detail-img

सिङ्गो समाज माथि उठाउन समृद्धिको एजेण्डाः अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारबाट हटेपछि ‘समृद्ध नेपाल, सुखी नेपाली’ शब्द उच्चारण गर्ने आँट समेत कसैले गर्न नसकेको बताउनुभएको छ । 
पार्टीको विज्ञान तथा प्रविधि विभागले शनिबार पार्टी कार्यालय, च्यासल, ललितपुरमा आयोजना गरेको विज्ञान, प्रविधि तथा नवप्रवर्द्धन नीतिसम्बन्धमा एकदिवसीय कार्यशालामा सम्बोधन गर्दै अध्यक्ष ओलीले सिङ्गो समाजलाई माथि उठाउनका लागि आफ्नो नेतृत्वको सरकारले  समृद्धिको एजेण्डालाई अघि बढाएको वताउनुभयो । 
त्यसपछिका कुनै पनि सरकार र प्रधानमन्त्रीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने आँट पनि गर्न नसकेको बताउनुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो– हामी सरकारबाट हटेपछि ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने शब्द कुनै सरकार, कुनै प्रधानमन्त्री, कुनै नेता, हाम्रा विपक्षहरू कसैले पनि उच्चारण गर्ने आँट गर्दैनन् । सुखी नेपाली भन्ने समेत आँट नगर्नेहरूले देश र जनताका लागि के गर्छन् ?

 
देशको विकास तीब्र गतिमा गर्नका लागि आफूहरूले समृद्धिको एजेण्डालाई अघि बढाएको भनाइ अध्यक्ष ओलीले राख्नुभयो । उहाँले विज्ञान र प्रविधिको प्रयोग गर्न सके मुलुकमा विकास तीब्र गतिमा हुने र उत्पादन बढाउन सकिने धारणा राख्नुभयो । 
अध्यक्ष ओलीले गरीबी छिटो अन्त्य हुने गरी विज्ञान र प्रविधिको प्रयोग गर्न जरूरी रहेको समेत बताउनुभयो । विकास, निर्माणको कामलाई अघि बढाउनका लागि गरीबी अन्त्य हुन आवश्यक भएकाले विज्ञान र प्रविधिको क्षेत्रमा नेपालले जोड दिएर काम गर्न आवश्यक रहेको पनि उहाँले स्पष्ट पार्नुभयो ।
अध्यक्ष ओलीले १७–१८ प्रतिशत जनता अझै गरिबीको रेखामुनि रहेको उल्लेख गर्दै गरिबी अन्त्य गर्न विज्ञान र प्रविधिको प्रयोगमा ध्यान दिनुपर्ने बताउनुभएको छ ।
नेकपा (एमाले) केन्द्रीय कमिटीका सदस्य, विज्ञान तथा प्रविधि विभागका प्रमुख टङ्क कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा प्रा. डा. भरत पहारीले कार्यशालामा छलफलका लागि विषय प्रस्तुत गर्नुभएको थियो । 
कार्यक्रम सञ्चालक तथा विभागका सचिव सन्जिव रोकाका अनुसार, प्रा.डा. पहारीले विषय प्रस्तुत गर्नुभएपछि विषयविज्ञहरूका विभिन्न छवटा समूह बनाइ छलफल गरिएको छ । शिक्षा, अनुसन्धान र नवप्रवर्द्धन, ऊर्जा, स्वास्थ्य, पूर्वाधार, अर्थ प्रविधि, सुशासन, कृषि, पर्यटन र उद्योग गरी विभिन्न समूहमा भएको छलफलको निष्कर्षका आधारमा प्रतिवेदन बनाई राष्ट्रिय नीति निर्माणका लागि पार्टीलाई बुझाइने सचिव रोकाले वताउनुभयो ।