detail-img

नागरिकता समस्याको दीर्घकालीन समाधान खोज्नुपर्छः भट्टराई 

धनुषा । नेकपा (एमाले) का सचिव एवम् मधेश प्रदेशका इन्चार्ज योगेश भट्टराईले नागरिकता समस्याको दीर्घकालीन समाधानका लागि सरकारले छिटोभन्दा छिटो नागरिकता विधेयक संसदमा ल्याउनुपर्ने वताउनुभएको छ । 
मधेश प्रदेश इन्चार्जको जिम्मेवारी सम्हाल्ने क्रममा जनकपुर आउनुभएको भट्टराईले आज आयोजित पत्रकार सम्मेलनमा निश्क्रिय अवस्थामा पुगेको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएको र यो विषय अदालतमा पुगेपछि अन्योल सिर्जना भएको वताउनुभयो । 
सचिव भट्टराईले संसदले दुईपटक पारित गरी राष्ट्रपतिकहाँ पठाएको विधेयक कति समय जिवित रहन्छ भन्ने कुरा संविधानमा स्पष्ट नरहेकाले विवाद सिर्जना भएको र यस्ता कुराहरू संविधानमै स्पष्ट उल्लेख गर्नुपर्ने हुँदा संविधान संशोधन आवश्यक रहेको धारणा राख्नुभयो ।  अघिल्लो संसदले बहुमतबाट पारित गरेका कुनै पनि विधेयक राष्टपतिबाट प्रमाणीकरण नभए त्यो शुन्य अवस्थामा जाने व्यवस्था संविधानमा उल्लेख हुँदाहुँदै पनि वर्तमान सरकारले नयाँ जनादेशको संसदलाई छलेर राष्ट्रपतिलाई हुँदै नभएको अधिकार प्रयोग गरी नागरिकता विधेयक प्रमाणीकरण गर्न लगाएकाले अदालतले यस विषयमा रोक लगाएको बताउनुभयो । 
उहाँले सरकारले यस्तो गतिविधि गरी नागरिकता समस्या समाधान गर्नुको साटो नागरिकता समस्या अल्झाउन खोजेको आरोप लगाउनुभयो । 
संविधानको धारा १११ र ११३ अनुसार संसदबाट दुइृपटक पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष गएका कुनै पनि विधेयक प्रमाणीकरण भएन भने के गर्ने भन्ने विषयमा संविधानमा उल्लेख नरहेको बताउनुभयो । 
उहाँले नागरिकता पाउन योग्य नेपाली नागरिकलाई नागरिकता दिनुपर्छ भन्ने मान्यता नेकपा (एमाले) को रहेको स्पष्ट गर्दै जन्मसिद्ध नागरिकका सन्तानले बंशजको आधारमा नागरिकता पाउनुपर्ने पक्षमा एमाले रहेको बताउनुभयो । 
नागरिकता अभावमा करिव छ लाख नेपाली नागरिकले विभिन्नखालका समस्या झेलिरहेको भन्दै दीर्घकालीन रूपमा नागरिकता समस्या समाधानका लागि सरकारले छिटोभन्दा छिटो नागरिकता विधेयक अहिलेको संसदमा ल्याउनुपर्ने बताउनुभयो । 
राष्टपतिले प्रमाणीकरण गरेको विधेयकमा प्रादेशिक पहिचान समेत नभएको भन्दै एमालेले प्रादेशिक पहिचान हुने गरी विधेयक ल्याउन सरकारलाई आग्रह गरेको उहाँले बताउनुभयो । 
आर्थिक, सामाजिक रुपान्तरणमा अन्य प्रदेश भन्दा मधेश प्रदेश पछाडि परेको कारण मधेश प्रदेशको समृद्धि, आर्थिक सामाजिक प्रगतिको लागि मधेश प्रदेशमा सरकारको स्थायित्वका लागि नेकपा (एमाले) ले  मुख्यमन्त्री सरोज कुमार यादवलाई समर्थन दिइरहेको बताउनुभयो ।