detail-img

विकास र समृद्धिको ढोका एमालेले खोल्छः अध्यक्ष ओली

स्याङ्जा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देश र जनताको हितका लागि नेकपा (एमाले) निष्ठाका साथ लागिरहेको र देशको विकास पनि एमालेले नै गर्ने वताउनुभएको छ । 
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाको प्रशासकीय भवन  र आँधिखोला गाउँपालिकाको नयाँ भवन उद्घाटन समारोहलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष ओलीले देश बनाउने काममा सबै इमान्दारीसाथ जुट्नुपर्ने वताउनुभयो । 
नेकपा (एमाले) ले देशमा विकास र समृद्धिको ढोका खोल्ने अध्यक्ष ओलीले वताउनुभयो ।


नेकपा (एमाले) ले कैयौं पुल बनाएको, बाटो बनाएको, हुलाकी राजमार्ग र मदनभण्डारी राजमार्ग बनाएको, पुरानो पूर्वपश्चिम राजमार्ग चौडा गर्ने, पूर्वपश्चिम रेलमार्ग बनाइँदै गरेको, जनकपुरमा रेल ल्याएर कुदाएको, कृषिको आधुनिकीकरण, एकैदिन ३७६ अस्पताल भवन शिलान्यास गर्ने काम गरेको स्मरण गर्दै अध्यक्ष ओलीले एमालेकै नेतृत्वको सरकार रहेका बेला देश विकास भएको बताउनुभयो । 
नेकपा (एमाले) ले सरकार छाडेपछि दुई वर्षमा देशको अर्थतन्त्र ध्वस्त भएको भन्दै अध्यक्ष ओलीले देश बनाउने र नबनाउने पार्टी छुट्याउनुपर्ने वताउनुभयो । 
नेकपा (एमाले) सरकारमा हुँदा विकासले फड्को मारेको वताउँदै पूर्वप्रधानमन्त्री ओलीले वर्तमान सरकारलाई एमालेले जस्तो काम गरेर देखाउन चुनौती दिनुभयो । 
उहाँले वर्तमान सरकारलाई नेकपा (एमाले) को पालामा शुरू भएका विकास निर्माणसम्बन्धी आयोजनाका बजेट कटौती नगर्न आग्रह गर्नुभयो ।
नेपालका खोलानालाको सदुपयोग गर्नुपर्ने भन्दै अध्यक्ष ओलीले सदुपयोगका नाममा प्रधानमन्त्री प्रचण्डले जस्तो मुर्रा राँगासँग नदी साट्ने जस्तो काम गर्न नहुने भनाइ राख्नुभयो ।  
उहाँले नेपाल आफैंले बनाउने भनेका जलविद्युत आयोजना प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतलाई सुम्पिएको र राष्ट्रिय हितको पक्षमा काम गर्न नसकेको बताउनुभएको छ ।
अध्यक्ष ओलीले अहिले पनि देशमा पहिचानका नाममा हिंसा र आतङ्क मच्चाउने काम भइरहेको भन्दै तिनीहरूलाई नियन्त्रणमा लिएर त्यस्ता गतिविधि रोक्नुपर्ने बताउनुभयो ।
कोशी प्रदेशमा भइरहेको आन्दोलनप्रति लक्षित गर्दै अध्यक्ष ओलीले पहिचानका नाममा भइरहेको आतङ्क गलत हो भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भन्न नसकेको बताउनुभयो । 
कार्यक्रममा नेकपा (एमाले) का सचिव पद्मा अर्यालले कालापानी, लिम्पियाधुरा र लिपुलेकको भूभाग बंगलादेशसम्मको बाटो दिए सटटपट्टा गर्न सकिने  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारत भ्रमणमा रहेको समयममा बोलेको विषयप्रति आपत्ति प्रकट गर्दै प्रधानमन्त्रीको भनाइ राष्ट्रघाती भएको वताउनुभयो ।
उहाँले नेपाली जनताले सबै राजनीतिक दल र सबै नेता उस्तै भन्ने होइन, देशको स्वाभिमानका लागि सत्ता र कुर्सी त्याग्न परे त्याग्ने र सत्ताका लागि सौदावाजी गर्ने नेताबीच फरक छुट्याउनुपर्ने  वताउनुभयो । उहाँले नेकपा (एमाले) सरकारमा रहँदा र आफू स्याङ्जाको जनप्रतिनिधि  हुँदा गरिएका विकासका कामको पनि चर्चा गर्नुभएको थियो ।