउनुभयो । 
१३३औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) द्वारा आज राजधानीमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले देशका युवाहरूले बहकिएर होइन, सचेत समुदायका रूपमा आफ्नो भविष्य कस्तो विचारबाट  बन्छ भन्ने कुरा बुझ्नुपर्ने वताउनुभयो ।


अध्यक्ष ओलीले भन्नुभयो– चीन, मलेसिया, सिङ्गापुर लगायत देशहरू विचार र गन्तव्यको सचेत प्रयासबाट बनेका हुन् । 
देश अहिले अफ्ठ्यारो स्थितिमा रहेको वताउँदै अध्यक्ष ओलीले सहज अवस्थातर्फ फर्काउन हाम्रो संगठित प्रयास आवश्यक छ भन्नुभयो । उहाँले भन्नुभयो– यतिवेला लोकतन्त्र र नागरिकका विभिन्न अधिकारविरुद्ध अनेक तत्व सक्रिय रहेकाले नेपाली जनता गम्भीर र सजग हुनुपर्ने अवस्था छ । 
नेकपा (एमाले) सरकारबाट हटेको दुईबर्ष पुग्न नपाउँदै देशको अर्थतन्त्रले सङ्कटको सामना गरिरहेको कुरा अर्थमन्त्रीको भनाइबाट पुष्टि हुने वताउँदै सरकारले कर्मचारीलाई तलव ख्वाउन सके पनि विकासका कामको अपेक्षा नगरे हुने अवस्था रहेको उहाँको भनाइ छ ।  
नेकपा (एमाले) तीनबर्ष सरकारमा रहँदा देश असाधारण प्रगतिको मार्गमा अगाडि बढेको र काम गर्न चाहँदा छोटो समयमा पनि सम्भव रहेछ भन्ने कुरा त्यस अवधिका देखिएको चर्चा गर्दै अध्यक्ष ओलीले भूकम्पपछिको पुनर्निर्माण, हजारौं किलोमिटर सडक कालोपत्रे, हजारभन्दा बढी पक्की पुल निर्माण, करिडोरहरू निर्माण, खानेपानीका आयोजना र विद्यालय भवन नमूना बनेको वताउनुभयो । तर, विरोधीहरूले भने सरकारले केही गरेन भनेर भ्रमपूर्ण हल्ला चलाएको भनाइ अध्यक्ष ओलीले राख्नुभयो । 
समाजवादी प्रणालीमा मात्र श्रमजीवी जनताको हित हुने वताउँदै नेपाली जनताको भलाई, समानता, सुरक्षा र सम्मानित जीवनका लागि समृद्ध नेपाल सुखी नेपालीको गन्तव्यमा पुग्नुपर्ने अध्यक्ष ओलीले वताउनुभयो । 
अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले औपचारिक/ अनौपचारिक क्षेत्रमा कार्यरत पेशाकर्मी, श्रमिक, कामदारको सामाजिक सुरक्षाका लागि योगदानमा आधारित पेन्सनको शुरुवात गरेको र यस्तो व्यवस्था वैदेशिक रोजगारमा गएका नेपालीका हकमा पनि हुनुपर्ने कुरामा सरकारले ध्यान दिनुपर्ने भनाइ राख्नुभयो ।  
अध्यक्ष ओलीले भन्नुभयो– २२ लाख भन्दा बढी नेपाली युवा वैदेशिक रोजगारीमा विभिन्न मुलुकमा छन् । ती देशसँग द्विपक्षीय सम्झौता गरेर गएका नेपाली कामदारले त्यस देशका श्रमिकले पाउने सुविधा सरह समान कामका लागि समान ज्याला पाउनुपर्छ, पाएका छन् छैनन्, पेन्सनको रकम समेत जोडेर पारिश्रमिक पाउनुपर्छ, त्यस विषयमा के भइरहेको छ, सरकारले ध्यान पुर्याउनुपर्छ भन्नुभयो । 
उहाँले ट्रेड युनियन आन्दोलनले पनि नयाँ परिस्थितिमा नयाँ मागतर्फ ध्यान दिनुपर्ने विचार व्यक्त गर्नुभयो । 
अध्यक्ष ओलीले अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) स्थापनाको १०४ बर्ष पुगेको र यस अबधिमा त्यस संगठनले मजदुरका हितमा गरेका कामका लागि धन्यवाद दिनुभयो । अध्यक्ष ओलीले विगतमा देशका सार्वजनिक संस्थान, उद्योग, कलकारखाना निजीकरणका नाममा कमिशनका लागि कौडिको मूल्यमा बेच्ने काम भएको स्मरण गर्दै अहिले पनि त्यसो गर्न खोजिँदै छ, रोक्नुपर्छ भन्नुभयो । सिंहदरबार क्षेत्रको फोहोर उठाउने कुरामा राजनीति भइरहेको वताउँदै केही काम गर्न नसक्ने वर्तमान सरकार किन सत्तामा बसिरहेको छ ? आफूलाई अचम्म लागिरहेको अध्यक्ष ओलीले वताउनुभयो ।
नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष विनोद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा आइएलओका प्रतिनिधि, नेपाल उद्योग बाणिज्य महासंघ र नेपाल उद्योग परिसंघका प्रतिनिधिहरूले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा नेकपा (एमाले) का महासचिव शंकर पोखरेल, उपमहासचिव तथा जिफण्टका संरक्षक विष्णु रिमाल, स्थायी कमिटी सदस्यहरू भानुभक्त ढकाल, कृष्णगोपाल श्रेष्ठ लगायत नेताहरू, जनसंगठनका अध्यक्षहरू लगायतको अतिथिका रूपमा उपस्थिति रहेको थियो । 
कार्यक्रममा जिफण्टका अध्यक्ष श्रेष्ठले मे दिवसका अवसरमा मजदुर हितमा भएका काम र आगामी चुनातीका बारेमा आफ्ना भनाइ राख्नुभएको थियो । जिफण्टले यस बर्षको मे दिवसका लागि ‘हाम्रा अधिकार खोसिँदै छन्, संगठित होऔं, प्रशिक्षित होऔं, परिचालित होऔं र अधिकारका लागि हस्तक्षेप गरौं’ भन्ने नारा तय गरेको छ ।