detail-img

नेपाली कांग्रेसका महासमिति सदस्य तथा काठमाडौंका प्रभावशाली नेता मानन्धर नेकपा (एमाले) मा प्रवेश 

काठमाडौं । नेपाली कांग्रेसका महासमिति सदस्य तथा काठमाडौंका प्रभावशाली नेता केदार मानन्धर नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव वडाल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल लगायत नेताहरूले पार्टी केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा शनिबार आयोजित कार्यक्रममा नेता मानन्धरलाई  खादा र अविर लगाई स्वागत गर्नुभयो ।


नागार्जुन नगरपालिकाको सीतापाइला निवासी नेता मानन्धरले २०४३ सालमा नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा आवद्ध भई राजनीतिक यात्रा शुरू गर्नुभएको थियो । उहाँले करिव साढे तीन दशक कांग्रेसका विभिन्न कमिटीमा रहेर काम गर्नुभएको थियो । 
उहाँ सहकारी आन्दोलनका नेता पनि हुनुहुन्छ भने सहकारी बैंकको सञ्चालक हुनुहुन्छ । 
पार्टी प्रवेश कार्यक्रममा कार्यक्रम सञ्चालनका साथै नेता मानन्धरको राजनीतिक पृष्ठभूमि र योगदानबारे जानकारी गराउँदै नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले उहाँ काठमाडौंको राजनीतिमा शक्ति सन्तुलन नै परिवर्तन गर्नसक्ने नेता भएको वताउनुभयो । 
सो अवसरमा नेता मानन्धरले आफूले किन नेपाली कांग्रेस परित्याग गर्नुपर्यो र किन नेकपा (एमाले) नै रोज्न गएँ भन्ने सम्बन्धमा स्पष्ट धारणा प्रस्तुत गर्नुभयो । 
पैतीस बर्ष लामो ऊर्जावान् समय देशमा राजनीतिक परिवर्तनका लागि लगाएको वताउँदै मानन्धरले देश बनाउने राष्ट्रवादी पार्टी नेकपा (एमाले) हो भन्ने निष्कर्षका साथ एमाले प्रवेश गरेको वताउनुभयो । 
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारका पालामा ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय आकाङ्क्षा र पार्टीको गन्तव्यका रूपमा अगाडि सार्नुभएको कुराले आफूलाई छोएको मानन्धरले वताउनुभयो । नेपाली कांग्रेसमा पुँजीपति र दलालहरूको बाहुल्यता रहेको र अहिले देश दलाल पुँजीपतिहरूले खत्तम बनाइरहेको वताउँदै नेता मानन्धरले कांग्रेसमा रहँदा आफूले धेरै युवालाई प्रशिक्षित गरेको र छिटै ठूलो समूह एमालेमा भित्र्याउने जानकारी गराउनुभयो । 
उहाँले भन्नुभयो– कांग्रेस लोकतान्त्रिक पार्टी भएर पनि व्यवहार अत्यन्त अलोकतान्त्रिक भएको, पार्टी एउटा क्लवमा परिणत भएको र अहिलेका नेताहरूले वीपी, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहको आदर्श भजाएर खाइरहेका छन् । कार्यक्रममा उहाँका धर्मपत्नी र छोरालाई पनि खादा लगाई स्वागत गरिएको थियो ।