काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशको रक्षा र जनताको सेवामा समर्पित राष्ट्रिय शक्ति निर्माण गर्नु आवश्यक रहेको बताउनुभएको छ ।
अध्यक्ष ओलीले शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै देशप्रति समर्पित र जनतालाई सुखी बनाउनसक्ने राष्ट्रिय शक्ति निर्माण आवश्यक रहेको बताउनुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो– हामी एउटा राष्ट्रिय शक्ति निर्माण गर्न चाहन्छौँ, जो देशप्रति समर्पित होस् र त्यसले मुलुकको चौतर्फी विकास, सुरक्षा तथा जनतालाई न्याय प्रदान गर्न सकोस् ।
अध्यक्ष ओलीले गठबन्धनवालाहरू (सरकारमा रहेका) को काम एमालेको विरोध गर्ने, एमालेका अध्यक्षको विरोध गर्ने, जनतालाई अल्मल्याउने र भ्रममा पार्ने रहेको भन्दै जनतालाई उनीहरूको भ्रमबाट मुक्त गर्नुपर्ने बताउनुभयो ।
उहाँले जनता अल्मल्याउने, भड्काउने, जनतालाई राजनीतिबाट वितृष्णा जगाउने उल्टो बाटोमा गठबन्धन रहेको र यसले राम्रो परिणाममा नपुर्याउने बताउनुभयो ।
अहिले फेरि समाजवादी मोर्चा गठनको चर्चा चलिरहेको प्रसङ्गमा अध्यक्ष ओलीले उक्त मोर्चा कांग्रेसलाई तर्साउन र एमालेसँग मुकाविला गर्न सकिन्छ कि भन्ने उद्देश्यले बनाउन लागिएको भनाइ राख्नुभयो । उहाँले गलत उद्देश्य राखेर बनाउन लागिएको मोर्चाको वास्ता गरिरहनुपर्दैन भन्नुभयो ।
उहाँले नेकपा (एमाले) को उद्देश्य यो देशको रक्षा, सार्वभौमसत्ता, स्वाधीनता, स्वतन्त्रता, भूगोल र हितहरूको रक्षा रहेको बताउनुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो– देशको रक्षा र जनताको हितबाहेक हाम्रो अर्को कुनै उद्देश्य छैन ।
देशको स्वाभिमान छाडेर विदेशीका अगाडि लम्पसार हुने नभई समानताका आधारमा, राष्ट्रलाई फाइदा हुनेगरी जनताका लागि काम गर्नुपर्ने अध्यक्ष ओलीले बताउनुभयो ।
अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारका पालामा गरिएका विकास, सामाजिक न्याय र जनहितका कामको चर्चा गर्दै देश आत्मविश्वासका साथ अगाडि बढिरहेको थियो भन्नुभयो । उहाँले ती कामलाई प्रचारमा जान नदिएको मात्र होइन, कुप्रचार गर्ने काम भयो भन्नुभयो ।
उहाँले एमाले सबैका लागि एउटै परिवार भएकाले योग्यता र क्षमताका आधारमा जिम्मेवारी दिइने बताउनुभयो । उहाँले पार्टीमा चाकडी नचल्ने स्पष्ट पार्दै कामका आधारमा मूल्याङ्कन हुने बताउनुभयो ।
कार्यक्रममा अध्यक्ष ओलीले नेपाली कांग्रेसका महासमिति सदस्य तथा काठमाडौंका प्रभावशाली नेता केदार मानन्धरलाई नेकपा (एमाले) मा स्वागत गर्दै पार्टीमा योग्यताका आधारमा, कामको मूल्याङ्कनका आधारमा जिम्मेवारी दिइने हुँदा के होला भन्ने द्विविधा विल्कुलै नलिन र देश बनाउने अभियानमा अरू साथीहरूलाई पनि जोड्न आग्रह गर्नुभयो ।