detail-img

देश बनाउन लाहुरे सँस्कृति तोड्नुपर्छः महासचिव पोखरेल 

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले देश बनाउन लाहुरे संस्कृति तोड्नुपर्ने वताउनुभएको छ । त्यो काममा वैदेशिक रोजगारीबाट फर्किएका युवाले पहल गर्नुपर्ने महासचिव पोखरेलले वताउनुभयो ।
रिटर्नी फेडरेशन नेपालको सुनसरीको इटहरीमा सम्पन्न केन्द्रीय कमिटीको प्रथम बैठकमा प्रशिक्षणमूलक सम्बोधन गर्दै महासचिव पोखरेलले वैदेशिक रोजगारीमा अनुभव हासिल गर्नुका साथै दुःख, पीडा व्यहोरेर फर्किएका युवाले लाहुरे सँस्कृतिमा परिवर्तन ल्याउन र स्वदेशमा स्वरोजगारका लागि उत्प्रेरित गर्ने काममा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने वताउनुभयो । 
‘राजनीतिक दलहरूले नीतिगत रूपमा नेतृत्व गर्न सक्छौं, आम मानिसको भावना परिवर्तन गर्न देश विदेशमा अनुभव बटुलेर फर्केका युवालाई सजिलो हुन्छ,’ महासचिव पोखरेलले भन्नुभयो– तपाईंहरूलेदेश बनाउन नयाँ सँस्कृतिको निर्माण गर्ने सामर्थ्य हामीमा छ भन्ने आत्मविश्वास पैदा गर्न सक्नुपर्छ, त्यसो भयो भने राष्ट्र निर्माणको आधारशीला तयार हुने छ । 
वैदेशिक रोजगारी बाध्यता भन्दा पनि आम रूचि र सँस्कृतिका रूपमा रूपान्तरित भएको वताउँदै महासचिव पोखरेले स्वदेशमा कृषि तथा पशुपालन गर्न भन्दा मलेसिया, कतार जान ज्यादा आकर्षित हुने हाम्रो परम्परागत संस्कृतिमा परिवर्तन ल्याउनु जरूरी छ भन्नुभयो । पहिलो विश्व युद्ध र दोस्रो विश्व युद्धमा आफ्ना लागि होइन, अरुका लागि नेपाली युवाले जीवन कुर्वानी गरेको तर समाजमा लाहुरेले एकखालको प्रतिष्ठाका कारण लाहुरे जीवन र मुलुक बाहिर गएर काम गर्ने प्रवृत्तिलाई  प्रवर्द्धन गरेको उहाँको भनाइ छ । 
उहाँले भन्नुभयो– देशमा काम पाइएन, देशमा बस्नेहरू अयोग्य र नालायक हुन् भन्ने भाष्य खडा गरी निरङ्कुश तानाशाही शासन विरूद्ध सङ्घर्ष, त्याग, बलिदान गरेका राजनीतिक दल र नेताहरू विरूद्ध प्रवासमा घृणा ओकल्ने जमात तयार गरिँदै छ, यो सर्वथा गलत हो, यस्तो प्रवृत्तिलाई बदल्नुपर्छ । देश किन बनेन भन्ने बुझ्नु जरूरी छ । 
राजनीतिक स्थायित्व विना देश बनेका उदाहरण दुनियाँमा कहीँ नभएको वताउँदै महासचिव पोखरेलले नेपालमा राजनीतिक स्थायित्व समाप्त पार्ने नियोजित चालबाज सुरु भइरहेको र यो देशका लागि घातक भएको वताउनुभयो । उहाँले भन्नुभयो– हरेक निर्वाचनमा नयाँ शक्तिलाई त्यसको प्रयोगका रूपमा अगाडि सार्ने कुरा त्यही नियोजित षडयन्त्रको उपज हो । त्यस कुरालाई नबुझ्दा हामीले हरेकलाई अयोग्य देख्छौं ।


नेपाल विश्व राजनीतिको अन्तर सङ्घर्षको चपेटामा परेको र पश्चिमा मुलुक नेपालमा राजनीतिक अस्थिरता सिर्जना गर्न चाहने वताउँदै महासचिव पोखरेलले भन्नुभयो– एसियाका खासगरी भारत र चीन विश्व अर्थतन्त्रका रूपमा अगाडि बढिरहेको कुरा युरोप, अमेरिकाका लागि चिन्ताको विषय बनेको छ । उनीहरू एसियामा अशान्ति चाहन्छन्, खासगरी चीन र भारतलाई मिल्न नदिने, एकका विरुद्ध अर्कोलाई प्रयोग गर्ने नीति अन्तर्गत नेपालमा अस्थिरता सिर्जना गर्न चाहन्छन् । 
नेपालमा सामाजिक अराजकता सिर्जना गर्न पश्चिमा मुलुकले ठूलो परिमाणमा लगानी गरिरहेको कुरा नबुझेर नेपालका राजनीतिक दलहरूलाई अयोग्य ठानुन्जेल देश नबन्ने वताउँदै महासचिव पोखरेलले भन्नुभयो– देश बनाउन नागरिकहरूमा आफ्नो देशको पक्षमा उभिने हुटहुटी हुनुपर्छ, शक्ति राष्ट्रहरूले नेपालमा अस्थिरता पैदा गर्न लगानी गरिरहेका छन् भन्ने कुरा बुझ्नुपर्छ र त्यसविरुद्ध जाग्नुपर्छ, उठ्नुपर्छ, जबसम्म हामी जाग्दैनौं, उठ्दैनौं, देश कसरी बन्छ ? बन्दैन । 
‘हामी देश रेमिट्यान्सबाट चलेको छ भन्छौं, अर्बौ रुपियाँको कृषि उत्पादन आयात गर्छौं, विगतमा निर्यात गर्दै आएका मकै लगायत कृषि उत्पादन आयात गर्छौं, कृषि उत्पादन घटेकोमा चिन्ता गर्दैनौं, महासचिव पोखरेलले भन्नुभयो– यसरी देश बन्दै बन्दैन । 
नेपालीले वैदेशिक रोजगारीबाट कमाएर रेमिट्यान्सका रूपमा जति रकम देशमा भित्र्याउने गरेका छौं, त्यसको ८० प्रतिशत हिस्सा भारतीय कामदारले नेपालबाट कमाएर लैजाने गरेको विश्व बैङ्कको तथ्याङ्कले देखाएको चर्चा गर्दै महासचिव पोखरेलले परम्परागत श्रम सँस्कृतिले हामीलाई भारतीय कामदारले नेपालमा गर्ने सेमी मेकानिकल कामलाई उपयुक्त काम नमानेका कारण ती काममा रूचि नभएको विचार व्यक्त गर्नुभयो । 
महासचिव पोखरेलले भन्नुभयो– हाम्रो माटोमा उत्पादन सामथ्र्य छ, युवामा जाँगर छ तर जागीरे सँस्कृतिले उत्पादनका काममा लाग्न प्रेरित गर्दैन । स्वरोजगारप्रति आकर्षकण कम र अरुले लगाइदिएको जागीर खाने, अरुको खटनपटनमा चल्ने कुरा प्राथमिकताको विषय बनेको छ । 
‘मुलुक बनाउने कुरामा केही कमी भएका होलान्, सबै ठीक छ भन्दिन तर नेपाल सम्भावना नभएका मुलुकका रूपमा बुझ्न थाल्यौं भने त्यो गल्ती हुने छ’ महासचिव पोखरेलले देशमा प्रचुर सम्भावना रहेको र ती सम्भावनालाई उपयोग गरी देश बनाउने कामको नेतृत्व नेकपा (एमाले) ले गर्ने र यसका जनसंगठनले गर्नुपर्छ भन्नुभयो । महासचिव पोखरेलले भन्नुभयो– हाम्रै नेतृत्वमा देश बन्छ । 
२०६२÷६३ को जनआन्दोलनपछि कतिपय नेताहरूमा अब बलिदान गर्ने समय सकियो, सेवा र सुविधाको समय आयो भन्ने भावना विकास भएका कारण पार्टीभित्र सिथिलता देखिएको वताउँदै महासचिव पोखरेलले भन्नुभयो– एउटा क्रान्तिकारी पार्टीका लागि त्यस्तो भावना अत्यन्त घातक हो, बिष समान हो किनकी नेपाली समाज बदल्ने हाम्रो कर्तव्य पूरा भएको छैन । समाज बदल्न बाधक रहेको राजनीतिक प्रणालीमात्र बदलिएको छ । 
‘राज्य सत्तामा पुगेर काम गर्ने मौका पाउँदा जनता र राष्ट्रका पक्षमा काम गरेको नेकपा (एमाले) ले मात्रै हो,’ महासचिव पोखरेलले भन्नुभयो– देशमा ठूला काम कसैले गरेको छ भने त्यो एमालेले गरेको छ । पूर्वपश्चिम तीनवटा राजमार्ग, सातवटा उत्तर दक्षिण करिडोर, नदी पथान्तरण आयोजना, ऊर्जा सङ्कट समाधानको योजना, सबै विमानस्थलका धावनमार्ग कालोपत्रे, आठ नौवटा विमानस्थलमा रात्रिकालीन अवतरण सुनिश्चितता, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र लगायत धेरै पूर्वाधारका काम भएका छन् । 
महासचिव पोखरेलले नालायकहरू सत्तामा पुगेपछि तयार भएका संरचना सञ्चालन गर्ने योजना नबनाई ती संरचना प्रयोगविहीन बनाउने र यसमा पनि एमालेको कमजोरी देखाउने रणनीतिमा  लागेको वताउनुभयो । 
महासचिव पोखरेलले देश बनाउने योजना, त्यसका लागि योग्य नेतृत्व र संगठन नेकपा (एमाले) सँग मात्र भएको चर्चा गर्दै आगामी चारबर्षपछि हुने निर्वाचनमा बहुमत ल्याई देश बनाउने अवसरका लागि सबै जनसंगठनका नेताकार्यकर्ता अहिलेदेखि नै क्रियाशील हुनुपर्ने वताउनुभयो । 
उहाँले भन्नुभयो– रिटर्नी फेडरेशन पनि त्यसरी सक्रिय हुनुपर्ने र नेकपा (एमाले) विरूद्ध स्वदेश तथा विदेशबाट क्याम्पेन चलाईरहेकाहरूलाई एमालेको समर्थक बनाई जनाधार तयार गर्न रिटर्नी फेडेरेशनमा रहेका साथीहरू लाग्नुपर्छ ।