detail-img

कोशी प्रदेशमा भइरहेका उच्छृङ्खल र हिंसात्मक गतिविधिलाई सरकारबाटै प्रोत्साहनः अध्यक्ष ओली 

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पहिचानका नाममा कोशी प्रदेशमा भइरहेको उच्छृङ्खल र हिंसात्मक गतिविधिमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रत्यक्ष संलग्नता रहेको बताउनुभएको छ ।
अध्यक्ष ओलीले पार्टीको केन्द्रीय कमिटीमा मनोनीत सदस्यहरूको शपथ ग्रहणका लागि आज पार्टी कार्यालय, च्यासल, ललितपुरमा आयोजित कार्यक्रममा नेकपा (एमाले) का नेताहरूमाथि भइरहेको हमलामा माओवादीका कार्यकर्ता संलग्न रहेको वताउनुभयो । 
अध्यक्ष ओलीले भन्नुभयो– हामीमाथि निरन्तर आक्रमण हुँदा पनि सरकारले उच्छृङ्खल समूहलाई नियन्त्रण नगर्नुको कारण उनीहरू जातीय राज्य भन्ने प्रचण्डपथमा लागेका मानिस हुन् । विरोधका नाममा भइरहेका हिंसात्मक गतिविधि नेकपा (एमाले) का विरूद्धमा लक्षित छ र त्यसमा प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रोत्साहन गरिरहेका छन् ।  


जातीय राज्य भन्ने प्रचण्डपथ देशद्रोही अपराधि पथ भएको हुँदा  त्यसका विरूद्धमा पार्टीले दृढतापूर्वक मुकाविला गर्ने र सफलता प्राप्त गर्ने अध्यक्ष ओलीको भनाइ छ ।  
उहाँले माओवादीले पहिले कोशी प्रदेश नामाकरणमा सहमत भएको र पछि गल्ती भयो, पुनर्विचार गर्नुपर्छ भनेर विरोधमा  रहेका मानिसलाई भड्काइरहेको वताउनुभयो । 
कोशी प्रदेश नामाकरणको विरोधमा हिंसात्मक गतिविधिमा संलग्नहरूलाई प्रचण्ड सरकारले नियन्त्रण नगरेको र नगर्ने हुँदा नेकपा (एमाले) ले आफ्ना नेताकार्यकर्ताको संरक्षणका लागि  तयारी गर्नुपर्ने बेला भएको अध्यक्ष ओलीले वताउनुभयो । 
आजै इलाममा नेकपा (एमाले)  कोशी प्रदेशसभा संसदीय दलका उपनेता राम राना र उदयपुरमा उपसभामुख सिर्जना दनुवारमाथि पहिचान पक्षधरहरूले आक्रमण प्रयास गरेका थिए । 
कार्यक्रममा अध्यक्ष ओलीले पार्टीको केन्द्रीय कमिटीमा मनोनीत केन्द्रीय सदस्यहरूलाई शपथ ग्रहण गराउनुभयो । उहाँले देशलाई गरिबीबाट समृद्धितर्फ लैजाने अभिभारा नेकपा (एमाले) को काँधमा रहेको र यस अभिभारा पूरा गर्ने यात्रामा जोडिनुभएका कमरेडहरूको राजनीतिक र व्यक्तिगत जीवन सफल रहोस् भनी शुभकामना दिनुभयो । 
अध्यक्ष ओलीले शासन सत्ताका लागि किरियापुत्रीको हत्या गर्नेदेखि मन्दिरमा १०८ किलो रुद्राक्ष चढाउनेसम्मका काम भइरहेको तर देशको अवस्था जटिल रहेको वताउँदै नेकपा (एमाले) राष्ट्र र जनताप्रतिको इमान्दारीबाट तलमाथि नभई अगाडि बढ्ने छ भन्नुभयो । 
शपथ ग्रहण गर्नेहरूमा मुकुन्द न्यौपाने, प्रेमबहादुर सिंह, भागवत विश्वासी, चुणामणि जंगली, हेमराज राई, ठम्मर विष्ट, अजय गुप्ता, एकवाल मिया, गणेश खनाल, यमबहादुर परियार, सुरेन्द्र मानन्धर, उमाशंकर अरगरिया र कार्यालय सचिव डा. भीष्मनाथ अधिकारी हुनुहुन्छ । 
कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय  प्रदीप ज्ञवाली र  विष्णु रिमाललगायत नेताहरूको उपस्थिति रहेको थियो ।