२३ भदौ (२०८२), काठमाडौं । नेकपा (एमाले)का सचिव रघुवीर महासेठले मिसन–२०८४ सफल बनाउन पार्टी एकताबद्ध भई अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।
नेकपा (एमाले) मधेश प्रदेश सम्पर्क कमिटी र मधेशका आठवटै जिल्ला सम्पर्क मञ्चको आयोजनामा आज तुल्सीलाल स्मृति प्रतिष्ठानको सभाहलमा आयोेजित ‘सम्पर्क मञ्च र भूगोल पार्टीबीच अन्तरसम्बन्ध’ विषयक अन्तरक्रिया कार्यक्रममा सचिव महासेठले आगामी निर्वाचनमा पार्टीलाई एकल बहुमत दिलाउन पार्टीभित्रका अन्तरविरोध र गुटबन्दी रोक्नुपर्नेमा जोड दिनुभयो ।
विगतमा एमाले र माओवादी चुनावी गठबन्धनका साथ निर्वाचनमा जाँदा पार्टीलाई २०७४ को संसदीय निर्वाचनमा मधेशमा दुई स्थानमा मात्र सफलता प्राप्त भएको र २०७९ को निर्वाचनमा दशस्थानमा विजय प्राप्त भएको स्मरण गराउँदै उहाँले आगामी निर्वाचनमा मधेशमा कम्तीमा १५ स्थानमा विजय प्राप्त गर्ने गरी योजना बनाउनुपर्ने बताउनुभयो ।
सचिव महासेठले निर्वाचन जित्ने सम्भावना बढी रहेका जिल्ला र क्षेत्रहरूको पहिचान गर्नुपर्ने हँुदा त्यसको अध्ययन गर्न पार्टीको मधेश प्रदेश कमिटीलाई आग्रह पनि गर्नुभयो । उहाँले सम्पर्क कमिटी र सम्पर्क मञ्चहरू पार्टीका जग भएको भन्दै सम्पर्क मञ्चहरू बलियो हुँदा पार्टी र पार्टी बलियो हुँदा नेताहरू बलियो हुने भएकाले सम्पर्क मञ्चहरूलाई बलियो बनाउने कुरामा सबैले सहयोग गर्नुपर्ने धारणा राख्नुभयो ।
पार्टीको परराष्ट्र मामिला विभाग प्रमुख समेत रहनुभएका सचिव महासेठले देश हितका लागि सामाजिक सञ्जाल बन्द गरिएको बताउनुभयो । भारत लगायतका देशमा दर्ता भई सञ्चालन भइरहेका फेसबुक लगायत सामाजिक सञ्जाल नेपालमा दर्ता हुन नमान्नु÷ नआउनु हेपाहा प्रवृत्ति भएको बताउँदै सचिव महासेठले जेन जी पुस्ता र अन्य सामाजिक सञ्जाल प्रयोगकर्ताहरू सबैले यो विषयलाई बुझ्नुपर्ने कुरामा जोड दिनुभयो ।
पार्टीका स्थायी कमिटी सदस्य तथा सम्पर्क समन्वय कमिटीका इन्चार्ज लालबाबु पण्डिलले भूगोलको पार्टी कमिटी र सम्पर्क मञ्चबीचको सम्बन्ध सुमधुर र घनिष्ट हुनुपर्नेमा जोड दिनुभयो । पार्टीको विधान महाधिवेशनले विधान संशोधन गरी जिल्ला सम्पर्क मञ्चहरूलाई सम्पर्क कमिटीको मान्यता दिएको जानकारी गराउँदै उहााले सम्पर्क मञ्चहरूको क्रियाशीलता र मधेशमा पालिका र वडा तहसम्म गठन हुन बाँकी सम्पर्क मञ्चहरू गठनको काम अभियानका रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारको समयमा आफूले तराई समृद्धिका लागि बजेट विनियोजन गराउने काम गरेको स्मरण गर्दै तराई मधेशको दक्षिणी भेगमा ठूलो जनसङ्ख्याको बसोवास रहेकाले पार्टी कामलाई त्यस क्षेत्रमा केन्द्रित गर्नुपर्ने बताउनुभयो ।
पार्टीका स्थायी कमिटी सदस्य एवं मधेश प्रदेश इन्चार्ज लिलानाथ श्रेष्ठले मधेश प्रदेशमा १३६ पालिका रहेका र ति पालिकाहरूबाट राजधानीमा आई बसोवास गरिरहेका विद्यार्थी, युवा, पेशाकर्मी, मजदूरहरू ठूलो सङ्ख्यामा रहेकाले तिनीहरूलाई सम्पर्क गरी सबै पालिकास्तरका सम्पर्क मञ्च गठन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
उहाँले भूगोलको पार्टी र सम्पर्क मञ्चहरूबीच बलियो अन्तरसम्बन्ध विकास गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि आफूले पूर्ण सहयोग गर्ने विश्वास दिलाउनुभयो ।
नेकपा (एमाले) मधेश प्रदेश सम्पर्क मञ्चका अध्यक्ष प्रवीन यादवको अध्यक्षतामा भएको अन्तरक्रियामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा मधेश प्रदेश सम्पर्क मञ्चका इन्चार्ज नरेन्द्र श्रेष्ठ, सम्पर्क समन्वय कमिटीका संयोजक श्यामकुमार बस्नेत, नेकपा (एमाले) मधेश प्रदेश कमिटीका अध्यक्ष चन्द्रेश्वर मण्डल लगायत नेताहरूले बोल्नुभएको थियो । अन्तरक्रियामा सहभागीहरूले भूगोलको पार्टी र सम्पर्क मञ्चको सम्बन्ध र समस्याहरूका बारेमा बोल्नुभएको थियो ।
कार्यक्रममा पार्टीका पोलिटव्यूरो सदस्यहरू पुरुषोत्तम पौडेल, अच्यूत मैनाली, ज्वालाकुमारी साह, जुलीकुमारी महतो, केन्द्रीय सदस्यहरू, मधेश प्रदेश सरकारका मन्त्रीहरू, जिल्ला अध्यक्षहरू, आठवटै जिल्लाका सम्पर्क मञ्चका अध्यक्षहरू लगायत नेताकार्यकर्ताहरूको सहभागिता रहेको थियो ।