detail-img

पार्टीका उपाध्यक्षदेखि केन्द्रीय कमिटीका सदस्यसम्मको कार्यविभाजनको आधार र कार्यादेश 

काठमाडौं । नेकपा (एमाले) ले केन्द्रीय पदाधिकारी तथा केन्द्रीय कमिटीका सदस्यहरूको कार्यविभाजन गर्दा निश्चित आधार बनाएको छ भने उपाध्यक्षदेखि केन्द्रीय सदस्यसम्म सबैका लागि कार्यादेश समेत तोकेको छ । 
१.बरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष कमरेडहरूलाई विभागीय कामको संयोजनको अतिरिक्त जिम्मा थपिएकोे छ । यस प्रयोजनको लागि ३३ विभागलाई सात समूहमा वर्गीकृत गरिएको छ ।
२.प्रदेशको इञ्चार्जमा सचिवहरू र जिल्लाको इञ्चार्जमा स्थायी कमिटी, पोलिटव्युरो र अपुग भएको स्थानमा सांगठानिक अनुभव भएका केन्द्रीय सदस्यहरूलाई तोकिएको छ । बागमती प्रदेशलाई विशेष व्यवस्था अन्तर्गत समन्वय गर्न, विशेष व्यवस्था नभएसम्म कामको संयोजन केन्द्रीय कार्यालयबाटै गर्ने प्रस्ताव गरिएको छ । 
३.अधिकांश केन्द्रीय सदस्यहरूलाई कुनै न कुनै तहको भूगोलको जिम्मेवारीमा जोडिएको छ । केन्द्रीय नेताहरूको स्वतन्त्र भूमिका प्रकट हुने अपेक्षासहित आमरूपमा भूगोल र फाँटबाट सहइञ्चार्ज र विभागहरूबाट उपप्रमुखको व्यवस्था हटाइएको छ ।
४.केन्द्रीय कमिटीको निर्णय र केन्द्रीय सदस्यहरूको सुझावलाई ध्यानमा राखी प्रदेश र जिल्ला इञ्चार्जको जिम्मेवारी तोकिएका इञ्चार्जहरूलाई आफ्नो भूगोल बाहिर र केन्द्रीय सदस्यहरूलाई आफ्नो पालिका बाहिरको जिम्मेवारी प्रस्ताव गरिएको छ । केन्द्रीय कमिटीमा प्रतिनिधित्व नभएका जिल्लामा पहिलेझैं बाहिर जिल्लाका केन्द्रीय कमिटी सदस्यलाई जिम्मेवारी तोकिएको छ ।
५केन्द्रीय पार्टी स्कूल र प्रदेशको पार्टी स्कूल बीच समन्वय र सहजीकरणको लागि प्रत्येक प्रदेशमा एक÷एक जना केन्द्रीय सदस्य खटाउने प्रस्ताव गरिएको छ । यसैगरी केन्द्रीय जनसंगठन समन्वय संयन्त्र र प्रदेशको जनसंगठन समन्वय संयन्त्र तथा केन्द्रीय प्रचार विभाग र प्रदेशको प्रचार कार्य बीच समन्वय एवम सहजीकरणको लागि थप एक÷एक जना केन्द्रीय सदस्यलाई जिम्मेवारी तोकिने प्रस्ताव गरिएको छ ।
६.प्रदेशको कामको महत्वलाई ध्यानमा राखी अब निर्वाचित हुने सात प्रदेशका अध्यक्षहरू पदेन पोलिटव्युरो सदस्यसरह हुने प्रस्ताव गरिएको छ । 
७.केन्द्रीय कार्यालय सचिवलाई पदेन केन्द्रीय सदस्यको रूपमा बैठकमा सहभागी गराइने छ ।
कार्यादेश यस प्रकार छः
क. विभागहरूको समूहलाई संयोजन गर्ने उपाध्यक्ष कमरेडहरूले–
१. विभागहरूका साझा कार्यक्षेत्र पहिल्याउने र तिनका नीतिहरूमा सामञ्जस्यता ल्याउन परामर्श गर्ने,
२. आफ्नो कार्यक्षेत्रभित्र पर्ने विषयमा नीतिगत अवधारणा तयार  गर्न बाँकी विभागलाई नीति निर्माणमा सहजीकरण गर्ने,
३. विभागका कार्यक्षेत्रभित्र पर्ने विषयमा आवश्यकता अनुसार सरकारको ध्यानाकर्षण गराउने र दबाब सिर्जना गर्न सहजीकरण र समन्वय गर्ने,
४. सम्बन्धित विभागसँग सम्बन्धित विषयमा पार्टी अध्यक्ष र केन्द्रीय कमिटीलाई आवश्यक सुझाव दिने ।

ख. प्रदेश इञ्चार्जका रुपमा तोकिनुभएका कमरेडहरूले–
१. प्रदेशभित्र मिसन ग्रासरुटका क्रममा पहिचान भएका समस्या समाधानमा अग्रणी भूमिका खेल्ने ।
२. प्रदेशमा पार्टीको वार्षिक कार्ययोजना कार्यान्वयन गर्न अगुवाइ गर्ने ।
३.     विगतदेखि नै इञ्चार्जले सम्पादन गरी आएका काममा अतिरिक्त मिसन ग्रासरुटका क्रममा देखापरेका पार्टीभित्रका समस्या समाधानका लागि तत्काल पहल गर्ने । यसका लागि आवश्यकता अनुसार प्रदेश कमिटीका पदाधिकारी या वरिष्ठ कमरेडहरू रहनुभएको संयन्त्र निर्माण गर्ने ।

ग. जिल्ला इञ्चार्जका रुपमा तोकिनुभएका कमरेडहरूले– 
१. जिल्लाभित्र मिसन ग्रासरुटका क्रममा पहिचान भएका समस्या समाधानमा अग्रणी भूमिका खेल्ने ।
२. जिल्लामा पार्टीको वार्षिक कार्ययोजना कार्यान्वयन गर्न अगुवाइ गर्ने । यसका लागि जिल्लामा खटिनुभएका अन्य केन्द्रीय सदस्य र प्रदेश कमिटी सदस्यहरूसँग समन्वय गर्ने ।
३. विगतदेखि नै इञ्चार्जले सम्पादन गरी आएका काममा अतिरिक्त मिसन ग्रासरुटका क्रममा देखापरेका पार्टीभित्रका समस्या समाधानका लागि भूमिका खेल्ने  । यसका लागि प्रदेश इञ्चार्ज र प्रदेशमा गठन गरिएको संयन्त्रसँग समन्वय गर्ने, सहयोग गर्ने ।

घ.  पालिकाहरूमा इञ्चार्जका रुपमा तोकिनुभएका कमरेडहरूले–
१. सम्बन्धित पालिकाहरूभित्र मिसन ग्रासरुटका क्रममा पहिचान भएका समस्या समाधानमा अग्रणी भूमिका खेल्ने ।
२. सम्बन्धित पालिकाहरूमा पार्टीको वार्षिक कार्ययोजना कार्यान्वयन गर्न अगुवाइ गर्ने । यसका लागि पालिकामा खटिनुभएका प्रदेश कमिटी र जिल्ला कमिटीका सदस्यहरूसँग समन्वय गर्ने ।
३. विगतदेखि नै इञ्चार्जले सम्पादन गरी आएका काममा अतिरिक्त मिसन ग्रासरुटका क्रममा देखा परेका पार्टीभित्रका समस्या समाधानका लागि भूमिका खेल्ने  । यसका लागि जिल्ला इञ्चार्ज र संयन्त्रसँग समन्वय गर्ने, संयन्त्रका काममा सहयोग गर्ने । 

ङ.प्रदेशमा पार्टी स्कुलको संयोजन गर्न खटिनुभएका कमरेडहरूले–
१. सम्बन्धित प्रदेश कमिटीमा पार्टी स्कुल विभाग गठन गर्न सहजीकरण गर्ने ।
२. प्रादेशिक स्कुल स्थापना र माध्यमिक तहको पाठ्यक्रममाथि आधारित प्रशिक्षण कार्यक्रमको कार्ययोजना बनाउने ।
३. यसका लागि आवश्यक स्रोत र लजिस्टिकको व्यवस्थापनमा सहजीकरण गर्ने ।
४. केन्द्रीय पार्टी स्कुल विभागसँगको समन्वयमा प्रदेशमा नियमित स्कुल सञ्चालन गर्ने र जिल्ला कमिटीले सञ्चालन गर्ने आधारभूत स्कुलका लागि प्रशिक्षकहरू उत्पादन गर्ने ।

च.प्रदेशमा जनसङ्गठनहरुको काममा समन्वय गर्न खटिनुभएका कमरेडहरूले–
१. सम्बन्धित प्रदेश कमिटीमा जनसङ्गठन समन्वय संयन्त्र गठन गर्न सहजीकरण गर्ने ।
२. जनसङ्गठनहरुका प्रदेश अधिवेशन÷सम्मेलन गर्न, तिनको नियमित बैठक गर्न र कार्ययोजना बनाउन समन्वय र सहजीकरण गर्ने ।
३. जनसरोकारका मुद्दाहरूको पहिचान र तिनको समाधानका लागि आवश्यकता अनुसार प्रशासनको ध्यानाकर्षण, जनदबाब र आन्दोलन उठान गर्न सहजीकरण गर्ने ।

छ. प्रदेशमा प्रचारको काममा समन्वय गर्न खटिनुभएका कमरेडहरूले–
१. सम्बन्धित प्रदेश कमिटीमा पार्टी प्रचार तथा प्रकाशन विभाग गठन गर्न र त्यसलाई सक्रिय  बनाउन सहजीकरण गर्ने ।
२. प्रदेशभित्र पार्टी प्रचार कार्यको कार्ययोजना बनाउन  र कार्यान्वयन गर्न समन्वय र सहजीकरण गर्ने ।
३. सम्बन्धित प्रदेशमा रहेका मूलधारमा सञ्चारमाध्यमसँग समन्वय गर्न र तिनलाई सम्भव भएसम्म सकारात्मक बनाउन समन्वय गर्ने ।
४. प्रदेशभित्र न्यु मिडियामा सक्रिय हुनसक्ने कन्टेन्ट निर्माता, भिडियो प्रोड्युसर र सामाजिक सञ्जालमा राम्रो पहुँच भएका साथीहरूको नेटवर्क निर्माण गर्ने र तिनका माध्यमबाट पार्टी प्रचारलाई प्रभावकारी र सशक्त बनाउने ।
५. गलत सूचना र भ्रामक सूचनाहरुको पहिचान गर्दै तिनको खण्डनका लागि सक्रिय भूमिका निर्वाह गर्ने ।