detail-img

दलहरूलाई महासचिवको आह्वान–नीति, उद्देश्य, गन्तव्य र लक्ष्यका आधारमा प्रतिस्पर्धा गरौं

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले देश र जनताले आज भोगिरहेका समस्या र चुनौतीको सामना/समाधान गर्न सक्ने एकमात्र राजनीतिक दल नेकपा (एमाले) भएको वताउनुभएको छ । 
नेकपा (एमाले) प्रचार तथा प्रकाशन विभागद्वारा आज पार्टीको केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा आयोजित ‘वर्तमान राष्ट्रिय राजनीतिका ज्वलन्त सवाल’ विषयक अन्तक्र्रियामा महासचिव पोखरेलले देशका सामु अहिले देखापरेका प्रमुख तीन चुनौतीको चर्चा गर्दै ती चुनौतीको सामना गर्ने सामर्थ्य एमालेसँग रहेको वताउनुभयो । 
अहिले कुनै नीति, कार्यक्रम र दृष्टिकोण नभएकाहरूले मुलुकका लागि प्रमुख दलहरू अब पुराना भएको भाष्य खडा गर्ने प्रयत्न गरिरहेको चर्चा गर्दै महासचिव पोखरेलले दलहरू कहिल्यै पुराना नहुने यथार्थ प्रस्तुत गर्नुुभयो । 
राजनीतिक दलहरूले विधानतः निश्चित समयमा महाधिवेशन गर्ने र महाधिवेशनमार्फत नेतृत्व, नीति, विचार र समसामयिक राष्ट्रिय महत्वका विषयमा निर्णय लिने हुँदा पुराना भन्नु उचित नहुने वताउँदै महासचिव पोखरेलले नयाँ दलहरूलाई पार्टीको नीति, उद्देश्य र राष्ट्रिय समस्या समाधानका विषयमा बहसका लागि आह्वान गर्नुभयो । 
उहाँले नयाँ र पुराना भनेर होइन, नीति, उद्देश्य, गन्तव्य र लक्ष्यमा प्रतिस्पर्धा गर्न दलहरूलाई आह्वान गर्नुभयो ।


महासचिव पोखरेलले लोकप्रियतामा आधारित राजनीतिले देशका समस्या र चुनौती समाधान गर्न नसक्ने वताउनुभयो । बलियो राष्ट्रिय शक्ति निर्माणबाट मात्र मुलुकको हित हुने हुँदा यसतर्फ सहयोग पुग्ने गरी सामग्रीहरू सम्प्रेषण गर्न आम सञ्चारमाध्यमहरूलाई महासचिव पोखरेलले आग्रह गर्नुभयो । 
मुलुकका सामु राजनीतिक अस्थिरता, सामाजिक अराजकता तथा साँस्कृतिक विचलन र अर्थतन्त्रमा सङ्कट गरी तीन विशेष चुनौती रहेको र सरकारले आर्थिक बर्ष २०८०÷८१ का लागि संसदमा प्रस्तुत गरेको बजेटले उपरोक्त चुनौती समाधानका लागि सम्बोधन गर्न नसकेको धारणा महासचिव पोखरेलले राख्नुभयो । 
महासचिव पोखरेलले भन्नुभयो– राष्ट्रका चुनौतीलाई समाधान गर्ने नीति तथा कार्यक्रम, बजेट आउनुपर्ने थियो । तर, समस्या एकातिर, नीति तथा कार्यक्रम र बजेट योजना अर्कोतिर छ । 
परम्परागत ढाँचाको नीति, कार्यक्रम र बजेटले समाधान नदिने भएकाले प्रमुख विपक्षी दलको तर्फबाट बजेट सच्याउन सुझाव दिइएको उहाँले वताउनुभयो ।
बजेट सत्तापक्षका प्रमुख नेताको निर्वाचन क्षेत्र र गृहजिल्लामा केन्द्रित रहेको सत्तापक्षकै सांसदहरूले बोलिरहेकाले यसबाट देशको विकास र समृद्धिका लागि नेकपा (एमाले) को सरकार  आवश्यक रहेछ भन्ने पुष्टि भएको वताउनुभयो । 

प्रधानमन्त्रीको भारत भ्रमण र अभिव्यक्तिबाट राष्ट्रको शिर निहुरिएको छ 
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणमा राष्ट्रिय हित र चासोका विषय उपेक्षामा परेको र भारतको हित र चासो सम्बोधन भएको वताउँदै महासचिव भन्नुभयो– भारतले संसद भवनमा राखेको अखण्ड भारतको नक्साका विषयमा प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणबाट फर्केपछि संसदमा उभिएर भारतीय दृष्टिकोण प्रस्तुत गर्नुले राष्ट्रको शिर निहुरिएको छ । 
प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणमा रहँदा कालापानीको विषय, हवाई रुट, इपीजीको प्रतिवेदन जस्ता नेपालको चासोका विषयमा कुरै नउठाएको भारतीय अधिकारीहरूबाटै प्रतिक्रिया आएको चर्चा गर्दै महासचिव पोखरेलले भन्नुभयो– भारतसँगको व्यापारघाटा कम गर्न उर्जा व्यापार होइन, आन्तरिक उर्जा खपत बढाउने कुरामा ध्यान दिनुपथ्र्यो । प्रधानमन्त्री प्रचण्डले नेपालको जलस्रोतमा छिमेकी मुलुकको एकाधिकारलाई समर्थन गरेर आउनुभयो । अखण्ड भारतको साँस्कृतिक नक्शा र ग्रेटर नेपालका विषय इतिहासका गौरवगाथा भएको वताउँदै महासचिव पोखरेलले सुगौली सन्धि नै राजनीतिक नक्शाको औपचारिक पोजिशन हो भन्नुभयो । 
नागरिकता विधेयक प्रमाणीकरणबाट नयाँ जनादेश खण्डित
महासचिव पोखरेलले निस्क्रिय बनेको नागरिकता विधेयकलाई प्रधानमन्त्री भारत जाने दिन राष्ट्रपतिले प्रमाणीकरण गरी नागरिकतालाई द्विपक्षीय सम्बन्धका रूपमा परिभाषित गर्नु गम्भीर आपत्तिजनक विषय हो भन्नुभयो । 
राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रमाणीकरण गरेर संसदको सर्वोच्चता र नयाँ जनादेशलाई खण्डित गरेको वताउँदै उहाँले भन्नुभयो– नेकपा (एमाले) सरकारमा रहँदा ल्याएको अध्यादेशमा अङ्गिकृतका सन्तानलाई नागरिकता प्रदान गर्ने विषय थियो । अहिलेको विधेयकमा हामीले अध्यादेशमा ल्याएका कुराहरू रहेको भनी भ्रम सिर्जना गर्न खोजिँदै छ । त्यो होइन । भारतमा विवाह गरेर जाने नेपाली चेलीले त्यहाँ नागरिकता पाउने सवालमा सातबर्ष पर्खनुपर्ने जुन व्यवस्था छ,  यहाँ पनि भारतीय चेली विवाह गरेर आउँदा नागरिकता पाउन त्यही प्रावधान राख्नुपर्छ भन्ने मान्यता हाम्रो हो । 
पार्टीलाई राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्न राजनीतिक धू्रवीकरण आवश्यक ठानिरहेको हुँदा पार्टी एकता र एकीकरणको नीतिलाई ध्यानमा राखेर उमेरहदको प्रावधानमा उदार नीति लिएको महासचिव पोखरेलले स्पष्ट गर्नुभयो । 
उहाँले पार्टीको ध्यान मिसन २०८४ रहेकाले संगठन चुस्तदुरुस्त बनाउने काममा केन्द्रित रहेको वताउँदै सोही बमोजिम कार्ययोजना बनाई नेताहरूको कार्यविभाजन पनि गरिएको स्पष्ट गर्नुभयो । उहाँले कार्यविभाजनमा पार्टीपङ्तीमा उत्साह देखिएको वताउनुभयो । 
कार्यक्रममा नयाँ कार्यविभाजन बमोजिम प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी पाउनुभएका स्थायी कमिटी सदस्य राजेन्द्र गौतमलाई केन्द्रीय सदस्य तथा निवर्तमान प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले विभागको माइन्युट हस्तान्तरण गर्नुभएको थियो । 
कार्यक्रममा प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले सञ्चार क्षेत्रबाट सन्तुलन, तटस्थता, निष्पक्षता र दायित्वबोधका साथ भूमिका हुने छ भन्ने आफ्नो अपेक्षा रहेको वताउनुभयो । 
उहाँले नेकपा (एमाले) विना मुलुकको राजनीतिले नयाँ कोर्श लिन नसक्ने बताउँदै राष्ट्रिय राजनीतिमा नेकपा (एमाले) का धारणाहरू के छन् भन्ने बुझ्नका लागि मिडियामैत्री एमाले बनाउन आफूले भूमिका निर्वाह गर्ने जानकारी गराउनुभयो । कार्यक्रमको सभापतित्व गर्नुभएका निवर्तमान उपप्रमुख रिजालले विगतमा पार्टीविरुद्ध चौतर्फी घेराबन्दी हुँदा पनि नेकपा (एमाले) को नीति, विचार जनतासम्म पुर्याउन सञ्चार जगतले पुर्याएको सहयोगका लागि धन्यवाद दिनुभयो । कार्यक्रम विभागका सचिव गगन विष्टले सञ्चालन गर्नुभएको थियो ।