काठमाडौं । नेकपा (एमाले) केन्द्रीय स्वास्थ्य तथा जनसङ्ख्या विभागको पदभार हस्तान्तरण भएको छ ।
महासचिव शंकर पोखरेलको उपस्थितिमा सचिव तथा निवर्तमान स्वास्थ्य तथा जनसङ्ख्या विभागका प्रमुख योगेश भट्टराईले विभाग प्रमुखको जिम्मवारीमा आउनुभएका स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठलाई माइन्युट हस्तान्तरण गर्नुभयो ।
पार्टीको केन्द्रीय कमिटीको पाँचौँ बैठक र सचिवालयको २२औं बैठकको कार्यविभाजनको निर्णय बमोजिम सचिव भट्टराईले मधेश प्रदेशको इञ्चार्ज र श्रेष्ठ स्वास्थ्य विभागको प्रमुखको जिम्मेवारी पाउनुभएको छ ।
पदभार हस्तान्तर बैठकमा महासचिव शंकर पोखरेलले विभागले स्वास्थ्य क्षेत्रका जनताका सरोकारका विषय र राष्ट्रिय राजनीतिमा एजेण्डा सेटिङमा काम गर्न आग्रह गर्नुभयो ।
महासचिव पोखरेलले समाज रुपान्तरणको अभिभारालाई सार्थक ढङ्गले अगाडि बढाउन सामाजिक तथा आर्थिक एजेण्डाका आधारमा पार्टीलाई समाजसँग जोड्नुपर्ने अहिलेको आवश्यकता हो भन्नुभयो ।
उहाँले पार्टीलाई स्वास्थ्य क्षेत्रका नीति निर्माणका लागि विभागले सुझाव दिनुपर्ने वताउनुभयो ।
त्यसैगरी सचिव भट्टराईले विगत करिव डेढबर्षमा विभागले गरेका कामको चर्चा गर्दै स्वास्थ्य क्षेत्र व्यापक रहेकाले उच्च प्राथमिकताका साथ काम गर्नुपर्ने वताउनुभयो ।
विभागका प्रमुख श्रेष्ठले विभागले हालसम्म गरेको काम जुन विन्दुमा पुगेको छ, त्यहीँबाट अगाडि बढाउने र जुन टिम छ यसैले उत्कृष्ट ढङ्गले कार्यसम्पादन गर्ने प्रयत्न हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।