२१ भदौ (२०८२), ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन अन्तर्गत आज दोस्रो दिन प्रतिवेदनहरूमाथि समूहगत छलफल सम्पन्न भएको छ ।
ललितपुरको गोदावरीस्थित सनराइज हलमा हिजोदेखि जारी विधान महाधिवेशनमा प्रस्तुत प्रतिवेदनहरूमाथि छलफलका लागि १० वटा समूह बनाइएको थियो ।
विधान महाधिवेशनको तेस्रो तथा अन्तिम दिन भोलि सबै समूहबाट टोली नेताले प्रतिवेदनहरूमाथि समूह छलफलका क्रममा प्रतिनिधिहरूले राखेका सुझाव प्रस्तुत गर्ने छन् । त्यसरी आएका सुझावका सम्बन्धमा जवाफ दिने र प्रतिवेदनहरू पारित गरिने कार्यतालिका रहेको छ ।
महाधिवेशनमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव शङ्कर पोखरेलले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
त्यस्तै केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोरा, केन्द्रीय अनुशासन आयोगका तर्फबाट अध्यक्ष केशव वडाल, केन्द्रीय लेखा आयोगका तर्फबाट अध्यक्ष डा. पुष्प कँडेल र केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा. विजय सुब्बाले आ–आफ्ना निकायको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मूल नारासहित तय गरी सुरु भएको विधान महाधिवेशन समसामयिक प्रस्ताव पारित गर्दै भोलि सम्पन्न हुनेछ । विधान महाधिवेशनमा प्रतिनिधि र आयोजक गरी दुई हजार ३४१ जनाको सहभागिता रहेको छ ।