detail-img

अधिकारीद्वारा संगठन विभाग  प्रमुखको पदभार ग्रहण 

काठमाडौं । नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख काशिनाथ अधिकारीले संगठनको काममा सबैको सहयोग आवश्यक रहेको वताउनुभएको छ । उहाँले पार्टी निर्माणको काममा सबैको सहयोग रहँदा सफलता प्राप्त हुने वताउनुभयो । 
पार्टीको केन्द्रीय कमिटीको पाँचौँ बैठक र सचिवालयको २२औं बैठकपछि गरिएको कार्यविभाजन बमोजिम आइतबार संगठन विभाग प्रमुखको पदभार ग्रहण गर्नुहुँदै उहाँले पार्टी एकता र विभाजनका क्रममा पार्टीको संगठन ध्वस्त भएको अवस्थाबाट आजको अवस्थामा ल्याउन विगतमा संगठन विभाग प्रमुख र संगठन विभागका सदस्यहरूबाट भएको कामको प्रशंसा गर्नुभयो ।


पार्टीको दशौं महाधिवेशनपछि संगठन विभाग प्रमुखको जिम्मेवारी स्थायी कमिटी सदस्य खगराज अधिकारीले सम्हाल्नुभएको थियो । यसबीचमा विभागले सात प्रदेशमा कार्यशाला सम्पन्न गरेको छ भने हाल पार्टी सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणको काम अभियानका रूपमा चलिरहेको छ । 
नयाँ प्रमुखलाई पदभार हस्तान्तरण गर्दै निवर्तमान प्रमुख, स्थायी कमिटी सदस्य खगराज अधिकारीले यसबीचमा सबै जनसंगठनहरूका राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न सकिएको र संगठन विभागको जिम्मेवारीमा रहँदा गरिएको अनुभव आफ्नालागि प्रेरणादायी रहेको वताउनुभयो । पदवहालीमा स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकाल, केन्द्रीय कमिटीका सदस्यहरू लगायतको उपस्थिति रहेको थियो ।