detail-img

पुराना कम्युनिष्ट नेता चौधरीको निधन

काठमाडौं । नेपालको कम्युनिष्ट आन्दोलनका पुराना नेता महेश चौधरीको आज बिहान निधन भएको छ । मधुमेह र उच्च रक्तचापबाट पीडित चौधरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा उपचारका क्रममा निधन भएको हो । 
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आज शोक विज्ञप्ति प्रकाशित गरी उहाँको निधनको खवरले पार्टी अत्यन्त दःखी र स्तब्ध भएको जनाउनुभएको छ । महासचिव पोखरेलले स्व. चौधरीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारका सदस्यहरू, स्व. चौधरीकी पत्नी शान्ता चौधरी र छोराछोरीप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ । 
पूर्व सांसद तथा राज्यमन्त्री चौधरी नेकपा (माले) गठनको समयदेखि नै पार्टीमा क्रियाशील रहनु भई पार्टीका सबै आन्दोलनमा सक्रिय सहभागिता जनाउनुभएका एक इमान्दार र निष्ठावान् नेता हुनुहुन्थ्यो । 
पार्टीमा विभिन्न जिम्मेवारी सम्हाल्नुका साथै विगतमा राष्ट्रियसभा र संविधानसभा सदस्य बन्नुभएका चौधरीले नेकपा (एमाले) सरकारमा रहेको समयमा राज्यमन्त्रीको जिम्मेवारीसमेत सम्हाल्नुभएको थियो । 
महासचिव पोखरेलले शोक विज्ञप्तिमा स्व. चौधरीले कम्युनिष्ट आन्दोलनमा पुर्याउनुभएको योगदान सधैं स्मरणीय रहने छ भन्नुभएको छ ।
दाङको घोराही उपमहानगरपालिका–४ वेलभार निवासी नेता चौधरीका श्रीमती, दुई छोरा र एक छोरी हुनुहुन्छ ।